काभ्रेमा जिल्लास्तरीय सहकारी गोष्ठी आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना र सीएमसी काभ्रेको व्यवस्थापनमा आगामी माघ २८ गते उक्त गोष्ठी हुन लागेको हो । जिल्लामा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरी गोष्ठी आयोजना गर्न लागिएको संघका अध्यक्ष दिलिप शर्माले बताए । सहकारी संघसंस्थाहरुमा वर्तमानमा देखिएको तरलता व्यवस्थापनको समस्या, ऋण असुलीको समस्या र सहकारी संघसंस्थाहरुको छविलाई कायम राख्न नेतृत्व र व्यवस्थापन एकजुट हुनुपर्ने महशुस गरी यो तालिमको आयोजना गर्न लागिएको उनको भनाई छ ।
आर्थिक मन्दीले उत्पन्न संकटको अवस्थामा सहकारी अभियानलाई सुदृढ रुपमा अगाडि बढाउन र सहकारी संघसंस्थलाई दीगो रुपमा अघि बढाउन कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ । गोष्ठीमा सहभागि हुन चाहने संस्थाले माघ २५ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने संघले जनाएको छ ।
संघले सहकारी अभियानको गुणात्मक विकास एवं विस्तार गर्दै सहकारी क्षेत्रलाई सुदृढ बनाउन विभिन्न समयमा तालिम गोष्ठी र अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । संघले केहि समय अघि पनि व्यवस्थापन प्रमुखहरुका लागि छुट्टै गोष्ठी सम्पन्न गरिसकेको छ । काभ्रे जिल्लामा विभिन्न प्रकृतिका १४९५ सहकारी संस्थाहरु रहेका छन् ।