मोरङको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका सदस्यले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार विराटनगरमा मन्त्री मोदीलाई भेटी बचत रकम फिर्ताका लागि पहल गरिदिन भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
सहकारीका पदाधिकारी सम्पर्कविहीन भएकाले बचतकर्ताको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताको बचत रकम फिर्ता गर्न पहल गरिदिन उहाँहरूले मन्त्री मोदीसँग माग गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरूको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउन पहल लिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जनाए । “तपाईँहरूको रकम फिर्ता गराउन मैले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छु, बचत रकम फिर्ता गराउन सरकारको तर्फबाट म भूमिका निर्वाह गर्ने विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु” ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले भने ।
२०७१ मा स्थापना भएको तुलसी बहुमुखी सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका हुन् ।