शुक्रबार, कार्तिक ७ गते २०८३

“बैंकलाई नयाँ भिजनसहित अगाडि बढाउन मैले उमेदवारी दिएको हुँ”

पौष ११, २०७९ सोमबार
“बैंकलाई नयाँ भिजनसहित अगाडि बढाउन मैले उमेदवारी दिएको हुँ”


राष्ट्रिय सहकारी बैंकको निर्वाचन सहितको १९औं वार्षिक साधारणसभा पौष १६ गते हुनगइरहेको छ । साधारणसभाबाट बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ सञ्चालक चयन हुने प्रक्रियामा छ । विभिन्न ११ पदका उमेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदका लागि मतदान हुँदैछ । बैंकको खुल्ला सञ्चालक पदका लागि दावेदारी प्रस्तुत गर्दै जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापाले उमेदवारी दिएका छन् । सञ्चालक पद क्रम संख्या ६ मा उमेदवारी दिएका थापा के.बी. उप्रेतीको संयुक्त प्यानलका तर्फका आधिकारिक उमेदवार हुन् । बैंकको खुल्ला सञ्चालक पदमा उमेदवारी दिएका थापा आफुसँग व्यवस्थापनको ज्ञान र सहकारी क्षेत्रको अनुभव भएको बताउँछन् । आफुले सँगालेको ज्ञान, अनुभव र क्षमतालाई उपयोग गरी सहकारी बैंकलाई थप उचाईमा लैजाने बताउँछन् । त्यसका साथै सदस्य संस्थाहरुको सबलिकरणमा पनि बैंकको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजना रहेको उनले सुनाए । सञ्चालक पदका उमेदवार थापासँग विविध आयाममा नेपालपत्रन्यूजले गरेको कुराकानीको सारसंक्षेपः

 

राष्ट्रिय सहकारी बैंकको खुल्ला सञ्चालकमा तपाईंको उमेदवारी किन ?

नेपालको सहकारी अभियानले ६ दशक पार गरिसकेको छ । संख्यात्मक हिसाबले झण्डै २८ हजार सहकारी मुलुकमा खुलेका छन् । ८० लाख मानिस सहकारीमा आवद्ध भएका छन् । मुलुकभरका सबै सहकारी संघसंस्थाको एकमात्र बैंकको रुपमा राष्ट्रिय सहकारी बैंक रहेको छ । एक ढंगले सहकारी बैंक अगाडि बढिराखेको छ । यसै सन्दर्भमा बैंकको १९औं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । आफुले व्यवस्थापनतर्फ दक्षता हासिल गरेको र बैंकलाई नयाँ भिजन तथा मिसन दिनुका साथै वित्तीय विश्लेषण गरेर नयाँ ढंगले लैजान मजस्ता व्यक्तिको बैंकमा आवश्यकता भएको महशुस मैले गरेको छु । म विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा रहेर काम गर्दै आएको छु । मैले व्यवस्थापनमा एमबीए, एमबीएस दुवै गरेको छु भने व्यवस्थापन विषयमा विद्याबारिधि गरिरहेको छु ।

बैंकको सातै प्रदेशमा शाखा सञ्जाल भएतापनि विशेषत बागमती प्रदेशमा सहकारीको संख्या धेरै छ । भोलिका दिनमा ती संस्थालाई वित्तीय सेवाका अतिरिक्त लबिइङ तथा एड्भोकेसी, ब्राण्डिङ, संस्थाको क्षमता विकास गर्ने तालिम कार्यक्रम सञ्चालन गर्ने लगायतका धेरै काम गर्नुपर्ने भएकोले ती काम गर्न म लागि पर्छु र बैंकलाई अझै सबल, सक्षम र व्यवस्थित बनाउने कुरामा मेरो ध्यान जानेछ । मानव संशाधनको वृत्तिविकासका साथसाथै सहकारी क्षेत्रको बलियो बैंक बनाउन आफ्नो तर्फबाट योगदान पुर्‍याउने नै छु । अर्कोतर्फ मुलुक आर्थिक मन्दीको अवस्थामा छ । मुलुकभरका बैंक तथा वित्तीय संस्थामा तरलता संकट छ । संघ वा बैंकको सदस्यता लिएका संस्थाहरु अप्ठ्यारोमा परेको अवस्था छ । भोलिको दिनमा नेतृत्वदायी भूमिकामा बसेपछि संस्थाहरुको समस्या समाधानमा पनि मेरो भूमिका रहनेछ । अहिले कतिपय संस्थामा तरलता तथा व्यवस्थापकिय समस्या देखिएको छ । बैंकको प्रतिनिधित्व गर्दै समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु भने हिसाबले मैले बैंकको खुल्ला सञ्चालक पदमा उमेदवारी दिएको हुँ ।

तपाईंले के.बी. उप्रेतीकै प्यानलबाट उमेदवारी दिनुमा पनि विशेष कारण होला नि ?

के.बी. सर सहकारी क्षेत्रमा लामो अनुभवप्राप्त कुशल व्यवस्थापक हुनुहुन्छ । उहाँले प्रारम्भिक संस्था हुँदै, जिल्ला संघ, बैंक र महासंघसम्म नेतृत्व प्रदान गरिराख्नु भएको छ । त्यसकारण उहाँको नेतृत्वलाई स्वीकार नगर्ने कुरै हुँदैन । बैंकमा अझै उहाँको योगदानको आवश्यकता छ । र त्यसमा हामीले पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ भन्ने हिसाबले उहाँकै प्यानलबाट मैले उमेदवारी दिएको हुँ ।

नेपालका सहकारीले जे जे समस्या भोगिरहेको छन्, नेतृत्वमा पुगेपछि ती समस्या समाधानमा तपाईंको भूमिका के रहन्छ ?

सहकारीहरुको एकमात्र बैंक नै यहि हो । वित्तीय सेवा प्रदान गर्ने क्रममा बैंक सरह नै नेफ्स्कुनले पनि काम गरिराखेको छ । जिल्लागत बचत संघ र केन्द्रिय संघहरुले पनि प्रभावकारी वित्तीय सेवा दिइराखेका छन् । तर बैंक एउटा मात्र भएकाले बैंकबाट अलि बढि अपेक्षा गर्नु स्वाभाविक हो । 
अहिले सहकारी क्षेत्रमा देखिएको समस्या सहकारीको मात्रै मौलिक समस्या होइन । साढे २ वर्ष कोभिडको कहरले सिंगो देश नै आक्रान्त भयो । त्यसको प्रभाव नेपालमा मात्रै नभई यूरोप, अमेरिका, चीन र भारतदेखि विश्वभर नै पर्‍याे । व्यापारव्यवसाय देखि मानिसको जीवनपद्धतिलाई कोभिडले प्रभाव पार्‍याे । अर्कोतर्फ विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ निक्कै बढेको छ । सरकारले पेट्रोलियम पदार्थमा गर्नुपर्ने भुक्तानी दुइतीन गुनाले बढ्न गयो । जसका कारण अर्थतन्त्रमा नै उतारचढाव आयो । सहकारीमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्र बनाउने भनिएको छ । तर देश लामो समयदेखि उत्पादनमुखी हुन सकेको छैन । हामी उपभोगमुखी अर्थात् विश्वबजारबाट वस्तु आयात गर्ने मात्र भयौं । निर्यातमा हामीले ध्यान नै दिन सकेनौं । त्यसका कारण दशकौदेखि हाम्रो देशको ब्यालेन्स अफ पेमेन्ट असन्तुलित बन्दै गएको छ । त्यसको पनि दिर्घकालिन असर अहिले समग्र अर्थतन्त्रको समस्या हो । जीर्ण भएको अर्थतन्त्रलाई मजबुत् बनाउनुपर्ने आवश्यकता अहिले छ । विषम परिस्थिति भएकाले हामीले अभियानको तर्फबाट पहल गरिराखेका छौं । त्यसका साथै सरकारबाटै रेस्क्यु प्लान ल्याउन आवश्यक छ । वित्तीय संकट घोषणा गर्ने हो कि, राष्ट्र बैंक र अर्थमन्त्रालयबाट नयाँ खालको योजना अघि सारेर अर्थतन्त्रलाई बचाउनेतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । आर्थिक मन्दीलाई कसरी न्यूनिकरण गर्ने र वित्तीय क्षेत्रमा देखिएका तरलता संकटलाई समाधान गर्ने राज्यको तर्फबाट ठोस योजना बनाउन हाम्रो अपिल छ ।

अर्कोतिर, बैंकहरुले नै सोच अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । सहकारीले दिने ब्याजको दरभन्दा बैंकले दिने ब्याजको दर बढी भएको छ । त्यसैगरी सहकारीको भन्दा बैंकको कर्जाको दर बढी छ । बैंकले ग्राहकलाई आकर्षण गर्ने गरी निक्षेपमा ब्याजदर प्रदान गरिराखेका छन् । धेरै बैंकहरुले नगद लाभांश दिन पनि सकिराखेका छैनन् । समग्र बैंकिङ क्षेत्रमा समस्या परेपछि सहकारी क्षेत्रमा त्यसको प्रभाव रहन्छ नै । सहकारीमध्ये केहिमा व्यक्तिगत लापरवाहीका कारणले समस्या आएको छ भने सहकारीमा समस्या देखिनुमा देशव्यापी आर्थिक मन्दीको प्रभाव नै हो । सबै संस्थालाई पैसा दिएर मात्रै समस्या समाधान हुँदैन । अहिलेको अवस्थामा सबै पक्षले संयमता अपनाउनुपर्छ । संस्था सञ्चालन गर्ने सञ्चालकहरु धैर्यवान् हुुनपर्‍याे । सदस्यलाई अहिलेको वस्तुगत अवस्थाका बारेमा जानकारी गराउनुपर्‍याे । सचेतना दिनुपर्‍याे भने सदस्यसँग सहकार्य गर्नुपर्‍याे । अहिले संस्थाहरुको लगानी उठ्नै सकेको छैन । ऋण लिएका सदस्यहरुलाई अनुरोध गरेर जतिसक्दो चाँडो चुक्ता गर्न अपिल गर्नुपर्‍याे । अहिले बचत निर्माण हुन सकिराखेको छैन । यस्तो अवस्थामा सहकारीमा आवद्ध आम सदस्मा विश्वासको वातावरण बनाउनुप¥यो । अहिलेको संकट केहि समयपछि सामान्य अवस्थामा जान्छ नै ।

सहकारीप्रति सदस्यको विश्वास घट्दै जाँदा संस्थाहरु अप्ठ्यारोमा परेका छन्  । विश्वासको बातावरण बनाउने काममा महासंघ, बैंक र संघहरुको भूमिका कमजोर देखिन्छ नि ?

तपाईंले भनेको कुरा सान्दर्भिक छ । सहकारी अभियानले ६ दशक पार गरिसक्यो, तर पनि गुणात्मक वृद्धिमा हाम्रो ध्यान पुग्न सकेको छैन । संख्यात्मक हिसाबले सहकारी धेरै भएपनि गुणात्मक हिसाबले हामीले वृद्धि गर्न सकेका रहेनछौं । जसको कारण विश्वासको संकट हामीले देखिराखेका छौं । महासंघमार्फत हामीले सहकारी सचेतना र सहकारी शिक्षा अभियान चलाउनैपर्छ । सहकारी भनेको एउटा गुठी, समाज र परिवार हो भन्ने कुरा सदस्यलाई बुझाउनुपर्छ । सबै सदस्य संस्थाको मालिक हुन् भन्ने कुरा आत्मबोध गराउन सकियो भने सहकारीमा समस्या नै आउँदैन । यो पक्षमा हाम्रो कमजोरी भएको छ । महासंघमार्फत राष्ट्रिय अभियान चलाउनुपर्छ ।

सहकारी अभियालने ६ दशक पार गरे पनि उत्पादन, बजारीकरण र प्रशोधनका क्षेत्रमा काम गर्न सकेन नि ?

मुलुकभर  सञ्चालनमा आएका सहकारीमध्ये ८५ प्रतिशत भन्दा बढी संस्था सहकारी ऐन २०४८ अन्तर्गत सञ्चालनमा आएका हुन् । किन सहकारीले उत्पादन, बजारीकरण र प्रशोधनको क्षेत्रमा काम गर्न सकेन भन्दा सहकारी ऐन ०४८ मा कहीँकतै पनि सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने उल्लेख नै थिएन । जसका कारण बहुउद्देश्यीय, उपभोक्ता, कृषि जे नाम राखेपनि बचतऋणको कारोबारमा नै सीमित भए । सहकारी ऐन २०७४ को प्रस्तावनामा नै सहकारीमार्फत समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने भनिएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुनुपर्‍याे । त्यसका लागि उत्पादन बजारीकरण र भण्डारणमा ध्यान दिनुपर्‍याे । यति धेरै उर्वरभूमि छ तर उत्पादनमा जान सकिएको छैन । सहकारीहरु पनि शहरकेन्द्रित भए । तराईका फाँटहरु पुरै खाली छन् । कृषि, उत्पादन र उपभोक्ता सहकारी बनाएर हामीले क्लष्टर–क्लष्टरमा काम गर्ने हो भन्ने सम्भव छ । सहकारी ऐन २०७४मा अहिले पनि कमजोरी छ । सहकारीलाई उत्पादनमा जान अहिले पनि बन्देज लगाइएको छ । ४ दर्जनको हाराहारीमा अन्य ऐनहरुले सहकारीलाई उत्पादन र व्यवसायमुखी हुनबाट रोक लगाएको छ । यसले गर्दा सहकारीहरु बचतऋण कारोबार फोकस हुन बाध्य छन् । अर्कोतर्फ ऐन संशोधनमा महासंघले जुन ढंगले लबिङ्ग गर्नुपर्ने हो त्यो ढंगले गर्न सकेको छैन । एकाध सहकारीले उत्पादनका लागि प्रयास त गरेका छन् तर सिंगो अभियान नै उत्पादनमा जोडिएर आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिराखेका छैनन् । सधैं पैसा किन्ने र पैसा बेच्ने कामले मात्र सहकारीको मूलमर्म पूरा हुँदैन ।

सहकारी बैंकलाई आवद्ध सबै संघसंस्थाको मन जित्न सक्ने कसरी बनाउन सकिन्छ ।

मैले पनि बैंकको हरेक गतिविधिलाई सूक्ष्म तरिकाले हेरिराखेको छु । १५ वर्षसम्म बैंकको वर्तमान अध्यक्ष के.वी. उप्रेती प्रबन्ध सञ्चालक हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा बैंक अगाडि बढिराखेको थियो । त्यसपछि उप्रेती सर बैंकको अध्यक्ष हुनुभयो । अहिले दोश्रो कार्यकालको लागि बैंकको अध्यक्ष हुँदै हुनुहुन्छ । यो बीचमा बैंक हिजो भन्दा आज बलियो र व्यवस्थित हुँदै गएको मैले देखेको छु । बैंकमा केबी सरले राम्रो खालको लिडरसीप दिइराख्नु भएको छ । उहाँ लिडरमात्र नभई १५ वर्षसम्म बैंकको म्यानेजमेण्टमा समेत बसेर काम गरेको हुनाले उहाँ एउटा कुशल व्यवस्थापक पनि हुनुहुन्छ । के.बी. सरले बैंकको अध्यक्ष सम्हालेपछि चार्टर्ड एकाउन्ट बद्री गुरागाईंले बैंकको व्यवस्थापन सम्हाल्नु भएको छ । बद्री सर आएपछि बैंकले अझ स्मार्ट तरिकाले काम गरिराखेको छ । बैंक प्रविधितिर उन्मुख भइराखेको छ । मैले व्यक्तिगत रुपमा बैंकको सेवाप्रतिको गुनासो सुन्न परेको छैन । र बैंक हिजोभन्दा आज राम्रो बन्दै गएको देखेको छु । विगत साढे २ वर्षको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा देखा परेको समस्याले सहकारी क्षेत्रलाई पनि असर पुर्‍याउनु स्वाभाविक हो । तथापि बैंक अग्रगामी तरिकाले अघि बढेको र उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंकको रुपमा बढेको मेरो बुझाई छ ।

सहकारी बैंकमा १५ हजार भन्दा बढी सदस्य छन्, सातै प्रदेशमा एकैपटक मतदान हुँदैछ, आम सहकारीलाई तपाईंको अपिल के छ ?

सहकारी बैंक आजभन्दा भोलि अझै राम्रो हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सहकारी बैंकले आफ्नो ट्यागलाईन बनाएको छ । उत्कृष्ट बैंकिङ सहितको सहकारी बैंक भनेको छ । जसरी वाणिज्य बैंकले सम्पूर्ण वित्तीय सेवा ग्राहकहरुलाई दिइराखेको छ । त्यसैगरी सहकारी बैंकले पनि सदस्य संस्थालाई उत्कृष्ट सेवा दिनसक्नुपर्छ । त्यसका लागि बैंकको भिजन, मिसन, गोल, अब्जेक्टिभ, स्ट्राटेजिक प्लानिङ र अपरेशन प्लान बनाउँछ, त्यो प्लान बनाउन एक्सपर्टको आवश्यकता पर्छ । म आफैंले पनि १७ वर्षदेखि सहकारी क्षेत्रमा काम गरिराखेको छु । २० वर्षदेखि शिक्षा क्षेत्रमा छु । म अहिले पनि कलेजको प्रिन्सिपल छु । मैले फाइनान्सियल म्यानेजमेन्टमा एमबीएस गरेको छु । मार्केटिङ सेक्टरमा एमबिए गरेको छु । मैले हासिल गरेको ज्ञान र अनुभवलाई सहकारीको पोलिसी निर्माण र विशिष्ट खालको योजना बनाउँदा प्रयोग गर्छु नै । ममा भएको ज्ञान र सीपलाई बैंकमा खर्चेर नयाँ उचाईमा पुर्‍याउन सक्छु भन्ने आत्मविश्वास ममा छ । अहिले काठमाडौंका सहकारी संस्थालाई परेको समस्यामा म आफैं फ्रन्टलाइनमा बसेर एड्भोकेसी गरिराखेको छु । काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्ष र केन्द्रिय बहुउद्देश्यीय सहकारी संघको सञ्चालक भएर पनि म काम गरिरहेको छु ।

बैंकले सदस्य संस्थाको गुणस्तर वृद्धिको लागि ब्राण्डिङ्गको कार्यक्रम ल्याएको छ । ती कार्यक्रममा बसेर बैंकका सदस्य संस्थालाई ब्राण्डिङ्गमा सहभागि गराएर उत्कृष्ट संस्था बनाउने देखि संस्थाहरुलाई सुशासनमा सञ्चालन गर्न सहयोग पु¥याउने मेरो योजना छ । त्यसैगरी मैले केन्द्रिय बहुउद्देश्यीय संघमा पनि शिक्षा तथा तालिम उपसमितिको संयोजक भएर काम गरेको छु । सहकारी क्षेत्रमा स्कीलफुल म्यानपावरको अभाव छ । त्यसैले अन्यत्रबाट खोजने भन्दा पनि आफैंले स्कीलफुल जनशक्ति उत्पादन गर्नुपर्छ भनेर लागिराखेका छौं । नेफ्स्कुनले पनि त्यसको शुरुवात गरेको छ । सहकारी बैंकले पनि त्यसको पहलकदमी लिनेछ । म्यानेजरहरुमा एक्सपर्टिज र सञ्चालकहरुमा लिडरशीप विकास गर्ने कुरामा पनि म योजना दिन सक्छु । त्यतिमात्र नभइ अहिले सबै सहकारी बचत तथा ऋणमा केन्द्रित भएका छन् । अब सहकारीलाई उत्पादन र बजारीकरणमा लैजानुपर्छ । सबै प्रकृतिका संस्थालाई उत्पादनमा जोड्न परियोजनामा आधारित सहुलियत कर्जा उपलब्ध गराउन भूमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि योजना बनाउन पनि म सहयोग गर्न सक्छु । त्यसका साथै सबै सहकारीलाई बैंकमा जोड्नुपर्छ । राज्यले दिने सहुलियत कर्जा बैंकमार्फत सदस्य संस्थालाई दिन पहल गर्नुपर्छ । यी र यावत काम गर्न मैले आफूलाई सक्षम उमेदवारका रुपमा लिएको छु र सबै सहकारीकर्मीहरुलाई मतदान गरी विजयी गराउनुहुनु म हार्दिक अपिल गर्छु ।