शनिबार, कार्तिक ८ गते २०८३

सदस्यको बचत फिर्ता नगर्ने सहकारीको संख्या बढ्यो, महानगरपालिकाले अब नियमित अनुगमन गर्ने

माघ १, २०७९ आइतबार
सदस्यको बचत फिर्ता नगर्ने सहकारीको संख्या बढ्यो, महानगरपालिकाले  अब  नियमित अनुगमन गर्ने


सदस्यबाट बचत संकलन गरेर अनियमितता गर्ने सहकारीको संख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ ।कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता नगरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर महानगरपालिकाले अनुगमन तीव्र बनाएको हो । वडागतरुपमा सहकारी संख्याका आधारमा अनुगमन गरिनेछ । नागरिकलाई ठगी गर्ने सहकारीको संख्या धेरै रहेको उजुरी आएकाले अनुगमन गर्न लागिएको कामपाका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । 

‘पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ’, उनले भने । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख पोखरेलले बताए । अनुगमनका क्रममा कामपाले दिएको निर्देशन पालना नगरे सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने कामपाको तयारी छ । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् ।

पछिल्लो २० दिनयता रकम ठगी गरेको भन्दै उजुरी गर्नेको संख्यामा कमी आए पनि विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकमात्रामा ठगीका उजुरी परेकाले कामपाले अनुगमन गर्ने तयारी गरेको हो । कामपामा एक महिनाअघि दैनिक १५ वटासम्म उजुरी आउने गरेको थियो । अहिले दैनिक तीन(चार वटा उजुरी आउने गरेको बताइएको छ । अनुगमनको काम तत्काल सुरु गर्न टोली गठनको तयारी भइरहेको छ । कामपा क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । उक्त उजुरी संख्या चालु आर्थिक वर्षको हालसम्मको हो । प्रमुख पोखरेलका अनुसार, परेका उजुरीमध्ये सबैभन्दा बढी कामपा भित्री वडाबाट आएका छन् ।  

उजुरी परेका एक सय १८ मध्ये ४७ सहकारीलाई कामपाले पटक पटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि वचतकर्ताको रकम फिर्ता नगरेकाले पुनः उजुरी आएपछि कामपाले प्रहरीको जिम्मा लगाएको छ । बाँकी ७१ सहकारी सञ्चालकसँग कामपाले छलफल गरी वचतकर्ताको रकम असुल उपर गरिदिनका लागि प्रयास गरिरहेको छ । हाल कामपाका एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी वचत तथा ऋण सहकारी छन् ।