भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीलाई सम्पत्ति शुद्धिकरणको थलो बनाउन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको वार्षिक साधारणसभामा बोल्दै उनले सम्पत्ति शुद्धिकरण विरुद्धको अभियानमा साथ दिने संकल्प गर्न सहकारीहरुलाई अपील गरे ।
सम्पत्ति शुद्धिकरण नियन्त्रण अभियानको सहकारी पनि एउटा पक्ष भएकाले त्यसमा साथ दिनुपर्ने उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि विभिन्न प्रयास गरेका छन्’, उनले भने ‘कतै सहकारीको कारणले मुलुक ब्ल्याकलिष्टमा त पर्दैछैन ? सहकारीमा वित्तीय जोखिम बढ्दै गएको छ, यसलाई नियन्त्रण गर्न हामीले संरचना बनायौं कि बनाएनौं ?’
मुलुक यसकै कारणले ब्ल्याकलिष्टमा पर्छ कि भन्ने चिन्ता छ भन्दै उनले ग्रे जोनमा पर्न सक्ने संभावना भने अधिक रहेको औंल्याए । मुलुकका लागि बचतऋण सहकारी आवश्यक भएपनि, सदस्यको बचतको सुरक्षा नभएको प्रश्न उठेको भन्दै रेग्मीले बचत र कर्जाको सुरक्षाको विषयमा गम्भीर भएर छलफल गर्न सुझाव दिए । मुलुकमा गरिबीको दर १८–२० प्रतिशत भएपनि, बहुआयामिक गरिबीको दर २८ प्रतिशतको हाराहारीमा रहेकाले यो दरलाई घटाउन सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
दशौं योजनाले गरिबीलाई आय आर्जनमा अवसर, मानव विकास सूचांक र सामाजिक बञ्चितिकरण जस्ता ३ वटा तहमा बाँडेको र त्यसलाई घटाउन पनि सहकारीको भूमिका बढाउनुपर्ने उनको भनाई छ । स्वाधिन अर्थतन्त्र, रोजगारी सिर्जना, गरिबी न्यूनिकरण, वित्तीय पहुँच, वित्तीय समावेशिता र वित्तीय साक्षरता बढाउन सहकारीको भूमिका राम्रो भएपनि समस्या आउन नदिन सबैपक्ष चनाखो हुनुपर्ने उनले जनाए । सहकारी न्यून आयवर्ग र गरिब वर्गको अभियान भएपनि सम्भ्रान्त वर्गको पकडमा त गएको छैन ? भन्ने उनले प्रश्न गरे ।
सहकारीले उत्पादन गरेको वस्तुले एकैपटक बजार नपाउने भन्दै उनले पहिला प्रशोधन, भण्डारण र त्यसपछि बजारिकरणमा जानुपर्ने बताए । मुल्यश्रृंखला अभिवृद्धिमा सहकारीलाई कहाकहाँ र कसरी गराउन सकिन्छ, त्यो चुनौतिको विषय रहेको छ । उनले भने,‘उद्यमशीलता प्रवद्र्धनमा राम्रो डकुमेन्ट तयार गर्नुस्, त्यसमा हाम्रो सहयोग रहन्छ ।’ वित्तीय सहकारी आवश्यक भएपनि धेरै विकृति यहीँ रहेकाले यसलाई मर्यादित र पारदर्शी बनाउनु लाग्नुपर्नेमा उनले जोड दिए । माथिको अंग सुध्रिएमात्र तलको अंग सुध्रने भन्दै उनले सुशासन अब केन्द्रिय संघहरुबाटै शुरु गर्नुपर्ने औल्याए ।