बुधबार, भाद्र ३ गते २०८३

काला कामहरू पुष १ गते वा अरू कुनै दिन भए पनि जनता र देशका लागि बाेझ

पौष १, २०७९ शुक्रबार
काला कामहरू पुष १ गते वा अरू कुनै दिन भए पनि जनता र देशका लागि बाेझ


काठमाण्डौ । हाम्रो देशको इतिहासमा पुष १ गतेको दिनलाई सीमित र शिशु प्रजातन्त्रको पनि गला निमोडिएको दिनकोरुपमा लिइन्छ । राणाहरुको एकतन्त्री हुकुमी शासनबाट मुक्ति मिलेको करीब एक दशक पुग्न लाग्दा राजाद्वारा प्रदत्त संबिधान अनुसार नै २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसको दुइ तिहाई बहुमतको सरकार बनेको थियो । गोर्खा परिषद प्रमुख प्रतिपक्षमा थियो । नेपाल कम्युनिष्ट पार्टीले पनि संसदमा चार सीट ल्याएर उपस्थित भएको थियो । पार्टीले सात सालको क्रान्तिदेखि नै बढ्दो बाह्य हस्तक्षेप, भारतीय सेनाको नेपाली उत्तरी चेकपोष्टरुमा उपस्थिति, क्याबिनेट र राजदरबारमा भारतका प्रतिनिधिको उपस्थिति र दबाब  तथा सरकारका राष्ट्रघाती र परामुखपेक्षी  अबाञ्छित सन्धि सम्झौता गर्ने जस्ता गम्भीर कमजोरीहरु औंल्याउने काम भने कम्युनिष्ट पार्टीले खाशगरी कमरेड पुष्पलालले औंल्याउने र खबरदारी गर्ने काम गर्दै संघर्षशील रहेकाे थियो । यस प्रकारको परिप्रेक्षमा पुष १ गतेका दिन जन निर्वाचित सरकारलाई राजा महेन्द्र स्वयंले दिएको आफ्नो निमित्त अबशिष्ट अधिकारको ब्यवस्था गरिएको संबिधानको धारा ५५ को उपयोग गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए । अनि काग्रेस कम्युनिष्ट धेरै नेता कार्यकर्ताहरुलाई पक्राउ गरी बन्दी बनाउने, पक्राउन पूर्जी जारी गर्ने साथै राजनीतिक दलहरु र तिनका जनबर्गीय संगठनहरुलाई अबैध घोषणा गर्ने दमनकारी कदमहर चालेका थिए । त्यसपछि झण्डै तीन दशकसम्म चलेको राजाको निरंशुक पञ्चायती ब्यवस्थाकाे माध्यमबाट देश र जनतालाई गुमराहमा राखेर राष्ट्रियताको दुहाइ दिदै निरंकूशता चलाइयो । 
अन्ततः २०४६ सालकाे संयुक्त जनसंघर्षले त्याे ब्यबस्थाकाे अन्त्य भयाे तर पंचायती कालका काला कामहरू – भ्रष्टाचार, सुदखाेरी, तस्करी, कालाेबजारीले अझ बढी प्रश्रय पाउँदे गयाे, शाेषण दमन बढ्रदै गयाे, परनिर्भरता पटक्कै कम भएन । ब्यवस्था फेरिए पनि शाेषणकाे अबस्था फेरिएन । कागजीरूपमा संबैधानिक भनिएका राजाले फेरि दाेश्राे ०१७ साल लाद्ने धृष्टता गरे । अनि त्यसका बिरूध्द पुनः २०६–६३ सालमा बृहत जन संघर्षकाे सुत्रपात भयाे र त्यसले राजतन्त्रकाे अन्त्य त गर्याे तर राजनतन्त्रले जन्माएका बिकृति बिसंगतिहरू घट्नुकाे साटाे झन् बढ्दै गए । काला दिनले ल्याएका काला कामहरूमा कुनै कमी भएन । त्याे क्रम अझ चाैतर्फीरूपमा बढ्रदै गयाे र बढिरहेकाे छ । नेपाल जनताका लागि जुन जाेगी पनि कानै चिरेकाे सरह मात्र भयाे ।
त्यसैले अहिले पनि जनता चाैतर्फी जटील समस्याले पिराेलिएका छन् । काला कामहरूबाट सिर्जित काला दिनहरूबाट नेपाली जनता र राष्ट कहिले मुक्त हुने हुन् अझै अनिश्चित छ ।