शनिबार, आश्विन १७ गते २०८३

माछा तथा मासुमा आत्मनिर्भर बन्न सरकारले अनुदान दिने 

पौष २७, २०७९ बुधबार
माछा तथा मासुमा आत्मनिर्भर बन्न सरकारले अनुदान दिने 


माछा तथा मासुमा आत्मनिर्भर बन्न   सरकारले ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । कृषि मन्त्रालयले जारी गरेको ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयन एकीकृत कार्यविधि, २०७९’ अन्तर्गत रहेर सरकारले माछा तथा मासुमा आत्मनिर्भर बन्नका लागि किसानलाई ५० प्रतिशतसम्म अनुदान दिने भएको हो ।
कार्यविधि अन्तर्गत रहेर सरकारले गरिबी न्यूनीकरण तथा मासुमा आत्मनिभरताको लागि बाख्रा पालन प्रवर्धन कार्यक्रम तथा माछा लक्षित उत्पादन वृद्धि कार्यक्रम सञ्चालनमा ल्याएको हो । यी कार्यक्रममार्फत सरकारले कृषकलाई विभिन्न रुपमा अनुदान दिने भएको छ ।

सरकारले मासुमा आत्मनिर्भरताको लागि बाख्रापालन प्रवद्र्धन कार्यक्रम अनुदानको रुपमा पहिलो वर्ष कार्यक्रमको लागि छनोटमा परेका ५० स्थानीय तहमा दुई पकेटका दरले ३ वर्ष ६०० बृहत्तर पकेट सञ्चालन गर्ने छ । त्यसैगरी, कृषकहरुलाई प्रदान गरिने अन्य सहुलियतहरु उत्पादन क्लष्टहरु एकीकृत रुपमा प्रवाह गर्नुपर्नेछ । कृषकहरुले उन्नत जातको बाख्राको संख्या थप्न नयाँ कृषक उन्नत बाख्रा पालनामा सहभागी गराउन, उन्नत जातका बाख्रा खरिदमा मूल्यको ५० प्रतिशत अनुदान पाउन सक्ने छन् । उक्त कार्यक्रममार्फत् मन्त्रालयले तराई, भित्री मधेश तथा पहाडी जिल्लाहरुका स्थानीय तहहरुमा प्रति स्थानीय तह औषतमा २ पकेटका दरले २०० पकेट विस्तार हुने अपेक्षा गरेको छ । प्रतिपकेट ५ समूह र प्रति समूह २० कृषक गरी २० हजार कृषक परिवार बाख्रा पालनमा आबद्ध हुने र जिल्लाहरुमा खरी क्रस बाख्रा प्रवद्र्धन गरी प्रति कृषक १० माउ बाख्रा व्यवस्थापन गरी २ लाख माउ बाख्रा स्टक तयार हुने कार्यविधिमा उल्लेख छ ।

यो स्टकबाट प्रति २ वर्षमा ८ लाखवटा पाठापाठी उत्पादन भई बजारीकरण हुने र प्रति वर्ष ३ लाख ६० हजार बाख्राको रिप्लेस्मेन्टस्टक तयार हुँदै जाँदा प्रति वर्ष १ लाख ७८ हजार खसी बोका बजारीकरणमा आउने अपेक्षा गरेको छ ।
त्यसैगरी, माछा लक्षित उत्पादन वृद्धि कार्यक्रममार्फत् गोष्ठी भ्रमण अनुगमन र प्रशासनिक कार्यमा विनियोजन बजेटको बढीमा ५ प्रतिशत मात्र खर्च गर्नुपर्न छ । कृषकलाई प्रदान गरिने अनुदान साना सिंचाई पूर्वाधार विकास तथा अन्य अनुदानहरु कानूनअनुसार प्रदान गरिनेछ । नयाँ पोखरीहरुको निर्माणमा लागत मूल्यको ५० प्रतिशत र पुराना पोखरीहरुको मर्मत सम्भारमा लागतको २५ प्रतिशतसम्म अनुदान दिइने कार्यविधिमा उल्लेख गरिएको छ । उक्त कार्यक्रम सञ्चालनले वार्षिक २ हजार मेट्रिक टन दाना उतपादन हुने गरी २ स्थानमा मत्स्यादाना उद्योग स्थापन हुने अपेक्षा गरेको छ । मन्त्रालयअनुसार कार्यक्रमले वार्षिक थप २ करोड ५० लाख शुद्ध नश्लको फ्राईभुरा उत्पादन हुने छ ।