
लोकनारायण सुबेदी
बितेको ४८ बर्षको कालखण्डमा बिश्वका बन्य जीव जन्तुहरुको संख्यामा ६९ प्रतिशतले कमी आएको खोज अनुसन्धानमा गम्भीररुपमा लागेका बिज्ञ बैज्ञानिकहरुको आकलन छ । यो गम्भीर र चिन्ताजनक कुरा २०२२ मा बिश्व बन्य जीव कोष (डब्लुडब्लुएफ)द्वारा जारी गरिएको ‘लिभिङ्ग प्लानेट रिपोर्ट २०२२’ ले उल्लेख गरेको छ । यो २०२२ को ‘लिभिङ्ग प्लानेट इण्डेक्स’(एलपीआई)मा बन्य जीव जन्तुहरुका ५०,२३० प्रजातिहरुको ३२,००० जीवजन्तुहरुको संख्याको अध्ययन र बिश्लेषण गरिएको जनाइएको छ । यो ‘इण्डेक्स’ले ५० बर्षदेखिका बिभिन्न स्तनधारी जीवहरु, चराचुरुङ्गीहरु, माछाहरु, सर्पहरु तथा उभयचर जीवहरुको संख्यालाई ट्र्याक गरिरहेको बताइएको छ ।
पहिला पहिलाकाभन्दा जैबिक बिबिधता सम्वन्धी यो पछिल्लो प्रतिबेदन निकै नै गम्भीर चिन्ताजनक छ । यसमा बस्तुगत यथार्थः कुरा के छ भने जल, जंगल, जमिनको संरक्षणका लागि जति पनि अन्तर्राष्ट्रिय सम्मेलन हुने गरेका छन् तिनमा बिकसित तथा बिकसशील देशहरुका बीच आर्थिक मुद्दाहरुमा बिबाद हुने गर्दछ । यसमा बिकसित देशहरु बढी जिम्मेवारी लिन चाहँदैनन् । त्यस बिपरीत उनीहरु के चाहन्छन् भने बिकासशील देशहरुले नै जैबिक बिबिता, बिश्वमा बढी गर्मी हुँदै गरेको लवायु, कम हुँदै गएको बन जंगल, बिलुप्त हुँदै गएका प्राणी या जीवजन्तु, प्रदुषित हुदै गरेका या भइसकेका नदीनालाहरु जस्ता सबै कुरा बचाउनका लागि काम गरुन् । तर यी सबै काम गर्न पर्याप्त आर्थिक सहयोग गर्न पनि बिकसित देशहरु तयार छैनन् । प्रकृतिको जथाभावी निर्मम दोहन गर्ने ‘पाप’ बिकसित देशहरुले गर्ने तर त्यस पापको परिणाम भने बिकासोन्मुख र बिकासशील देशहरुले भोगिरहेको आजको अन्तरबिरोधपूर्ण स्थिति छ ।
बास्तवमा जैबिक बिबिधतालाई बचाउन र दीगो राख्नका लागि आधुनिक बिकास र प्रकृति संरक्षण दुबैका बीचमा सन्तुलित तालमेल बसाउनु पर्ने टडकारो आवश्यकता रहेको बिज्ञ अध्येताहरुको निरन्तराको आग्रह रहँदै आएको छ । अन्यथा यसको दुष्परिणाम प्रकृतिले सहनुपर्ने हुनजान्छ र त्यसको दुष्परिणाम मानब समुदायले बेहोर्नु पर्ने हुन्छ । बस्तुतः कोरोना महामारीको त्रासद बिश्व संकट – महामारी यसैको प्रतिफल थियो र त्यो अहिले पनि फैलिरहेको र रुप फेरिफेरिकन कायम रहिरहेकै अबस्थामा छ । आज जीवजन्तु र बोट बिरुवाका ५० हजार प्रजातिहरु दिन दिनै बिलुप्त भइरकेको यो क्रम बढ्दै गइरेको पनि अनुसन्धानले देखाएको छ । बिगतमा हाम्रा पूर्खाहरु पर्याबरण, सामाजिक तथा आर्थिक ब्यवस्थापनमा निपुण थिए । उनीहरुको यो संस्कारजन्य संघर्षको प्रयासबाटै हामीले आजसम्मको जैबिक बिबिधता बचाउन सकेका हौं । अनि प्रकृतिसँग सन्तुलन बनाएर नै सबैको आवश्यकता पूरा गर्न पाइरहेका हौं भन्ने कुरालाई बिर्सनु हुँदैन ।
तर आज त पर्यावरणको अन्त्यहीन बिनाश अर्थात क्षरण एउटा निरन्तरको दैनिक मानब गतिबिधि भइसकेको र भइरहेको छ। त्यसले गर्दा बिश्वमा पाइने गरेका बोट बिरुवाहरु तथा जीवजन्तुहरुको झण्डै झण्डै एक तिहाई प्रजातिहरु आज बिलुप्त भइसकेका या भइरहेका छन् र बाकी बिलुप्त हुने संघारमा पुगिसकेका छन् । एकातिर त यो धरतीमा मानिसको जनसंख्या बढ्दै नै गइरहेको छ, त्यही मानिसले जीव जन्तुहरु र बोट बिरुवाहरुलाई नष्ट पनि गरिरहेको छ र तिनको ठाउमा पनि आफै घुस्तै गइरहेको छ । यो बिनाशकारी गतिबिधिबाट मानब समुदाय ब्यूँझनु र सही बाटो पक्रिनुको कुनै बिकल्प पनि छैन । यथार्थतः आज जैबिक बिबिधताको सही संरक्षण बिना बिकासको कुनै महत्व नै छैन र रहने पनि छैन भन्ने निष्कर्श बैज्ञानिक अध्येताहरुले निकालिरहेका छन् ।
बैज्ञानिकहरुले प्रस्तुत गरेको पछिल्लो अनुसन्धान अनुसार यो जीवित ग्रहको ताजा पानी भएको क्षेत्रमा पनि जैबिक बिबिधितामा धेरै कमी आएको छ । तर ताजा खानुहुने पानी भने यो पृथ्वीको केवल एक प्रतिशत हिस्सामा मात्र रहेको छ । यता बिश्वको ५० प्रतिशतभन्दा बढी जनसंख्या ताजा पानीको ३ किलोमिटरभित्रको जति दायरामा मात्र रहेको बताइन्छ । यस्तो स्थितिमा बढ्दो मानिसको जनसंख्याको दबाब प्राणी र बनस्पतिमाथि पर्ने नै भयो । त्यसै दबाबका कारण यतिबेला जलचरहरुको संख्यमा ८३ प्रतिशतले कमी आएको छ । बनजंगल ‘ग्लोबल वार्मिङ्ग’को भूमिकाका बारेमा सबैजसोलाई थाहै छ । आज बिश्वभरीका बन जलंगहरुले वातावरणबाट ७.६ गीगाटन कार्बन डाई अक्साईड सोसेर लिन्छन् । यो मानब गतिबिधिहरुबाट बिश्वमा पैदा भएको कार्बनको १८ प्रतिशत हुने उल्लखे गरिएको छ । बन जंगलले समग्रमा यस धरतीलाई ०.५ डिग्री सेल्सियश चीसो राख्दछ । तर यति गरिदा गरिदै पनि १० मिलियन हेक्टर(एक मिलियनमा १० लाख हुन्छ) जंगल हरेक बर्ष गुमाइरहेको स्थिति छ । यसको अर्थ उदाहरणकोरुपमा भन्नु पर्दा के हुन्छ भने भारतले मात्रै बिश्वमा बर्षै पिच्छे एउटा पूर्तगाल देश जत्रै जमिन गुमाइरहेको छ । हुन त भारतमा जैबिक बिबिधता सबैभन्दा बढी छ भन्ने गरिन्छ । अनि अहिले पनि त्यहाँ देशको आधा जनसंख्याले कृषि क्षेत्रबाटै रोजगारी प्राप्त गर्ने गर्दछ
आज यो कुरा मान्छेले बुझ्नै पर्नै पर्ने स्थिति सिर्जना भएको छ कि जीव जन्तुहरुको महत्व मानिसको जीवनको भन्दा कम छैन । यस सन्दर्भमा संयुक्त राष्ट्र संघले पनि भनिसेकेको छ कि सभ्यता र सँस्कृतिको ठूलो महत्व छ । यस सन्दर्भमा बिश्वले मिलेर जान्नु परेको छ कि कुन प्रयास अरुभन्दा राम्रो हो जसलाई अन्यत्र पनि अपनाउन या अबलम्बन गर्न सकिन्छ । बिश्वको बढ्दो जनसंख्याको खाद्य तथा पोषण सुरक्षामा कृषिको जैबिक बिबिधताको संरक्षणसँग दीगो बनाइराख्नका लागि आज बिश्वब्यपीरुपमा नै ठोस र प्रभावकारी कदम र उपायहरुको बढ्दो आवश्यकता छ ।
यद्यपि यो जैबिक बिबिधताको चिन्ता एक्लै कुनै एउटा मात्र देशको या महाद्विपको चिन्ता र समस्याको बिषय होइन । न कुनै एउटा मात्र देशले यो समस्यालाई समग्ररुपमा हल या निवारण गर्न सक्दछ । त्यसैले बिश्व समुदायलाई नै आज जैबिक बिबिधता संकट उत्पन्न गर्ने जिम्मेवार मानिन्छ । अनि यो समस्या पनि बिश्व समुदायकै हो । यसर्थ सबैको नैतिक जिम्मेवारी हो कि मिलेर समस्याको निराकरण गर्ने बाटो खोज्नु पर्दछ र जैबिक बिबिधतालाई संरक्षित गर्ने किसिमका बिकास योजना परियोजनाहरु बनाएर कार्यान्वयन गर्नु पर्दछ । हुन त शुरु शुरुमा जैबिक बिबिधता र बिकासलाई दुइ बेग्ला बेग्लै अबधारणाकारुपमा लिइन्थ्यो र भिन्न भिन्न हुन् भनेर हेरिन्थ्यो । तर पछिबाट के महसुश गरिन थाल्यो भने बिकास र जैबिक बिबिधताको संरक्षणका लागि सरकारी प्रयासकासाथै जनताको पनि सचेत र सकारात्मक सहगभागीता पनि उत्तिकै जरुरी छ । जन जागरुपता भएपछि मात्रै जैबिक बिबिधता संरक्षण हुन पाउँदछ । अनि जैबिक बिबिधताको संरक्षणको प्रश्न पृथ्वीको अस्तित्वसँग जोडिएको छ । त्यसो भएकाले बिश्वका प्राणी र बनस्पतिका ‘जीन–पुल’लाई कसरी बचाउने भन्ने बिषयमा सम्पूर्ण संसारलाई केन्द्रबिन्दूमा राखेर गम्भीरतापूर्बक बिचार गर्दै सही र ठोस निर्णय लिनै पर्ने आजको बिश्वब्यापी आवश्यकता हो र बिश्वका बिभिन्न देशहरुको पनि राष्ट्रिय आवश्यकता पनि यो गम्भीरतम जिम्मेवारी र कत्र्तब्य पनि हो ।