नेपाल सम्वत अनुसार आजको तिथि जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन हो । श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ आज ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा दुर्गालाल साहित्य प्रतिष्ठानले गरेको छ ।
अनुसन्धाता आर. मानन्धरद्वारा लिखित कबि दुर्गालालको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा पुगेको र त्यस कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको बताइएको छ । प्रतिष्ठानका अनुसार प्रकाशोन्मुख कृति चित्रमय हुने छ ।

नेपालभाषामा दुर्गालालको जीवनी पुस्तक दुइ वर्षअघि (ने. सं. ११३९) नै प्रकाशित भइसकेको छ । पुस्तकका डिजाइनर थिए, रविन साय्मि । अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशित त्यो जीवनी पुस्तक बन्दाबन्दीको कारण विमोचन कार्यक्रम स्थगित रहन गएको र परिस्थिति अनुकुल भएमा दुवै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको पनि दुर्गालाल साहित्य प्रतिष्ठानले जनाएको छ ।