देश र जनतलाई आन्तरिक र बह्य राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शोषण र उत्पीडनबाट मुक्त गर्न र अग्रगामी दिशामा अघि बढाउनका लागि सचेतरुपमा आफुलाई संघर्षमा होम्ने र बलिदानी आत्मोत्सर्ग गर्ने महान ब्यक्तित्वहरुलाई शहीदको उच्च सम्मानले पुकारिन्छ । अनि उनीहरुको अमरत्वलाई सदा स्मरण गरिन्छ र ती शहीदहरुका सपनाहरुलाई साकार पार्ने सार्थक प्रयत्नहरु गर्ने संकल्प र प्रतिज्ञाहरु दोहोर्याउने गरिन्छ । यसरी महान शहीदहरु राष्ट्रका गौरब तथा उच्च सम्मानका अबिस्मरणीय र अमर बिभूति हुन् भन्ने कुरा एकदमै प्रष्ट छ ।
यसबाट के कुरा पनि बोध हुन्छ भने शहीदहरु देश र जनताप्रति समर्पित, निष्ठाबान र शतत संघर्षशील त्यस्ता ब्यक्तित्वहरु हुन जसले आफ्नो जीवनका सबै सुख शयल, बैयक्तिक–पारिवारिक स्वार्थभन्दा माथि उठेर कुनै जाति, धर्म, सम्प्रदाय, लिंग र क्षेत्र बिशेषको भावना नलिई सम्पूर्ण समाजको चौतर्फी समुन्नति, समानता र न्यायका निम्ति जस्तोसुकै कठिन परिस्थितिको पनि डटेर सामना गर्ने अदम्य साहस, दृढता तथा अबिचलित चिन्तन र चरित्रको प्रदर्शन गर्दछन् । देश र जनतलाई जगाउने, उठाउने र अघि बढाउने उदात्त र उच्च भावनाले ओतप्रोत भएका राष्ट्रिय र सामाजिक हितबाट अभिप्रेरित भएर आफ्नो जीवन न्यौछावर गर्ने ब्यक्तित्वहरुले आफुलाई शहीदपंतिmमा खडा गर्दछन् ।

हाम्रो देशमा पनि राष्ट्रलाई बाह्य आक्रमण र अतिक्रमणबाट जोगाउन तथा समाजिक अन्याय र अत्याचारबाट जनतालाई मुक्त गर्न अनेक पटक संघर्षको सुत्रपात भएका छन् र आन्दोलनहरु उठेका छन् । ती सबै आन्दोलनका बलिबेदीमा आफ्नो अमूल्य जीवन कुर्बानी गर्ने नेपाली जनताका बीर बीरांगनाहरु उच्च सम्मानका पात्र र शहादत गर्ने अमर शहीदहरु हुन् । त्यसैले हामी शहीद दिवस मनाउँदा सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदरुप्रति उच्च सम्मान प्रकट गर्ने गर्दछौं । उनीहरुले देश र जनताका खारित गरेका अमूल्य र अबिस्मरणीय सत्कर्म प्रति श्रद्धाभावले शीर झुकाउने गर्दछौं अनि उनीहरुले छाडेर गएका अधूरा सपनाहरु साकार पार्ने संकल्पहरु लिने गर्दछौं ।
तर हाम्रो देशमा हामीले शहीदहरुको आत्मोत्सर्ग र अमर बलिदानको स्मरण गर्ने कुरालाई केवल सतही कर्म काण्डको एउटा बिडो थाप्ने कृत्यकारुपमा मात्र लिने गर्दै आएका छौं भन्दा फरक पर्दैन । किनभने शहीदरुको सम्मान भनेको देश र जनताको जीवन र क्षमतालई शततरुपमा चौतर्फी किसिमले माथि उठाउने र त्यस क्रममा कुनै पनि बिकृति र बिसंगति आउन नदिने, कुशासन र भ्रष्टाचारलाई कडाईकासाथ रोक्ने, हुन नदिने र भएमा कडा दण्ड सजाय गर्ने जुन परिपाटी र प्रणाली बसाल्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेका छैनौ । यसरी हामीले राष्ट्रिय र सामाजिक हित र स्वार्थको पटक्कै रक्षा गर्न सकेका छैनौं । त्यसको बिपरीत बैयक्ति, पारिबारिक र सानो गुट स्वार्थमा चुर्लुम्म डुेबर सत्ताको दुरुपयोग गर्ने, यसका लागि हरेक किसिमका बिकृति र बिसंगतिलाई बढावा दिने र त्यसलाई ढाकछोप गर्न अनेक किसिमका जालझेल गर्न पनि पछि नपर्ने र यथार्थतः राष्ट्र र जनतलाई हरेक किसिमले कमजोर तुल्याउने काम गर्न पछि नपरेको स्थितिकै सर्बत्र बिगबिगी छ ।
यसरी जनताको जीवनमा जुन ऊर्जावान, उत्साहप्रद र उध्र्वगामी बिकासको बाटो तय गरेर अग्रसर हुुन पर्ने शहीदहरुको शहादतको अमूल्य सन्देश थियो त्यसलाई निरन्तर त् तिलाञ्जली दिदै देश र जनतालाई असुरक्षा, अभाव अनिश्चितताको अँध्यारोमा धकेलेर भए पनि सत्ताको दुरुपयोग गर्ने खेल तमासा आज चलिरहेको र ब्याप्त छ । यसले देश र जनतालाई अपूर्ब र भयंकर खतराको संघारतिर धकेलिरहेको छ । यो आजको अत्यन्तै ठूलो चिन्ता र राष्ट्रिय सरोकारको गम्भीर तथा ज्वलन्त बिषय र अपूर्ब संकटको स्थिति हो । यस स्थितिबाट पार पाउन सक्नु नै शहीदहरुप्रतिको उच्च आदर सम्मान र उनीहरुको सपना साकार भएको मान्न सकिन्छ ।
अन्यथा‘श्राध्दमा बिरोलो बाध्ने’ पुरानो रुढीवादी कर्मकाण्डलाई दोहोर्याइ रहने एउटा गलत कृत्य बाहेक शहीद दिवस पनि केही ठहरिने छैन । आज जिम्मेवार सबैले यो कुरालाई अत्यन्तै गम्भीररुपमा मनन गर्नु अत्यावश्यक छ । बस्तुत के कुरा बुझ्नु अत्यन्तै जरुसी छ भने अमर शहीदहरुको शहादत र सपना देश र जनताको समुन्नति, समानता, सुदृढीकरण र शतत न्यायका निम्ति थियो र हो । ती बीर शहीदहरुको कुन अरु आकांक्षा पटक्कै छँदै थिएन र हुन पनि सक्तैन । केवल नेपाल र नेपाली जनताको सर्बतोमुखी बिकास र सबै किसिमका बिकृति र बिसंगतिहरुको अन्त्य अमर शहीदहरुको मनोकांक्षा थियो । यस दिशामा दृढताकासाथ अघि बढ्न सकेमा मात्र ती बीर शहीदहरुको स्मरण गरेको सार्थक हुनेछ ।