बुधबार, भाद्र ३ गते २०८३

कमरेड पुष्पलाललाई बिर्सिएर मनाइएको पुष्पलाल स्मृति

श्रावण २२, २०७८ शुक्रबार
कमरेड पुष्पलाललाई बिर्सिएर मनाइएको पुष्पलाल स्मृति

siva2.jpg
शिब भटराई
               

अहो, आज श्रावण सात गते पो रहेछ ! आजैका दिन त हो कमरेड पुष्पलालले नेपाल र नेपालीलाई अर्पण गरेको आफ्नो योगदानद्वारा आफुलाई चीर स्मरणीय बनाएको ! मेरो मन पुष्पललाकै सोचाइका बिभिन्न तरंगहरुमा तरंगितभइरह्यो । अन्तहीन तरंगका लहरहरले मेरो मन मस्तिष्क निकै खल्बल्याइरहेकै बेलामा सहसा टेलिभिजनमा दुइटा अनौठा दृष्यहरु देखिए ।

पहिलो दृष्य खड्गप्रसाद ओलीको भाषण थियो जसमा अभयदानको मुद्रामा माधब नेपाल र उनका अनुचरहरु समेतलाई आम माफी दिइने घोषणाको । घोषणा अबिशिनियामाथि मुशोलोनीले बिजय गरेपछि रोमको शाही महलको बार्दलीबाट गरे जस्तै मुद्रामा गरिएको थियो – फरक मात्र के थियो भने मुशोलोनीले त्यसबेला बिजय गरेका थिए भने ओलीले संसदसित पराजित भएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुगिसेको अबस्था थियो । हुन त बालकोटको बार्दलीबाट पनि माधव नेपालहरुलाई गद्धार घोषणा गरिसकेको थिए । आम माफीको घोषणा सभाजस्तो पुष्पलाल स्मृति सभा आफैमा अनौठो पनि थियो । पुष्पलालको एउटा फोटोले माला लगाएको थियो । पुष्पलाल को थियो ? के थियो उसको जीवन आदर्श, नीति,निष्ठा, त्याग समर्पण र समाजमा नेपाल, नेपाली र नेपालको राजनीतिक इतिहासमा कहाँनिर राख्ने कति कति राख्ने किन राख्ने बारे कहिँ चर्चा परि चर्चा सुनिएन तर पनि  कुरा बंग्याएरै भए पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना अरु चार जनालाई जोडेर कलकत्ताको श्याम बजार स्थित एउटा पुरानो घरको आँटीमा भए गरेको कुरालाई आँखा चिम्लेर  सम्भवतः ओलीको महाबली बाहुबाट माल्यार्पणको कष्टप्रद कार्य भने भएकै थियो । टेलिभिजनमा अर्को दृष्य प्रक्षेपित थियो माधव कुमार नेपालको दुबै अञ्जुली जोरेर ओलीप्रति कृतज्ञतायुक्त अभिवादनको ब्यक्त गरेको शब्द अर्थात नाद । म कृतज्ञ छु, माफी बक्स भएकोमा । शायद माधब नेपाल पनि पुष्पलालकै स्मृति दिवस मनाउने सन्दर्भमा चम्पादेबी परिसरबाट आफ्ना यी शब्द ब्रह्मलाई महाराज ओलीमा अर्पण गरिरहहनु भएको थियो । तर थहा भएन कमरेड पुष्पलालप्रति श्रद्धा सुमन बाहेक अरु बिचार, दर्शन आग्रह र आस्थाहरुले कमरेड पुष्पलाललाई चिन्हाउने प्रयत्न गर्नु भएन ।

हो पुष्पलाल एउटा .फोटो त हो । फोटो पनि मयल पोश, कोट र ढाकाटोपीले ढाकेको — राणा, शाह र पञ्चकालीन भारदारहरु जस्तो ठाँटिएको । पुष्पलालले– बाँचको जीवन चक्रमा कहीं कतै – कदाचित भए – नभए जे भए पनि भेटिए भने हामी पनि दंग पर्नेछौं ।  हुन त पुष्पलाल शरीरमा छैनन्, न त लुगा कपडा अथवा पहिरनमा तर उनको सरल, सादा र उनकै शरीरलाई सहज हुने पोशाकमा पुष्पलालको फोटोले मात्र उनको बिचार, आदर्श र दर्शनलाई चिनाउने होइन ।तर पनि आज पुष्पलाललाई चिनाउने माध्यमकोरुपमा फोटो प्रदर्शनको परिपाटी बसाउन लागे जस्तो छ ।

निश्चय पनि पुष्पलाल निर्जीव फोटो होइन । पुष्पलाल के हो भन्ने जान्न शहीद गंगालालको चितादेखि भारतको दिल्ली स्थिति जमुना नदीको निगमबोध घाटमा भस्मिभुत भएका पुष्पललको चीतासम्मको पुष्पलालको जीवन यात्रा, दर्शन, कर्म, निष्ठा र समर्पणको सानो भए पनि चिनारीलाई चिन्नु पर्छ । हो, पुष्पलालले राजनीतिको बाह्रखरी केही दाजुबाट र केही त्रिचन्द्र कलेजको आँगनमा हुने बिद्यार्थी आन्दोलनबाट सिके । तर राजनीतिको बैचारिक धरातल भारतको बनारसमा पाए डी.आर.रेग्मीको राष्ट्रिय काँग्रसेमा आबद्ध भएर । राणा शासनको उन्मूलनका लागि उभ्भिएर । रेग्मीको र बीपीको अमेलले पार्टी फुटेपछि पुष्पलालको नयाँ राजनीतिक दृष्टि खुल्यो । बनारसकै दुधबिनायकमा २३/६५को घरमा रहेको नेपाली राष्ट्रिय काँग्रेसको कार्यालय छोडेर मार्क्सबादी बाटो लाग्न कम्युनिष्ट मनिफेस्टो पाइने गोधूलियाको पुस्तक पसलमा पुष्पलाल पुग्नु भयो र कम्युनिष्ट मेनुफेस्टो नेपालीमा अनुबाद गर्न थाल्नु भयो ‘आजसम्मको इतिहास बर्ग संघर्षको इतिहास हो’ भनेर' । वास्तवमा यही महाबाक्यले पुष्पलाललाई नेपाल र नेपालीहरुको इतिहास खोतल्न र त्यहाँ जात जाति सहीत  शोषित पीडित आदिबासीहरुप्रति खस आर्यको थिचोमिचोलाई उधिनेर नेपालको इतिहासमा अँग्रेजहरुको एकलौटी धारणाका बिपरीत साच्चाे इतिहासलाई उदाङ्गो पारेर सबैका अगाडि उहाँले पस्की दिनु भयो ।

यो त कुरा थियो कमरेड पुष्पलालको इतिहास ज्ञानको तर गंगाललको चिता अगाडि मुठ्ठी कसेर गरेको प्रतिज्ञाको कुरा अझै बाँकी थियो । त्यसैले दर्शन, बिचार, निष्ठा र आदर्श सहीतको संगठित शक्तिको निर्माण गर्न सम्बत् २००६ साल (सन् १९४९ मा)कलकत्ताको श्याम बजार स्थित २८ नबीन सरकार लेनको घरमा नेकपाको स्थपाना । यो महान कार्य पछि यसैलाई सघाउने जनबर्गीय संगठनहरुको स्थापना। एक्लो पुष्पलाल कम्युनिष्ट रक्त बीजकोरुपमा देशभरी फैलियो । देशीय सामन्तबाद, दलाल पूँजीवाद र प्रतिकृयाबादको जगमा धमिरा लाग्यो । सात सालको परिबर्तन पछि कम्युनिष्ट बिचार, दर्शन र संगठनको बलियो धरातल किसान, शहरी मध्यम बर्गीय बुद्धिजीवीलाई उभ्याएर सोही अनुरुपको रणनीति र कार्यनीति निर्माण र संगठनमा पुष्पलालले अनबरत संघर्ष गरेपछि मात्र राजनीतिको बाङ्गोटिङ्गो बाटो – राणातन्त्रको कठोर यन्त्रणाबाट देश पुरातन समाज, संस्कार र सँस्कृतिको नागपास बिडो पूँजीवाद–साम्राज्यबाद र दलाल पूँजीवादको देशीय सामन्तबाद सितको मेलमिलाप । पार्टी पद्धति र मानिसको प्रबृत्तिलाई मिलाई परिचालन गर्नुपर्ने कामरेड पुष्पलालको अठोट बास्तवमै अदम्य थियो।

तर त्यो स्मृति सभाले भने बिस्मृत गरेको थियो । पुष्पलाललाई मान्ने र श्रद्धाञ्जली दिने सभाले पुष्पलालका बिर्सनै नहुने योगदान बारे केही चर्चा गरेन । २००६ सालको नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि २०१७ सालको घटनामा कमरेड पुष्पलालप्रति भएको पार्टी भित्रको अन्तरघात र पार्टी बाहिरका बिरोधीहरुबाटको संगठित प्रहारबारे चुँइक्क बोलिएन । दरभंगा प्लेनम र तेश्रो महाधिवेशनले कमरेड पुष्पलालको राजनीतिक यात्रामा छिर्के हान्नेदेखि भाँजो लगाउनेसम्मको दुष्कर्मको कुरा त परै छ, प्रजातन्त्र प्राप्तिको लागि संयुक्त जन आन्दोलनको पुष्पलालको आह्वान, नयाँ जनबादी कार्यक्रम जसमा पुष्पलाललाई नसम्झि नहुने उनको बिचार, दर्शन र आदर्शको पेटारोलाई खोल्दै नखोली एक अर्काप्रति घोचपेच र ब्यंग झटारो फ्याँकेर स्मृति सभालाई बिसर्जन गरियो । कमरेड पुष्पलालको प्रतिपाद्य मौलिक सिद्धान्त जसले पञ्चायतको उन्मूलन गर्दै राजतन्त्र फ्याँक्न र गणतन्त्र स्थापना गर्न  तथा जनताको संबिधान निर्माण गर्न युगान्तकारी भूमिका निर्बाह गर्यो ती सबै योगदान स्मृति सभामा अरण्य रोदन भए । टेलिभिजनको पर्दाबाट पुष्पलालको फोटो पनि अदृष्य भयो । बक्ताहरुको बाक्चातुर्य र बाणी बिलाशले पनि बिश्राम लियो । मेरो दृष्यपटलमा टीभीको स्क्रीन मात्र रह्यो अर्थात् गाेहीकाे आशु बगाउने काम भयो । ....अस्तु !