राष्ट्रिय सहकारी महासंघको ३० औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राज्यले सहकारीलाई उचित सम्बोधन गर्नुपर्ने बताएका छन् । आफुपनि सहकारीको सदस्य रहेको स्मरण गर्दै सहकारी मैत्री कानुन निर्माणका लागि आफ्नो स्थानबाट हुने सहयोग गर्न आफू तत्पर भएको प्रतिवद्धता उनले जनाए ।
कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताउँदै राज्यसँग हालेमालो गरेर अभियान अगाडि बढ्ने बताए । पूर्व राज्यमन्त्री तथा महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजीसरह सहकारीलाई समान अवसर दिएको र विश्वका विभिन्न देशले अनुशरण गर्न थालेको जनाए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुङ्गामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताए । ‘सहकारी अभियानलाई भरोसायोग्य क्षेत्रका रुपमा रुपान्तरण गर्न हामी सबै लागि पछौं । जोखिम न्युनिकरण गर्दै जानुपर्नेछ,’ उनले भने ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘सहकारीको सुदृढिकरणका लागि केन्द्रीय संघहरुबाट विभागले काम थाल्नेछ ।’ उनले अभियानको सरकारको परनिर्भरता घटाउनका लागि महासंघले वैज्ञानिक शुल्क निर्धारण गरेकोमा स्वागत गरे ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान गर्ने उल्लेख गरे । वर्तमान अवस्थामा सहकारीलाई तरलता व्यवस्थापनमा राज्यलाई सहयोग गर्नुपर्ने उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तरतला व्यवस्थापनमा सहयोग गर्छ तर सहकारीमा सहयोग गर्ने कुनै निकाय भएन उनले भने, ‘राज्यका विभिन्न कोषमा भएको पैसालाई सफ्ट लोनका रुपमा राष्ट्रिय सहकारी बैंकमार्फत् लगानी गर्नै व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सके सहकारी क्षेत्रलाई विद्यमान संकटबाट बचाउन सकिन्छ ।’
महासंघका उपाध्यक्ष रमेश पोखरेलले विकासवादी अर्थतन्त्रको रुपमा सहकारी अभियान रहेको जनाए ।
साधारण सभामा महासंघका अध्यक्ष मिनराज कडेलले बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा आ.व. २०७९/०८० को बार्षिक कार्यक्रम तथा बजेट पास गरिएको थियो ।