बागमती प्रदेश अन्तर्गतका स्थानीय तहमा कार्यरत सहकारी हेर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहको सहकारी शाखामा कार्यरत कर्मचारीहरूमा सहकारी व्यवस्थापन तथा सहकारी अनुगमन सम्बन्धि ९ दिने तालिम दिएको हो ।
मन्त्रालयले केहि समय अघि सहकारी संघसंस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड जारी गरेसँगै स्थानीय तहका सहकारी शाखाका कर्मचारीहरूलाइ सक्षम बनाइ सहकारीहरूको नियमन अनुगमनका साथै सबलिकरणमा सघाउ पुर्याउन तालिम आयोजना गरेको मन्त्रालयका सचिव बलराम निरौलाले बताए ।
बागमती प्रदेशमा पहिलोपटक यस प्रकारको तालिम आयोजना गरिएको जनाउँदै यसले कर्मचारीहरूको अनुगमन क्षमता अभिवृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । विशेषगरी पर्ल्स एमओएलएमसीपीए र सदस्यकेन्द्रियता सूचक जस्ता विषयमा सहभागिहरूलाइ सिकाइएको थियो । ९ दिवसीय तालिममा पहिलो ३ दिन सहकारीका आधारभूत ज्ञान, ३ दिन पर्ल्स लगायतका सूचक र बाँकी ३ दिन फिल्ड भिजिट र प्रयोगात्मक सिकाइ प्रदान गरिएको थियो ।
सहभागी कर्मचारीहरूमा सहकारीबारे सामान्य ज्ञान मात्र रहेकोमा सिकाइले सहभागीहरूमा आत्मविश्वास बढाउनुका साथै कार्यक्षेत्रमा गएर परिणाम दिनसक्ने गरी प्रशिक्षित भएको उनको भनाइ छ । पहिलो चरणको तालिम कार्यक्रममा १३ जिल्लाबाट २८ जना कर्मचारी सहभागी भएको र क्रमशः ४ चरणमा गरेर प्रदेशभरका सबै स्थानीतहका जनशक्तिलाइ तालिम प्रदान गरिने सचिव निरौलाले जानकारी दिए ।

तालिममा सहभागी सिन्धुलीको कमलामाइ नगरपालिका सहकारी शाखाकी प्रमुख इन्दिरा थापाले मन्त्रालयले दिएको तालिम उपलब्धीमूलक भएको धारणा राखिन् । सहकारी शाखामा भएपनि आफु त्यस क्षेत्रका बारेमा अनभिज्ञ जस्तै रहेको र तालिमपछि धेरै कुरा सिकेको प्रतिक्रिया दिइन् । त्यसअघि सहकारी प्रशिक्षण केन्द्रबाट ७ दिने टिओटि तालिमबाट सीपविकास सम्बन्धी सिकाइ पाएको भएपनि प्रदेशमा सञ्चालित क्षमता अभिवृद्धि तालिमले भने कार्यक्षेत्रका लागि आवश्यकता र व्यवहारिक ज्ञान हासिल गरेको उनले जनाइन् ।
सिकाइलाइ व्यवहारमा उतार्ने र कार्यक्षेत्र मातहत रहेको सहकारीहरूको नियमन, अनुगमन र प्रवर्धन गरी सहकारी संस्थाहरूलाइ उद्देश्य अनुरूप सञ्चालन गराउन सिकाइलाइ प्रयोग गर्ने उनले बताइन् ।
त्यसैगरी तालिमका अर्का सहभागि दक्षिणकाली नगरपालिका सहकारी शाखामा कार्यरत मनोज रिमालले पनि तालिम उपलब्धीमूलक भएको बताए । तालिममा शुन्यबाट शुरू गरेर सैद्धान्तिक देखि संस्थाहरूको अनुगमन गर्न सक्नेसम्मको सिकाइ प्राप्त भएको उनले बताए । तालिमले पर्ल्स अनुगमन, लेखा व्यवस्थापन, संस्थाहरूको वित्तीय अवस्था, सदस्यता वृद्धि र समग्र सूचकहरूलाइ केलाउन सक्ने बनाएको उनको भनाइ छ ।
तालिमपछि फिल्डमा गएर संस्थाहरूको अनुगमन गर्न र कैफियत रिपोर्ट तयार गरी सुधारका लागि निर्देशन दिनसक्ने सम्मको क्षमता अभिवृद्धि भएको उनले सुनाए ।