शनिबार, आश्विन १७ गते २०८३

दुध उत्पादनमा सक्रिय बाग्लुङका सहकारी, दैनिक ३ हजार लिटर गर्छन उत्पादन


माघ १८, २०७९ बुधबार
दुध उत्पादनमा सक्रिय बाग्लुङका  सहकारी, दैनिक ३ हजार लिटर गर्छन उत्पादन


सहकारीका माध्यमबाट बाग्लुङ बजारका उपभोक्ताहरुलाई शुद्ध ताजा दुध खुवाउने उद्देश्यका साथ २०५७ सालमा बागलुङ दुग्ध उत्पादक सहकारी संघ स्थापना भयो । संघले सहकारी संस्थामा आवद्ध कृषकहरुबाट दुध त संकलन गर्‍यो तर विक्री भने गर्न सकेन । शुरुका ३ महिना संकलित दुध बेच्न भन्दा पनि राति नालीमा खन्याउँदैको हैरानी भयो ।

बजारका बासिन्दाले भनेजति दुध नकिनिदिने र अन्य दुग्ध व्यवसायीहरुले गरेको गलत व्यवहारका कारण बिहानबिहान कृषकहरुबाट दुध संकलन गरेर र राति–राति नालीमा खन्याउनुपर्ने बाध्यता संघको बन्यो । कालो बादलमा चाँदीको घेरा भनेझैं संघका तत्कालिन  सञ्चालकहरु हरेस नखाई निरन्तर लागिरहे । दुध विक्री नभएपछि कृषकहरुलाई भनेको समयमा संघले भुक्तानी समेत दिन सकेन । तर पनि कृषकहरुलाई सम्झाइबुझाइ गरेर निरन्तर दुध संघमै ल्याउन उनीहरुले प्रोत्साहन गरिरहे । यो क्रम तीनचार महिनासम्म चल्यो । त्यस अवधिमा विक्री गर्ने भन्दा पनि नालीमा खन्याउने दुध बढी भयो ।

संघका अध्यक्ष दिपक गौतम भन्छन् ‘ सबैले देख्नेगरी दुध फ्याल्दा बजारमा गलत सन्देश जाने भएकाले कसैले नदेख्ने गरी रातको समयमा दुध नालीमा खन्यायौं । समय बित्दै जाँदा बजारबासीले हाम्रो दुधको गुणस्तर थाहा पाए र हामीले बेच्ने दुधप्रति उनीहरु लालायित हुँदै गए ।’ उनले थपे ‘ग्राहकले त्यसपछि दुधको उपभोग बढाउँदै लगे । त्यससँगै संघले पनि गति लिन थाल्यो । र हामी आजको अवस्थामा आउन सकेका हौं ।’

२०५६ सालमा जिल्ला पशुसेवा कार्यालय बाग्लुङको अगुवाइमा ५ वटा पशुपालक कृषक समुहलाई सहकारीमा रुपान्तरण गरी दुध उत्पादनमा लगाउने उद्देश्यका साथ दुग्ध सहकारी गठन भए । तत्कालिन भेटनरी सेवा कार्यालयबाट केहि सहयोग लिएर समुह निर्माण भएको र गाई तथा भैंसीपालन गरी तिनै समूहलाई दुग्ध उत्पादन सहकारी संस्थामा परिणत गरेको अध्यक्ष गौतमले बताए । तिनै सहकारी संस्थाको सक्रियतामा जिल्ला दुग्ध संघ निर्माण भयो । संघको जन्म २०५७ सालदेखि अहिलेसम्म धेरै आरोहअवरोह झेल्दै यो अवस्था आइपुगेको  उनी बताउँछन् ।

१४ सहकारीबाट दैनिक दुध संकलन

352429819_106507375825597_4691990400619408265_n.jpg

जिल्लाका १४ वटा दुग्ध सहकारी संस्था संघमा आवद्ध छन् । १४ वटा सहकारीबाट दैनिक रुपमा दुध संकलन हुने गरेको छ । दैनिक २५०० देखि ३००० लिटर दुध संघले संकलन गर्ने गर्दछ । संस्था र कृषकहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले संघले २२% मार्जिन राखेर काम गर्दै आएको छ । संघले सहकारीहरुलाई भने मासिक रुपमा बैंक खाताबाटै भुक्तानी गर्ने गरेको छ ।

१४ संस्थामा करिब १५०० सय कृषक आवद्ध छन् । १५०० मध्ये १२०० कृषकले दैनिक रुपमा दुध उत्पादन गर्दै आएका छन् । व्यवसायमुखी किसान कम भएकाले निर्वाहमुखी रुपमा मात्रै पशुपालन हुँदै आएको उनी बताउँछन् । कृषकहरु संघसँगको कारोबारप्रति सन्तुष्ट छन् । फ्याटको आधारमा प्रत्येक किसानको खातामा मासिक रुपमा ९६ रुपैया प्रतिलिटर भुक्तानी दिने गरिएको छ भने । ५–८ भन्दा बढी फ्याट भएको दुधमा भएका सहकारीका सदस्यले प्रतिलिटर १२५ रुपैया पाउने गरेका छन् ।

बाग्लुङ बजार सानो भएकाले दैनिक रुपमा सबै दुधको खपत नहुने भएकाले दुधको परिकार जस्तै पनिर, घ्यु, छुर्पी, लस्सी जस्ता वस्तु उत्पादन गरेर विक्री वितरण गर्दै आएको छ । दुधको गुणस्तरमा संघले पूर्ण ध्यान पु¥याएको छ । जसका कारण बजारमा दुधको खपत निरन्तर बढ्दै गएको छ भने ग्राहकरु पनि पूर्ण रुपमा सन्तुष्ट रहेका छन् । धेरैपटक निजी दुग्ध व्यापारीले संघलाई दुख दिएपनि दुधमा गुणस्तर कायम गरेकाले उपभोक्ताले ढुक्कसँग दुधको खपत गरेका छन् ।

दूधमा आत्मनिर्भर जिल्ला

भौगोलिक विकटताका कारण बाग्लुङको पूरै भूगोललाई संघले समेट्न नसकेको भए पनि दुधमा जिल्लालाई आत्मनिर्भर बनाउन सकिने र बाहिरबाट आयात गर्नु नपर्ने उनले सुनाए । प्रतिस्पर्धाको बजार भएकाले पोखराबाट बाग्लुङमा दुध आउने गरेको भएपनि बाग्लुङको उत्पादनले यहाँको मागलाई धान्न सक्ने अवस्था रहेको छ ।

बाग्लुङ जिल्लालाई दैनिक ६५०० लिटर दुध आवश्यक पर्दछ र सो परिमाणको दुध त्यहाँका सहकारी, निजी फर्म र कृषकले उत्पादन गर्दै आएको उनले सुनाए । त्यसमध्ये संघमार्फत २५००–३००० लिटर जति कारोबार हुँदै आएको छ । त्यस बाहेक कृषक स्वयंले पनि विक्री गर्छन् र २/३ वटा निजी फर्मले घर–घरमा दुध पुर्‍याउँछन् । सदस्यहरुबाट दुध संकलन गरेर संस्थाले संघसम्म ल्याउने गरेका छन् । वार्षिक ८ करोडको कारोबार संघमार्फत हुँदै आएको छ ।

संघले खाद्य गुणस्तरबाट अनुज्ञापत्र लिएर कारोबार गर्दै आएको छ । त्यसका साथै घरेलु उद्योग कार्यालयमा संघको लोगो दर्ता छ । सहकारीमा दर्ता भएपछि घरेलुमा दर्ता हुनुपर्दैन भन्ने मान्यता रहेपनि गुणस्तर विभागबाट पाउनुपर्ने अनुज्ञापत्र पाउन नसकेपछि घरेलुमा दर्ता गरेको उनले जनाए । 
संघमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संघको व्यवसाय वृद्धिका लागि नयाँ भवनको आवश्यक देखिएको छ । हालको भवन साँघुरो भएकाले मेसिनहरु अटाइराखेका छैनन् । संघले जग्गा खोजिराखेको र जग्गा मिलेपछि कार्यालय स्थानान्तरण गरी संघको उत्पादनलाई बढाउने योजना रहेको उनले सुनाए । 

संघीयतापछि पाइएन अनुदान

तत्कालिन भेटनरी पशु सेवा कार्यालय हुँदा संघलाई मेशिन, उपकरण र दुधको क्यान सहयोग प्राप्त भएको थियो । अहिले संघीयतापछि स्थानिय, प्रदेश र संघीय सरकारबाट एक रुपैया पनि अनुदान नलिएको उनले सुनाए । ‘हामीले जे माग्छौं त्यो पाउँदैनौं । हामीलाई पाष्चराइज मेशिन, जेनेरेटर र फ्याट चिलिङ चाहिएको छ तर सरकारले क्यान दिन्छ । संघले जग्गा उपलब्ध गराउँछ, नगरपालिकाले भवन बनाइदिनुस् भन्दा मेयरले सुन्नु भएन । अनुदान लिने भेनको पहुँचवालालले नै हो । मन्त्री र माननीयको अघिपघि घुम्नेले अनुदान पाउँछन् ।’

चिस्यानको अभाव प्रमुख चुनौति

संघको दुध प्रशोधन क्षमता ३००० लिटर भन्दा बढि नरहेको र त्यसलाई बढाउन अहिले जग्गादेखि मेशिन, उपकरण र प्राविधिक आवश्यक रहेको छ । दुधलाई एकघण्टा भित्र चिस्याइएन वा तताइएन भने गुणस्तरहिन हुने हुँदा दुग्धपदार्थ संवेदनशील भएकाले दैनिक रुपमा नै चुनौति रहेको उनको भनाई छ । अर्कोतर्फ कर्मचारीले ३६५ दिन नै विहान ४ बजेदेखि बेलुकी ७–८ बजेसम्म खट्नुपर्छ । कर्मचारी टिकाइराख्न असाध्यै ठूलो चुनौति रहेको छ । दशैं तिहार जस्ता ठूला चाडपर्वमा पनि डेरी सञ्चालन गर्नुपर्छ । कोरोना जस्ता महामारीको बेलामा पनि कर्मचारीले काम गरे । संघलाई दीर्घकालिन रुपमा अगाडि लैजान राज्यले सहयोग गर्नुपर्ने उनले बताए । राज्यले कृषक र सहकारीलाई कर नलाग्ने भनेपनि दुधको मुल्यश्रृंखला परिवर्तन भएपछि अनिवार्य भ्याटमा जानुपर्ने बाध्यता रहेको । दुधमा भ्याट नलागे पनि दुधबाट उत्पादन भएका सबै वस्तुमा भ्याट लाग्छ । भ्याट जोडेर बेच्दा बजारमुल्य बढी हुने हुँदा बजारमा प्रतिस्पर्धा गर्न नसकिने उनले सुनाए । ‘पहाडको वस्तुले तराईको वस्तुसँग प्रतिस्पर्धा गर्न सम्भव छैन,’ उनले थपे ‘तराईमा २० लिटर दुध दिने गाईले यहाँ १० लिटर भन्दा बढि दिँदैन । उत्पादन लागत बढ्छ । तराईबाट ४० हजारको पराल ल्याउँदा ४२ हजार त ढुवानी भाडा नै तिर्नुपर्छ । यस्ता समस्याहरुले गर्दा कृषि उत्पादनमा जान कठिनाई छ ।’ राज्यले उत्पादन लागतमा शतप्रतिशत अनुदान दिनुपर्ने उनको माग छ । कृषकले दुध उत्पादन गरेर ८० रुपैयाँमा बजार बेच्छ भने त्यति नै राज्यले अनुदान दिनुपर्ने उनको भनाई छ । तबमात्र कृषक उत्पादनमा आकर्षित हुने उनले सुनाए ।

बाग्लुङको छुर्पी अमेरिकामा निर्यात

बाग्लुङमा उत्पादन भएको छुर्पी अमेरिका निर्यात हुने गरेको छ । त्यहाँबाट काठमाण्डौको एक कम्पनीले किनेर अमेरिका निर्यात गर्ने गरेको अध्यक्ष गौतम बताउँछन् । बाग्लुङ जस्तो छुर्पी र घ्यू अन्यत्र नपाईने उनको ठोकुवा छ ।

गत वर्ष संघले २० लाखको छुर्पी उत्पादन गरेको थियो । कृषकको दुध खेर नजाओस भनेर दुधका विभिन्न परिकार उत्पादन गर्ने गरेको उनले सुनाए । छुर्पीको मुल्य एक केजीको १२०० रुपैया पर्छ । १२–१५ लिटर दुधको १ केजी छुर्पी बन्छ । घ्युमा भने नाफा रहेको छ । एक केजी घ्युको १४०० रुपैया मुल्य रहेको छ । त्यसैगरी दशैंतिहार जस्ता चाडवाडका बेला खुवा र गर्मी मौसममा लस्सीका परिकार बनाएर विक्री बितरण गर्दै आएको छ । 
संघले गरेको नाफाबाट वर्षभरीको खर्च कटाएर असार मसान्तमा बचेको नाफा  संस्थाहरुमार्फत कृषकलाई दिने गरेको छ । कारोबारको आधारमा कृषकहरुले रकम फिर्ता पाउने गरेका छन् । संघले किसानको पशुबीमा गरिदिनुका साथै वर्षको एकपटक औषधी समेत उपलब्ध गराउँदै आएको छ । पशु शिविर सञ्चालन गर्ने र बीमा गर्न समेत सहयोग गर्ने गरेको छ ।

कतिपय निजी फर्महरुले संघलाई दुःख दिने कुरा नौलो रहेको छैन । संघले गुणस्तरीय र शुद्ध दुध बेचेकै कारण धेरै पटक खाद्य गुणस्तर तथा प्रविधि कार्यालयमा उजुरी हालिएको उनले बताए । तर कार्यालयले नियमन अनुगमन गरेर गलत कार्य भएको भेटिए र गुणस्तरहीन भए कारवाही गर्न र राम्रो भए सञ्चारमाध्यममा बाहिर ल्याउन उनको आग्रह छ । गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा विक्रीवितरण गरेवापत संघलाइ विभिन्न निकायले सम्मान समेत गरेका छन् ।