आइतबार, आश्विन १८ गते २०८३

एमसीसी खारेज गर्न, उखु किसानकाे बक्याैता तुरून्त तिर्न र भारतीय एसएसबीमाथि कारबाही गर्न चार किसान संगठनकाे माग

श्रावण १६, २०७८ शनिबार
एमसीसी खारेज गर्न, उखु किसानकाे बक्याैता तुरून्त तिर्न र भारतीय एसएसबीमाथि कारबाही गर्न चार  किसान संगठनकाे माग

काठमाडौँ । चार किसान सङ्गठनहरू अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षरमा २०७८ साउन १६ जारी संयुक्त ब्यक्तब्यमा  एमसीसी खारेज गर्नुपर्ने, उखु किसानकाे बक्याैता ब्याज हर्जानासहीत तुरून्तै किसानले पाउनु पर्ने र दाचुर्लाका यूबा भारतका एसएसबी जवानले तुइन काटीदिदा खाेलामा खसेर दार्चुला ब्यास क्षेत्रका एक यूवा  बेपत्ता भएकाे घटनाकाे छानबिन गरी अपराधीमाथि कडा कारबाही गरिनुपर्ने जाेडदार माग गरेका छन्र 

प्रेसवक्तव्यमा उनीहरूले एमसिसी सम्झौता तुरुन्तै खारेज गर्नुपर्ने, सर्लाही, रौतहत र नवलपरासीका उखुकिसानको बक्यौता असुली गर्दै किसानमारा उद्योगपतिमाथि कारबाही हुनुपर्ने र महाकाली नदीमा तुइन पार गर्दै गर्दा बेपत्ता भएका नेपाली युवाको बारेमा सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको यति बेला संसदबाट पारित गर्न प्रस्तुत गर्न लागिएको अत्यन्तै राष्ट्रघाती एमसिसी सम्झौता, उखुकिसानको लामो समयदेखिको बक्यौता मूल्य तथा भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाइएका दार्चुलाका नेपाली युवाको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ ।

१. हामी नेपाल र नेपाली जनताको हकहित र सार्वभौम तथा स्वाधीन अधिकार विरुद्ध लक्षित अपमानजनक र आपत्तिजनक एमसिसी सम्झौता तुरुन्त खारेज गरियोस् र कथित विकासको नाममा नेपाल र नेपालीमाथि कुनै सौदाबाजी र खेलवाड नगरियोस् भन्ने जोडदार माग गर्दै नेपाललाई बाह्य शक्तिको अखाडा बनाउने तथा नेपालको असंलग्न परराष्ट्र नीति विरुद्ध जाने यो एमसिसी सम्झौता रद्ध गरियोस् भन्ने पुनः जोडदार माग गर्दछौँ । नेपाली उत्पादनका श्रोतसाधन जमिन, जल, जङ्गल, जडिबुटी सबै कृषि उत्पादनका साधान किसानवर्गको सामूहिक हातमा दिइयोस् र नेपाली किसान र नेपालको रक्षा गरियोस् भन्ने जोडदार माग गर्दछौँ ।

२. उखुकिसानसँग पटक पटक सम्झौता गरेर पनि वर्षौंदेखि उखुको करोडौ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ, त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखुकिसानको वर्षौंदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस् र किसानमारा ठग उद्योगपतिमाथि कडा कानुनी कारबाही गरियोस् भन्ने जोडदार माग गर्दै भदौ ५ गतेदेखि उखुकिसानले बक्यौता उठाउन गर्ने आन्दोलनप्रति हामी चार किसान सङ्गठन जोडदार ऐक्यबद्धता जनाउँछौँ ।

३. भारतीय एसएसबी जवानले तुइनको डोरी काटिदिएपछि बेपत्ता पारिएका दार्चुलाका नेपाली युवाको बारेमा यथार्थ विवरण सार्वजनिक गरियोस् र क्रुर भारतीय एसएसबी जवानलाई कारबाहीको दायरामा ल्याउन ठोस पहल गरियोस् भन्ने हामी चार किसान जोडदार माग गर्दछौँ ।”