काठमाण्डौ । पुनः उत्तर कोरियाले दुइटा छोटो दूरीका ब्यालिस्टिक मिसाइलकाे परीक्षण प्रहार गरेको सियोलको सेनाले जनाएको छ । उत्तर काेरियाले एक वर्षदेखि शृंखलाबद्ध ढंगले यस्ता हतियार परीक्षण गर्दै रहेकाे छ ।
यस अघि गत महिना मात्रै सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो । अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको पनि उत्तरले दाबी गरेको छ ।
दक्षिण कोरियाका सेनाका संयुक्त चिफ अफ स्टाफले भने - ‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देख्याे' ।
यस सम्बन्धमा प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको अमेरिका र दक्षिण कोरियाले महिनौंदेखि चेतावनी दिँदै आएका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफका अनुसार दुवै देशले मंगलबार संयुक्त हवाई अभ्यास गरेका थिए र कोरियाली प्रायद्वीपमा अमेरिकी बी ५२ एच रणनीतिक बमवर्षक तैनाथ गरेका थिए ।
लामो दूरीको भारी बमवर्षक बिमान यस अभ्यासको एक अंश थियो जसमा एफ २२ र एफ ३५ लडाकुविमानसहित सहित अमेरिका र दक्षिण कोरियाको सबैभन्दा उन्नत जेटहरू समावेश थिए । पछिल्लो प्रक्षेपण ह्वाइट हाउसले प्योङयाङले रुसी निजी सैन्य समूह वाग्नरलाई हतियार पुर्याएको बताएको केही घण्टापछि आएको हो ।एजेन्सी