बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले सहकारी भित्र जालो रहेको र त्यसलाई चिर्न नसकेको बताएका छन् । मन्त्रालययले बनाएको ‘सहकारी संघसंस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९’ जारी गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सहकारी क्षेत्र सुधारका लागि आफुले धेरै काम गर्ने योजना बनाएको भएपनि जालोको कारण गर्न नसकेको बताए ।
सहकारी रजिष्ट्रारको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने तयारी गरेपनि अर्थ मन्त्रालयको स्वीकृत नपाउँदा रोकिएको मन्त्री पौडेलले जानकारी दिए । मन्त्रालयकै स्रोत र कर्मचारीले काम गर्छौं भन्दा पनि अर्थमन्त्रालयले स्वीकृत नदिँदा सम्र्पक कार्यालय खोल्न नसकेको उनको भनाई छ । ‘राष्ट्रिय वा प्रदेश तहको नेतामा राष्ट्र र जनताका लागि काम गर्ने सकारात्मक सोच नआएसम्म यस्ता अड्चनहरु आउने रहेछन्’, उनले भने ‘सहकारीमा सुधार आउन रामराज्य नै आउनु पर्छ । नत्र सम्भव देखिएन । ’
सहकारीको अनुगमन मन्त्रालयले गर्न सम्भव नभएकाले संयुक्त रुपमा अनुगमन समिति गठन गरी अघि बढ्दा समस्या समाधान गर्न सकिने विश्वासका साथ मापदण्ड ल्याइएको उनले बताए । पारिवारिक रुपले चलेका र संस्थागत सुशासन कमजोर भएका सहकारी समस्यामा परेको बताउँदै उनले भने, ‘सहकारीमा अध्यक्ष भएर नाफा कमाउन आएको कि सदस्यको सेवा गर्न ?’ अनुगमन जति प्रभावकारी रुपमा बढाउन सक्यो त्यति नै अभियान सुदृढ हुने उनको विश्वास छ ।
मन्त्रालयले सहकारी दर्ता बन्द नगरेको जानकारी दिँदै उनले विगतको सहकारी दर्ता विनियमलाई संशोधन गरेर नयाँ विनियम ल्याइएको र अब सहकारी खोल्न त्यति सहज नभएको जनाए । मन्त्रालय खोलेर बस्ने तर संस्था दर्ता नदिने भन्ने आरोप लागेको बताउँदै उनले भने ‘हामीले दर्ता खुल्ला राखेका छौं । तर विनियममा धेरै अप्ठ्यारा कुरा समेटिएकाले संस्था दर्ता गर्न त्यति सहज छैन ।’
उनले सहकारीमा विश्वासको वातारण बनाउन आवश्यक रहेको बताउँदै सहकारीमा समस्या भन्दा हल्ला बढी भएको बताए । ‘एक जनाले सहकारीमा पैसा निकाल्छ अनि बाटोमा फर्किंदै गर्दा मैले त पैसा निकालेँ तँ पनि निकाल भन्दै हिड्छ’ मन्त्री पौडेलले भने, ‘यहि हौवाको कारण सहकारीमा समस्या आएको हो ।’ उनले केहि सहकारीहरु भने सेवामुलक भन्दा नाफामुखी समेत देखिएको बताए ।
सहकारी रजिष्ट्रारको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने तयारी गरेपनि अर्थ मन्त्रालयको स्वीकृत नपाउदा रोकिएको मन्त्री पौडेलले जानकारी दिए । सहकारी क्षेत्रमा धेरै काम गर्ने चाहाना भएपनि अपेक्षा अनुसार काम गर्न नसकिएको उनले स्वीकार गरे ।