दर्शन बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै अध्यक्ष दर्शनधारीले समग्र विश्वसँगै नेपाल पनि आर्थिक मन्दीमा परेको उल्लेख गर्दै यसबाट बाहिर निस्कन सहकारी अभियानको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । सहकारीहरूले सदस्यलाइ उत्पादनशील गतिविधिमा केन्द्रित गराउनाले समग्र देशकै उत्पादकत्व वृद्धि हुन गइ आयात नियन्त्रण भइ स्वदेशमै उत्पादित वस्तु खपत हुँदा विनिमय सञ्चिति बढ्न जाने उल्लेख गरे ।
बैंक तथा वित्तीय संस्थाले बढि ब्याज दिएर निक्षेप तान्दा त्यसको प्रभाव सहकारी क्षेत्रमा परेको र सहकारीमा भन्दा बढी ब्याजदर बैंकले दिएकाले निक्षेप बैंकतर्फ पलायन भएको भन्दै सम्बन्धित निकायले यसमा ध्यान पुर्याउनुपर्ने उल्लेख गरे ।
संस्थाले आ.व. २०७८।७९ को अन्त्यसम्म ९ हजार ७९८ सदस्य पुर्याएको छ । सो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो । संस्थाले प्रविधिलाइ आत्मसात गर्ने क्रममा वेब बेस्ड एभरेष्ट सफ्टवेयरको प्रयोग गर्दै आएको र त्यसको प्रयोगबाट सदस्यहरूले संसारको जुनसुकै ठाउँबाट आफ्नो खातामा रहेको रकमको जानकारी लिन सक्नुका साथै दर्शन एपमार्फत सदस्यहरूले घरमै बसी जानकारी लिनसक्ने बताए ।

सदस्यहरूको सुविधालाइ मध्यनजर गरी कीर्तिपुर, स्वनित्य र चन्दागिरि सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । संस्थाको आ.व. २०७८।७९ मा शेयरपुँजी २८.३१ प्रतिशतले वृद्धि गरी १८ करोड ८ लाख, बचतमा १०२.६६ प्रतिशतले वृद्धि भइ ८४ करोड ५४ लाख र ऋण लगानी ८६.२२ प्रतिशतले वृद्धि भइ १ अर्ब १२ करोड २३ लाख पुगेको छ । संस्थाले त्यस अवधिमा ८० लाख ९६ हजार खुद मुनाफा गरेको छ।
संस्थाले चालु आ.व.मा समेत सहकारीबिच एकिकरणको कार्यक्रमलाइ निरन्तरता दिने र संस्थाको सेवाकेन्द्र र कार्यक्षेत्र विस्तार गरी उपत्यकाभर बनाउने भएको छ ।
सभामा सचिव यशोदा राइले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जेनु महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक निलम महर्जनले प्रतिवेदन प्रस्तुन गर्दै भाखा नाघेको र खराब ऋण व्यवस्थापन गर्न कार्ययोजना ल्याउनुपर्ने बताए ।
