आइतबार, कार्तिक ९ गते २०८३

कर्जा सुचना केन्द्र गठन प्रक्रिया अन्तिम चरणमा: मन्त्री श्रेष्ठ

पौष ९, २०७९ शनिबार
कर्जा सुचना केन्द्र गठन प्रक्रिया अन्तिम चरणमा: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले  कर्जा सुचना केन्द्र गठन प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ  (नेफ्स्कून) को ३१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले  कुरा बताएकी हुन् ।

कर्जा सुचना केन्द्रलाई एक स्वतन्त्र र स्वायत्त निकायको रुपमा विशिष्टिकृत सहकारी संस्थाको ढाँचामा स्थापना र सञ्चालनको लागि मन्त्रालयले छलफल अगाडी बढाएको समेत सो अवसरमा उनले बताइन् । त्यसैगरी सहकारी क्षेत्रले हासिल गरेको उपलब्धीलाई संस्थागत गर्दै यस क्षेत्रको समस्या र चुनौतीको समाधान गर्न सक्ने गरी रणनीति तयार गरी सहकारीलाई सिमान्तकृत वर्गसम्म पुर्याइ उत्पादन र उत्पादकत्वमा जोड्न मन्त्रालयले रणनीतिलाइ अन्तिम चरणमा पुर्याएकाे समेत सो अवरसमा उलेख्य गरिन् ।

मुलुकको सहकारी अभियान बचत ऋणमा मात्रै सिमित भएको भन्दै उनले केहि संस्थाको खराब नियतका कारण बचतकर्ताको गुनासो बढ्दै गएको जनाइन् । समस्याग्रस्त संस्था बढ्दै जानुले यो क्षेत्र झन् जोखिमयुक्त हुदै गएको अनुभूति भएको उनले बताइन् । समस्या नीतिमा हो कि नियतमा भन्दै उनले सहकारीको आधारभुत मूल्य, मान्यतया र सिद्धान्त बाहिर रहेर गरिएको केही क्रियाकलापको कारण सहकारीमा समस्या आएको र आम नागरिकको विश्वास घट्दै गएको समेत सो अवसरमा  बताईन् । संस्थागत सुशासनमा ध्यान नदिने हो भने सहकारी अभियान राज्यको नियन्त्रणबाट बाहिर जाने हो कि भन्ने प्रश्न उनले गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रको दिगो विकासको सोच सहित मन्त्रालयको जिम्मेबारी सम्हालेसँगै ३५ बुँदे एकीकृत निर्देशन, विद्यमान समस्या समाधानका लागि १६ बुँदे निर्देशन जारी भएको बताउदै  बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष कार्यान्वयमा आएको, जसले बचत तथा ऋण सहकारी संस्थामा एउटा कोशेढुंङ्गाको काम गर्ने विश्वास व्यक्त गरिन्। कर्जा असुली न्यायाधिकरण मन्त्रालयमा पठाइएको, सहकारी नीति २०७९ स्वीकृतिको चरणमा रहेको, सहकारी प्रवर्धन कोषको काम मन्त्रालय मातहत अगाडि बढिसकेको समेत जानकारी उनले दिन् । 

सहकारी सचिव डा दामोदर रेग्मीले  सहकारीले पैसा उठाउने र बैंक फाइनान्सले जस्तै लगानी गर्ने नीति लिएर मुलुकमा समृद्धि नआउने बताए । बैंक तथा वितीय संस्थाले जस्तै कारोवार सहकारीले गर्ने हुदाँ वित्त, अर्थ र मौद्रि नीतिलाई समेत पालना गर्नु पर्ने सचिव रेग्मीले बताए । सहकारीलाई अर्थतन्त्र विकासको प्रमुख एक खम्बाको रुपमा राखिएको स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्नेमा सहकारीको भूमिका अहम् रहने उनको भनाई छ।  

सचिव रेग्मीले सहकारी मार्फत स्वरोजगारी, स्वालम्बन र आन्तनिर्भर अर्थतन्त्र निर्माणका लागि सहकारी मार्फत पुँजी परिचानमा जोड दिन आग्रह गरे । अब सहकारी क्षेत्रले हिजोका गलत प्रवृत्तिलाई त्यागेर सुशासित, पारदर्शी, सदस्यप्रति उत्तरदायित्व र कानुनी उत्तरदायित्व पालना गर्दै अगाडि बढ्न सहकारी अभियान लागि पर्नुपर्नेमा जोड दिए । 

संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले विभागको निर्देशन विपरित नेफ्सकून लगायत केन्द्रीय संघहरुमा संचालकहरु बसेको भन्दै आपत्ति जनाए । उनले सहकारीमा सुशासन केन्द्रीय संघहरुबाट लागू हुनुपर्नेमा जोड दिए । बचत तथा ऋण सहकारीको स्थीरीकरण कोषलाई प्रभावकारी र ब्यापक बनाउनुपर्ने र यसका लागि कार्यविधि परिवर्तन गर्नुपर्ने जनाए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले   बचत तथा ऋण सहकारी अभियानमा शुरु भएको स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषले भोलिको दिनमा अभियानलाई सुदृढ र सुरक्षित बनाउन मद्दत पुग्ने भएकोले संघमा आवद्ध सबै सदस्य स्तरीकरण कार्यक्रममा जोडिन र कोषमा योगदान गर्न आग्रह गरे । अहिलेको आर्थिक मन्दी र विश्वव्यापी रुपमा आएको वितीय संकटले यसको महत्व झन् बढाएको भन्दै उनले स्थिरीकरण कार्यक्रममा सबैं संघ संस्था आबद्ध हुन उनले जोड दिए । केहि सहकारीको बदमासीका कारण सिंगो सहकारी अभियानलाई नै समस्या पारेको उनको भनाई छ ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेती,राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री केशव बडाल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) का कार्यकारी उपाध्यक्ष खगेन्द्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष एवं सभाका सभापति  परितोष पौड्यालले  सदस्य, संस्था र अभियानलाई एकसुत्रमा बाध्नका लागि संघको विहंगम दृष्टिकोण, संस्सार, समृद्धि र समाज परिलक्षित हुनुपर्ने भन्दै त्यसतर्फ संघको पहलकदमीबारे प्रस्तुतीकरण गरेका थिए। साधारण सभामा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।