राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न हुन गइरहेको छ । भोलि हुन गइरहेको वार्षिक साधारणसभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गर्दैछ ।
बैंकको अध्यक्ष लगायत ११ विभिन्न पदका उमेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ७ पदका लागि मतदान हुने भएको छ । श्रोतका अनुसार बैंकको सञ्चालक समितिमा राजनीतिक भागबण्डा भएको थियो । जसमध्ये एमालेको भागमा ८ जना, काँग्रेसको भागमा ५, माओवादीको भागमा ४ र समाजवादीलाई १ जना परेको थियो । एमालले पाएको ८ सिट भने सुरक्षित भइसकेको छ । त्यसैगरी माओवादीको भागमा परेको सञ्चालकहरुमध्ये महिला खुला सदस्य तर्फ पार्वती थापा निर्विरोध भइसकेका छन् भने अन्य ३ पदका लागि भने निर्वाचन हुने देखिएको छ । पार्टीले बागमतीको खुला सदस्यतर्फ मनोज थापा, कालीबहादुर महतारा र चन्द्रकुमारी पराजुलीलाई आधिकारिक उमेदवारका रुपमा पठाएको थियो । तर दलभित्रै अन्य आकांक्षी देखिएकाले पार्टीका आधिकारिक उमेदवार बाहेक अन्यले पनि उमेदवारी दिएका छन् । त्यसैगरी काँग्रेसले पनि माधव दुलाल, माधवलाल देवकोटा, शिवा थापा, तारा गुरुङ र गणेशचन्द्रलाई शिफारीस गरेकोमा शिवा थापा र तारा गुरुङ निर्विरोध भएपनि अन्यमा असन्तुष्ट आकांक्षीहरुले उमेदवारी दिएका छन् । जसमा केदार मानन्धर, मनोज भण्डारी र ध्रुवनारायण यादवले पनि सञ्चालकमा उमेदवारी दिएका हुन् ।
सबैभन्दा रमाइलो पक्ष पार्टीको आधिकारिक उमेदवारी नतोकिएकाले पनि केबी उप्रेतीको प्यानल भन्दै उनको फोटो राखेर प्रचारप्रसार गरिरहेका छन् । सहकारी बैंक सहकारी संघसंस्थाको विकास र प्रवद्र्धनका लागि स्थापना भएको भएपनि राजनीतिक भागबण्डाका आधारमा सञ्चालक तोकिनु दुःखद भएको सहकारीकर्मीहरुको भनाई छ । सहकारी क्षेत्र गैर राजनीतिक क्षेत्र भएतापनि राजनीतिक पहुँचका आधारमा प्रत्यक्ष हस्तक्षेप हुनु राम्रो संकेत नभएको एक सहकारीकर्मीले बताए । सहकारी बुझेका र बैंकलाई नयाँ उचाई दिन सक्ने व्यक्तिलाई सञ्चालकमा चुन्नुपर्ने उनको धारणा छ । तर राजनीतिको फेरो समाएर बालकोटदेखि सानेपा धाउनेहरुले सञ्चालक पड्काउनाले अभियानलाई सही गति दिन नसक्ने उनको दावी छ ।