
चन्द्रमणि गाैतम
दशरथ चन्द (वि.सं. १९६० असार १७) को जन्म बैतडीको बस्कोटमा लप्टन शेरबहादुर र ३ वटी पत्नीमध्ये जेठी पार्वतीका माईला छोराको रुपमा भएको थियो । उनले १३ वर्षको उमेरमै आमा गुमाए । ६ कक्षासम्म बैतडीमा पढेपछि बाबुको जागीर पोस्टिङ् अनुसार नेपालगञ्ज र सुर्खेतमा पढेपछि पढ्नका लागि भारतको अल्मोडा र मावली पिथौरागढमा पठाईए । उच्चशिक्षाका लागि बनारस पुगे । त्यहाँ पढ्दा भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सामेल भए । बनारसमा आई.ए. को पढाई पूरा गरेपछि उनी काठमाडौँ आए ।
रुद्र शम्शेरले छोरी (२८ वर्षे दशरथभन्दा ९ वर्षले कान्छी १९ वर्षकी जुलियानी मैयालाई) दिनकै लागि हुनुपर्छ, उनलाई आफ्नै दरबारमा राखे र त्रिचन्द्र कलेजमा बी.ए.मा भर्ना गरिदिए । दशरथ दरबारमा बसेको बेला कमान्डर इन चिफलाई अँग्रेजी पत्रपत्रिका पढेर सुनाउने र भाषण लेखिदिने गर्थे ।
दशरथ र जुृलियानी मैयाँको लुकिछिपी प्रेम बढ्दैगयो, उपहार दिनेलिने हुँदैगयो । १९८९ सालमा उनीहरूबीच बिहे गरिदिने बारे कुरा चलेको थियो । तर त्यही वर्ष दरबारमा जुठो आईलागेपछि विहे हुन पाएन ।
१९९० चैतमा रुद्र शम्शेरलाई ‘ग’ श्रेणीमा राखेपछि त्यो श्रेणीको राणाले काठमाडौँमा बस्न नपाउने ‘नियमअनुसार’ उनलाई पाल्पा धपाईयो भने दशरथ चन्द पनि दरबारबाट निस्केर पकनाजोलस्थित मामाघरमा बस्न थाले । दरबारबाट निस्केपछि दशरथले जुलियानी र उनको प्रेम पनि गुमाए ।
राणाहरूबीचकै भेदभाव र शासकीय अत्याचार सहन नसकेका दशरथ राणा विरोधी भए र राणा शासनको विरोध गर्न पाईने पक्षको खोजीमा लागे । मिजासिला स्वभावका दशरथ चन्द खरो ब्यवहारका पनि थिए । त्यही सिलसिलामा उनको भेट प्रजापरिषदका संस्थापक अन्य नेताहरूसँग भयो । १९९२ जेठ २० गते धर्मभक्तको घरमा प्रजा परिषदको स्थापना भयो । १९९७ सालमा जाउलाखेलको भोटोजात्राका दिन ब्यापक पर्चावाजी भयो। दशरथ पक्राउ परे । उनलाई ज्यान सजाय दिईयो।

दशरथ जेलमा रहँदा भेट्न आउने कोही थिएनन् । उमेरले गर्दा गंगालाल दशरथलाई दाई भन्ने गर्थे भने दशरथ गंगालाललाई भाई । राणाविरोधी गतिविधिमा लागेपछि राणाका जागीरे बाबुको परिवारका अन्य सदस्य उनलाई भेट्न नआएपछि उनी नितान्त एक्लो भए ।
मृत्युदण्ड दिएका बेला उनले कुर्ता–पाईजामा, इस्टकोट र प्रेमिका जुलियानीले उपहार दिएको खास्टो छड्के पारेर ओडेका थिए । दशरथ चन्द र गंगालाल ‘दाजुभाई’लाई एकै रात शोभा भगवतिमा पेस्तोलले गोली हानी प्राण पखेरु लिईयो । रक्सी खुवाएर सुर्याएको पोडेले २ गोली हान्दा मिसफायर भएपछि गंगालाल कराए, ‘ए कायर ! गोली हान्ने हिम्मत छैन ! सक्छस भने हान छातीमा गोली, के हात कमाउँछस् ।” गोली हान्न लगाउने नर शम्शेर रीसले आगो भए । पोडेबाट पेस्तोल खोसेर उनैले ज्यान लिए ।
गणेशमान सिंह र दशरथ चन्द पक्राउ परेर एकसाथ जेलमा बसेका बेला दुईजनाको एकदिनको कुराकानी निकै रोचक छ गणेशमानजीका मुखबाट सुनेको । दुईजनामात्र भएको बेला दशरथ चन्दले एकदिन गणेशमानलाई भनेछन्, “हेर गणेशे, हामीलाई निश्चितै मार्छ । बाँच्ने चान्स कत्ति पनि छैन । हामीले चैँ प्रजातन्त्र देख्नै नपाई मर्ने भयौँ । कताकता मलाई आजकाल के लाग्छ भने तैंले चाहिँ प्रजातन्त्र आएको देख्न पाउलास् ।”
“क्यैगरी प्रजातन्त्र देख्न पाईस भने तैँले मेरो एउटा काम गरीदिन्छस् कि ! हुन त तँलाईँ यहाँ कसैले गन्दैन । म पनि तँलाई मन पराउँदिन भन्ने तँलाई पनि महसुस भएको होला । अब यी सबै छोड्दे । मेरो काम गरिदिन्छस् भने भन्छु, नत्र किन भनुँ !”
गणेशमानजीले सकेसम्म “म गर्छु, तर काम त भन्नुपर्यो नि !’ भनेपछि दशरथ चन्दले आफ्नो काम भनेछन्, “मेरो एउटा भतिजो छ ललित चन्द । त्यो बहराईचमा पढ्दापढ्दै घर गएर बसेको छ । त्यसलाई कम से कम पढ्ने ब्यवस्था मिलाई दे ! त्यो भन्दा अरु के सक्छस् गरिदे !”
२००७ सालको क्रान्ति सम्पन्न भएपछि गणेशमानजीले ललित चन्दको खोजी गर्नुभयो । उनको पढाई चलाई दिनुभयो । पढिसके पछि २०१५ सालको आम निर्वाचनमा नेपालगञ्जबाट काँग्रेसको उम्मेद्वार बनाउनु भयो । जितेपछि आफ्नै मन्त्रालयको उपमन्त्री पनि बनाईदिनु भयो । उनै ललित चन्द पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने । उनका छोरा नेपालभूषण चन्द सेनाको माथिल्लो तहसम्म पुगे ।
______________________
(मूख्य स्रोत : राणा ईतिहासका ज्ञाता, लेखक एवं रुद्र शम्शेरकै नाती पुरुषोत्तम शम्शेर जबरा)
साभार : गाैतमजीकाे मुहारपुस्तिकाबाट