आइतबार, कार्तिक ९ गते २०८३

बागमती प्रदेशमा शुरु भयो संयुक्त अनुगमन, पहिलो चरणमा समस्याग्रस्त १० सहकारी लिष्टमा

पौष २०, २०७९ बुधबार
बागमती प्रदेशमा शुरु भयो संयुक्त अनुगमन, पहिलो चरणमा समस्याग्रस्त १० सहकारी लिष्टमा

बागमती प्रदेश अन्तर्गतका सहकारीहरुको अनुगमन अघि बढाइने भएको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव संयोजक रहेको प्रदेश स्तरीय अनुगमन तथा निरीक्षण समितिले पहिलो चरणमा १० वटा सहकारी संस्थाको अनुगमन गर्ने निर्णय गरेको हो ।  

समितिका संयोजक समेत रहेका मन्त्रालयका सचिव बलराम निरौलाले तत्कालका लागि प्रदेश स्तरमा अनुगमनका लागि मन्त्रालयका ३ जना अधिकृतको संयोजकत्वमा ३ वटा टोली गठन भएको जानकारी दिए । मन्त्रालयका अधिकृत रोहित पोखरेल, खगेन्द्र पौडेल र मदन शिवाकोटीले ती टोलीको नेतृत्व गर्नेछन् । टोलीमा अभियानका तर्फबाट पनि कर्मचारीहरुको सहभागिता रहनेछ । ती टोलीले प्रथम चरणमा बागमती प्रदेशमा समस्याग्रस्त देखिएका १० वटा संस्थाको अनुगमन गर्नेछन् । 

त्यसैगरी जिल्ला स्तरीय अनुगमन समिति गठन गर्न सबै जिल्लामा परिपत्र समेत पठाइएको उनले जानकारी दिए । प्रदेश अन्तर्गतका १३ जिल्लाबाट अनुगमन समितिको विवरण आइसकेपछि माघ १५ गतेबाट फुल फ्लेजमा प्रदेश र जिल्लागत स्तरमा अनुगमनलाई अघि बढाइने संयोजक निरौलाले जानकारी दिए ।  

प्रत्येक जिल्लाबाट ५ देखि १० जनासम्म कर्मचारी अनुगमनमा राख्न खटाउन सकिने व्यवस्था छ । ती कर्मचारीहरुको विवरण सम्बन्धित निकायले प्रदेश समितिलाई पठाउनुपर्नेछ ।

त्यसैगरी जिल्लामा कुनकुन संस्थाको अनुगमन गर्ने हो त्यसको लिष्ट समेत अनुगमन समितिले प्रदेशमा पठाउनुपर्नेछ । 
अनुगमनमा सहभागि कर्मचारीको न्यूनतम योग्यता १२ कक्षा उत्तीर्ण हुनुपर्नेछ । उनीहरुले आधारभूत लेखा तालिम लिएको हुनुपर्नेछ । कर्मचारीहरुलाई अनुगमनका सूचकको तालिम भने मन्त्रालयले दिनेछ । त्यसपछि ती कर्मचारीहरुलाई अनुगमनमा खटाइने भएको छ ।

बागमती प्रदेशले केहि समय अघि सहकारी संघसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको थियो । जस अन्तर्गत परिच्छेद ५ मा प्रदेशस्तरीय र जिल्लास्तरीय अनुगमन तथा निरिक्षण समिति गठन गर्ने र ती समितिले सहकारी संस्थाहरुको नियमित एवं सघन अनुगमन गर्ने व्यवस्था गरिएको छ ।