शनिबार, कार्तिक ८ गते २०८३

हाम्रो मेलमिलाप साकोसको १५औं साधारणसभासम्म आइपुग्दा कोषमा उल्लेख्य वृद्धि

माघ ४, २०७९ बुधबार
हाम्रो मेलमिलाप साकोसको १५औं साधारणसभासम्म आइपुग्दा कोषमा उल्लेख्य वृद्धि

 

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष नेत्र प्रसाद धितालको सभापतित्व एवं कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै धितालले समुदायमा छरिएर रहेको पुँजीलाइ एकीकृत गरी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिका लागि लगानी गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए ।

२०६४ सालमा स्थापना गरिएको संस्थाले कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दाहरूलाइ सदस्य बनाइ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै आएको उनले बताए । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म आइपुग्दा २३४४ शेयर सदस्यबाट ६ करोड ३ लाख ९२ हजार शेयरपुँजी, ५१ करोड ३ लाख २७ हजार बचत संकलन र ५७ करोड ८१ लाख ऋण संस्थाले लगानी गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषहरूमा ६ करोड ५५ लाख भन्दा बढी रकम रहेको छ । 

संस्थाले गत आ.व. मा शारिरीक रूपमा कमजोर नागरिकहरूलाइ सहायता प्रदान गरेको, बृहत् स्वास्थ्य शिविर तथा रक्तदान एवं ज्येष्ठ सदस्य, स्थानीय कलाकार, विद्यावारिधी प्राप्त गर्ने सदस्य एवं राष्ट्रिय व्यक्तित्वहरूलाइ सम्मान गरिएको जनाएको छ। संस्थाले सदस्यहरूको बचत तथा ऋणमा समय सापेक्ष दिँदै आएको ब्याजदरलाइ प्रतिस्पर्धात्मक बनाइ औसत ब्याजदरमा कमी ल्याउने जनाएको छ । 

संस्थाले चालु आ.व. मा कार्यक्षेत्र विस्तार गरी काठमाण्डौ जिल्लाभर बनाउने संस्थाको आफ्नै घरजग्गा खरिद गर्ने, स्थानीय सहकारीहरूसँग एकिकरणको थालनी गर्ने, प्राकृतिक प्रकोप एवं, विपत्तिका साथै आर्थिक अवस्था कमजोर भएका सदस्यलाइ सहयोग गर्ने, घरेलु हिंसा हटाउन जागरण अभियान चलाउने र कागेश्वरी मनोहरा पालिकाभित्र रहेका संस्थाहरूबीच हाजिरी जवाफ र खुल्ला दौड प्रतियोगिता सञ्चालन गर्ने जस्ता योजना अघि सारेको छ । 

सभामा कोषाध्यक्ष विनोद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस आ.व.मा संस्थाको कुल सम्पत्ति तथा जायजेथा गरी ७५ करोड पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए । संस्थाले गत आ.व.मा ६० लाख ८ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । 

संस्थाका लेखा समिति संयोजक रामजी थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्दै एक वर्ष भन्दा बढी भाखा नाघेका कर्जाको प्रोभिजनिङ गर्न, लामो समयदेखि उठ्न नसकेको खराब कर्जालाइ अपलेखन गर्न र सदस्यलाइ ३६५ दिन नै सेवा दिन सुझाव दिएका थिए । 

hamro melmilap 2.jpg