बुधबार, भाद्र ३ गते २०८३

अध्यक्ष र व्यवस्थापक सँगै राखेर गोष्ठी: बुझाइ र गराइमा एकरुपता आउने सहभागीको अपेक्षा

फाल्गुण १, २०७९ सोमबार
अध्यक्ष र व्यवस्थापक सँगै राखेर गोष्ठी: बुझाइ र गराइमा एकरुपता आउने सहभागीको अपेक्षा


जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक र कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) को व्यवस्थापनमा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।  ‘संकट न्यूनिकरणका लागि सहकारी मान्यता र मापदण्डको पुनरावृत्ति भन्ने थिमका साथ प्रारम्भिक संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको जिल्लास्तरीय भएको हो । उक्त गोष्ठीमा जिल्ला भरका विभिन्न सहकारी संस्थाबाट एक सय जना भन्दा बढिको सहभागिता रहेको थियो । सहभागीहरुलाई अहिलेको वित्तीय संकटको अवस्थामा गोष्ठी कस्तो रह्यो र यसले समस्या समाधानका निम्ति कत्तिको सघाउ पु¥याउला भन्ने विषय नेपालपत्रन्यूज डटकमले सहभागिहरुसँग जिज्ञासा राखेको थियो । उहाँहरुबाट लिइएको प्रतिक्रिया यहाँ प्रस्तुत छ । 

madan basnet.jpg

मदन बस्नेत,
अध्यक्ष, सीएमसी काभ्रे

वर्तमान समयमा सहकारी संस्थाहरुमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेका हौं । पछिल्लो विभिन्न कारणले सहकारीको छवि धुमिलिँदै गएको छ र त्यो छविलाई कसरी माथि ल्याउने भन्ने नै गोष्ठीको उद्देश्य हो । गत असारमा हामीले व्यवस्थापकहरुको मात्रै गोष्ठी गरेका थियौं । तर व्यवस्थापक प्रमुखले मात्रै जानेबुझेर संस्थालाई राम्रो बनाउन सकिँदैन ।  व्यवस्थापकले मात्रै संस्थामा सबै निर्णय लिन सक्दैन । सञ्चालक समितिको पनि त्यतिकै भूमिकामा हुन्छ र उहाँहरुको साथसहयोगले मात्र सहकारीमा धेरै राम्रा काम गर्न सकिन्छ । त्यसो हुनाले यसपटक सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापकलाई एकैठाउँमा राखेर गोष्ठी गर्दा उहाँहरुमा साझा धारणा बन्छ र समग्र अभियानको छवि कायम राख्न मदत पुग्छ भन्ने हाम्रो विश्वास हो ।

अहिले जुन अप्ठ्यारो स्थितिमा सहकारी संस्थाहरु छन्, गोष्ठीले पक्कै पनि सुधार ल्याउनमा सहयोग पु¥याउँछ भन्ने हाम्रो अपेक्षा हो । कतिपय सहकारी प्रा.लि.को रुपमा सञ्चालन भइरहेका छन् । ती सहकारी पनि समुदाय केन्द्रित संस्थाको रुपमा रुपान्तरण हुन्छन् भन्ने विश्वास हाम्रो छ । छिमेकीको घरमा आगो लाग्यो भनेर हामी खुसी हुनुहुँदैन । एउटा संस्थामा समस्या अएपछि सिंगो सहकारी अभियानकै विश्वसनीयतामाथि प्रश्न आउँछ । यसकारण एउटा संस्था मात्र सबल र सक्षम भएर हुँदैन । अरु सहकारीलाई पनि सँगसँगै लिएर जान सकिएन भने अभियान टिक्दैन । सहकारी क्षेत्रको अनुभव र उहाँहरुले हासिल गरेको शिक्षालाई आधार मानेर कार्यपत्रको विषय तय गरेका हौं । अरुले भन्दा उहाँहरुले ती विषयमा कार्यपत्र प्रस्तुत गर्दा प्रभावकारी हुन्छ भनेर हामीले डा. शिवजी सापकोटा र बल्ल तिमल्सिनालाई प्रस्तुतिकरण छनौट गरेका हौं । गोष्ठी उपलब्धीमूलक भएको छ । हाम्रो सुन्ने बानी छ, तर सुनेका कुरा कार्यान्वयनमा लैजाने बानी छैन । गोष्ठीमा बस्दा हो जस्तो लाग्ने र फिल्डमा काम गर्दा हिजो जस्तो थियो भोलि पनि त्यस्तै हुने हो कि भन्ने डर छ । नत्र बुझाइ र सिकाइको हिसाबले कार्यक्रम नतिजामुखी हुने विश्वास हाम्रो छ ।  

nawaraj sapkota.jpg

नवराज सापकोटा,
व्यवस्थापक, पिपुल्स साकोस

गोष्ठीबाट हामीले धेरै कुरा सिक्न पायौं । अध्यक्ष र व्यवस्थापकलाई नै एकै ठाउँमा राखेर गोष्ठी गरिएको हुँदा संस्थामा नीतिगत व्यवस्था गर्न र नीतिलाई कार्यान्वयन गर्न थप सजिलो हुने मैले महशुस गरेको छु । नीति बनाउनेले आफ्नै हिसाबाले बनाउने र लागु गर्नेले पनि आफ्नै हिसाबले गर्दा समन्वयकारी भूमिका नहुने हुँदा नेतृत्व र व्यवस्थापन पक्ष एकै ठाउँमा बसेर सिक्दा संस्थामा नीतिनियम बनाउन र लागु गर्न सजिलो हुने रहेछ । हाम्रो संस्था प्रोबेसन ब्राण्डमा सहभागी छ । सदस्यलाई सहकारी र वित्तीय शिक्षा निरन्तर दिन ब्राण्डले पनि सिकाएको छ । त्यसैगरी कस्ता संस्थामा कारोबार गर्दा सुरक्षित हुन्छ र कस्ता संस्थालाई शंकाको दृष्टिकोणले हेर्नुपर्छ ? त्यसकारण सदस्यलाई सहकारी शिक्षा दिनुपर्छ भन्ने पाठ गोष्ठीले सिकाएको छ । सहकारी भनेको के हो ? कस्तो बेलामा ऋण लिने र कस्तो बेलामा ऋण नलिने भन्ने जस्ता सामान्य कुरा जानकारी नगराउँदा सदस्यहरुले समयमा साँवाब्याज समेत तिर्न नसक्दा सहकारीप्रति विश्वास नै गुमाइराखेको  अहिलेको अवस्था हो । त्यसैले सहकारी शिक्षामा जोड दिनुपर्छ भन्ने निष्कर्ष गोष्ठीबाट आएको छ । सहकारी शिक्षालाई जोड नदिने हो भने अवस्था यो भन्दापनि जटिल भएर जान सक्नेछ । संस्था र सदस्यको हितको लागि सहकारी शिक्षा चलाउनुपर्छ । ऋण जोखिम हुनुमा ऋणीको मात्रै दोष हुँदैन । हामीले छनौट गर्ने तरिका पनि दोषी छ भन्ने निष्कर्ष गोष्ठीले निकालेको छ । लगानी गर्नु पूर्व नै सदस्यको सबै कुरा बुझेर ऋण लगानी गर्नुपर्छ । ‘फाइव सी एनालाइसिस’ गरेर सदस्यको तिर्न सक्ने क्षमता, पारदर्शिता, धितो मुल्यांकन र व्यवसाय हेरेर मात्र लगानी गर्नुपर्छ । लगानी सुरक्षित भयो भने नै संस्था सुरक्षित हुन्छ भन्ने निष्कर्ष यहाँ पाइयो ।

गोष्ठीमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । सबै कुरा नयाँ थिएन र आउँदैन पनि । त्यहि कुरालाई पनि हामीले लागु गर्न कहाँ चुकेका रहेछौं भन्ने स्मरण गोष्ठीले गराएको छ । हामीले सदस्यलाई प्राथमिकतामा राखेर कारोबार गर्नुपर्छ । सहकारी बैंक भन्दा फरक छ भन्ने भान सदस्यलाई दिनुपर्छ । सदस्य संस्थाको मालिक हुन् र संस्थाको नियन्त्रण सदस्यले नै गर्नुपर्छ भन्ने जस्ता कुरा राम्रोसँग व्याख्या गरी सिकाइयो । गोष्ठीले नयाँपन दिन सहयोग ग¥यो भन्ने विश्वास गरेको छु । विद्यमान वित्तीय संकटको बेलामा यस्ता गोष्ठीहरु अझ बढी आवश्यक छन् । 
सहकारीका बारेमा भ्रामक कुरा बढी प्रचार भएको अवस्था छ । विभागीय मन्त्री र रजिष्ट्रारको उपस्थितिमा सहकारीका समस्याका बारेमा छलफल गरेकाले अब बन्ने नीतिनियममा के कुरा ल्याउन आवश्यक छ भन्ने पाठ उहाँहरुलाई पनि सिकाएको छ । अर्कोतर्फ सदस्यालाई सहकारीको बारेमा जानकारी गराएर यथार्थ बाहिर ल्याउँदा संस्था सञ्चालनमा थप टेवा पुग्ने सिकाइ प्राप्त भएको छ । सामाजिक सञ्जालमार्फत भन्दा पनि सदस्यसँग प्रत्यक्ष भेटघाट गरेर संस्थाको अवस्था बुझाउने र सदस्यको कुरा सुन्ने गर्दा संस्थालाई दिगो रुपमा अगाडि बढाउन टेवा पुग्ने पाठ गोष्ठीबाट प्राप्त भएको छ । 

manoj rayamajhi.jpg

मनोज रायमाझी,
सिइओ, लक्ष्मी महिला साकोस 

जिल्ला संघ र सीएमसी काभ्रेको आयोजनामा गोष्ठी भएको हो । व्यवस्थापन प्रमुख र अध्यक्षहरुलाई फोकस गरेर गोष्ठी आयोजना भयो र ३ वटा कार्यपत्रको प्रस्तुतिमार्फत सिकाइएका विषयहरु व्यवहारमा लागु गर्दा संस्थाहरुलाई अझ व्यवस्थित रुपमा लैजान सहयोग पुग्ने मैले महशुस गरेको छु ।

विगतमा अध्यक्ष र व्यवस्थापकहरुको छुट्टाछुट्टै गोष्ठी हुँदा व्यवस्थापकले सिकेका कुरा अध्यक्षसम्म पु¥याउँन र लागु गर्न अप्ठ्यारो हुन्थ्यो । व्यवस्थापकको कुरा अध्यक्षसम्म र अध्यक्षको कुरा व्यवस्थापनसम्म लैजान नसक्दा बुझाइमा फरक पर्ने अवस्था थियो । दुवै पक्षलाई एकै ठाउँमा राखी गोष्ठी आयोजना भएकाले अब भने काम गर्न सजिलो हुने मैले महशुस गरेको छु । समस्याको बेला र सामान्य अवस्थामा कसरी काम गर्ने भन्ने उद्देश्यले गोष्ठी आयोजना भएकाले अत्यन्तै राम्रो भयो । अहिलेको वित्तीय संकटलाई फोकस गरेर प्रस्तुतिकरणहरु आएको छ । जिल्लामा रहेका सबै सहकारी संस्थाले गोष्ठीमा भाग लिन पाएका छन् । यसकारण काभ्रे जिल्लाका सहकारीका लागि यो गोष्ठी धेरै लाभदायक हुने मैले देखेको छु । 
अहिलेको वित्तीय संकटलाई व्यवस्थापन गर्न पनि गोष्ठीले सहयोग पु¥याउँछ । अहिलेको अवस्थामा यो अपरिहार्य थियो ।

हामी सहकारीकर्मीहरुले यो गोष्ठीबाट आइडिया जेनरेट गर्ने मौका पाएका छौं । कुन बेलामा तरलता बढी राख्नुपर्ने, सामान्य अवस्थामा के गर्ने र जटिलताको अवस्थामा कसरी अगाडि बढ्ने, दैनिक रुपमा संस्थाको कार्य सञ्चालन कसरी गर्ने भन्ने जस्ता धेरै कुरा सिक्न पाएका छौं । गोष्ठीमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको समेत उपस्थिति थियो । सहकारीका धेरै कुरा उहाँहरुलाई सुनाउने मौका समेत मिल्यो । र नीतिगत समस्या समाधानमा उहाँहरुको ध्यान पूग्ने पनि मेरो अपेक्षा छ । सहकारी मुल्यमान्यता र सिद्धान्तलाई परिपालना गरेर अगाडि बढ्न उहाँहरुबाट सुझावको रुपमा आएकोले त्यसलाई पूर्ण रुपमा लागु गरेर जाने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि सहकारी सञ्चालन गर्न गाह«ो नहुने रहेछ । ऐननियममा व्यवस्था भएको विधिपद्धतिलाई अँगाल्न नसक्दा कतिपय सहकारीहरु अप्ठ्यारोमा परेका छन् । कतिपयले बुझेर पनि व्यवहारमा लागु गरेका छैनन् । अहिले सबै क्षेत्रको ध्यान सहकारीमा पर्न गएको छ । ऐन नियममा भएका व्यवस्था अनुसार व्यक्तिले नचलाई विधिले चलाए सहकारी दुर्घटनामा पर्दैन भन्ने सिकाइ महत्वपूर्ण छ । विधि र पद्धति अनुसार सहकारी सञ्चालन हुनैपर्छ । नेपाल जस्तो देशमा समुदायमा आधारित सहकारी आवश्यक छ । ग्रामिण क्षेत्रमा सहकारीको महत्व अझ बढी छ । जतिपनि विषयमाथि छलफल तथा प्रस्तुति भएको छ, त्यसलाई संस्थामा लागु गर्दा सहकारी संस्थाको भविष्य उज्ज्वल छ । 

parvati thapa.jpg

पार्वती थापा,
प्रबन्धक, सक्षम साकोस,

गोष्ठी धेरै नै महत्वपूर्ण रह्यो । अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने उद्देश्यले जिल्ला संघले यो गोष्ठी आयोजना गरेको रहेछ । गोष्ठीमा प्रस्तुत भएका कार्यत्रपत्रहरु धेरै राम्रो छ । सहकारी विज्ञहरुले नै कार्यपत्र प्रस्तुत गरेकाले उहाँबाट धेरै कुरा सिक्ने मौका मिल्यो । अहिले सहकारीको समस्याका कुरा मात्र बाहिर आएका छन् । धेरै राम्रो काम गर्ने सहकारी संस्थाहरु पनि समुदायमा छन् । त्यसको खासै प्रचार हुँदैन । नराम्रा कुराको बढी प्रचार हुँदा बजारक्षेत्रमा रहेका सहकारी वित्तीय लगायत अन्य समस्याबाट गुज्रिनुपरेको छ । 
अध्यक्ष र व्यवस्थापक दुवैजना गोष्ठीमा सहभागि भएकाले नीतिनिर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरामा एकरुपता आउने मैले बुझेको छु । कतिपय कुरा व्यवस्थापन पक्षले सञ्चालक समितिलाई बुझाउन सकिएको हुँदैन । दुवै पक्ष एकै ठाउँमा बसेर सिक्दा बुझाईमा एकरुपता आइ कार्यान्वयनबाट धेरै कुरा प्राप्त गर्न सकिने रहेछ । हाम्रो संस्था समुदायमा आधारित भएर मुल्यमान्यता र सिद्धान्त अनुरुप चलेको छ । गोष्ठीमा सिकेका कुरा हामीले लागु गर्दै आएका छौं ।  कतिपय कुरा लागु नगरेको पनि हुन सक्छ, त्यसलाई पनि क्रमशः लागु गर्दै लैजाने छौं । नियम र सिद्धान्तमा बसेर कारोबार गरेकाले हामीलाई संस्था चलाउन अप्ठ्यारो परेको छैन । आज सिकेका सबै कुरालाई व्यवहारमा उतार्नु पर्छ भन्ने हाम्रो मान्यता छ । गोष्ठीबाट जथाभावी तरिकाले सहकारी चलाउँदा दुर्घटनामा परिन्छ र विधि अुनसार चलाउनुपर्छ भन्ने कुरा सिक्न पाइएको छ । यो साध्यै राम्रो पक्ष छ । र सबै संस्थाले यी कुराहरु लागु गरेर अघि बढ्नुहुन्छहोला भन्ने मेरो विश्वास छ । 

himal humagai.jpg

तिर्थ हुमागाईं ,व्यवस्थापक,
हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि.

जिल्ला सहकारी संघले वर्तमान समयमा सहकारीहरुमा देखिएको संकट र यसका समाधानका विषयमा एक दिवसिय गोष्ठी आयोजना ग¥यो । यसबाट हामी धेरै लाभान्वित भएका छौं । विश्वव्यापी रुपमा नै आर्थिक संकट आइरहेको सन्दर्भमा वित्तीय काराबोर गर्ने सहकारी संस्थाहरुपनि त्यसबाट अछुतो रहन सक्दैनन् । पछिल्लो समय सहकारीप्रति जनमानसको दृष्टिकोण नकारात्मक बन्दै गएको छ । कतिपय सहकारीले सदस्यको बचत फिर्ता गर्न सकिराखेका छैनन् । यो सन्दर्भमा गोष्ठी एकदमै सान्दर्भिक रह्यो । गोष्ठीबाट आफुले जानेको र थाहा भएका बाहेक अझ बढी प्रयोगमा ल्याउनुपर्ने धेरै कुरा सिक्ने मौका मिल्यो । गोष्ठीले आगामी दिनमा सहकारीमा देखिएका संकट र समस्या समाधान गर्न महत्वपूर्ण हुने अपेक्षा मैले गरेको छु ।

विशेषगरी जुन उद्देश्यले सहकारी खुलेपनि सबै सहकारीले बचतऋणको कारोबार नै मुख्य रुपमा गरिरहेका छन् । विगतमा बचतलाई निरन्तरता दिने समय थियो । त्यो अहिले क्रमिकरुपमा कम हुँदै गएको छ । बचत गर्ने एउटा निश्चित समय हुने रहेछ । त्यो समय पार भइसकेको हामीले महशुस गरेका छौं । जुन उद्देश्यका लागि ऋण लगानी गरेको हो, ती उद्देश्य अनुसार ऋण लगानी सदुपयोग भयो कि भएन भनेर अनुगमन नभएको कारण ऋण असुलीमा समस्या आएको रहेछ । ती समस्यामा हामी विशेष चनाखो हुनुपर्ने रहेछ भन्ने गोष्ठीबाट सिकेका छौं । अरुलाई सिकाउने तर आफु प्रयोग नगर्ने संस्कार हामीकहाँ भएकाले जति कुरा सिक्यौं, त्यो व्यवहारमा लागु गर्न सक्यौं भने पक्कै पनि प्रभावकारी हुन्छ । सिक्यौं र व्यवहारमा लागु गर्न सकेनौं भने त्यसको कुनै अर्थ हुँदैन जस्तो मलाई लाग्छ । 

gangadevi shrestha.jpg

गंगादेवी श्रेष्ठ,
लेखा तथा सूचना विभाग प्रमुख
ज्योति मिर्मिरे सामुदायिक साकोस,

अहिलेको परिस्थितिलाई हेर्दा समय सान्दर्भिक गोष्ठी भएको मैले महशुस गरेको छु । यस्ता गोष्ठीहरु समयसमय भइराख्नुपर्छ । अहिले सहकारी क्षेत्र समस्याबाट गुज्रिरहेको छ । सहकारीमा समस्या आउनुको कारण के हो ? कसरी सञ्चालन गर्दा सफल सहकारी हुँदोरहेछ र सदस्इयो विश्वास जित्न सकिने रहेछ भन्ने कुरा गोष्ठीमा सिक्न पाइयो । गोष्ठीबाट सिकेका कुराले संस्थालाई अगाडि बढाउन धेरै नै टेवा पुग्ने मैले विश्वास लिएकी छु । हामी सबैलाई सहकारीको ध्येय कण्ठ छ तर त्यसको परिपालना भएन । सहकारी नाम मात्रैका संस्था भए, सिद्धान्त अनुसार चल्न नसक्दा समस्या आयो भन्ने कुरा प्रशिक्षकहरुले सिकाउनु भयो । कतिपय सहकारी सदस्यमुखी नभई नाफामुखी मात्र भए भन्ने कुरा गोष्ठीमा छलफल भयो । १७९ वर्ष अघि प्रतिपादन भएको कुरा गोष्ठीमा छलफल गरी त्यसलाई आत्मसात गरेर अगाडि बढे सहकारीले समुदाय र सदस्यको जीवनमा ठूलो रुपान्तरण ल्याउन सक्ने कुरा सिकाइयो । सिकेका कुरालाई हामी लागु गर्न सक्छौं । ज्योति मिर्मिरे सहकारीबाट हामी ५ जना गोष्ठीमा सहभागी भएका छौं । संस्थाको सिइओ र अध्यक्ष नै गोष्ठीमा सहभागी भएकाले गोष्ठीमा सिकेका कुरालाई संस्थामा लागु गर्न कुनै समस्या छैन । सञ्चालक समितिमार्फत अन्य व्यवस्थापनका कर्मचारीलाई सिकेका कुरा जानकारी गराउने र संस्थामा सुधार्नुपर्ने कुरालाई सुधार गर्ने र भइरहेका कुरालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ भन्ने हिसाबले लाग्छौं ।