आइतबार, कार्तिक ९ गते २०८३

गैर समुदाय र व्यवसायिक संस्थामा मात्र तरलता संकट अध्यक्षः कँडेल

मंसिर १८, २०७९ आइतबार
गैर समुदाय र व्यवसायिक संस्थामा मात्र तरलता संकट अध्यक्षः कँडेल


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अठारौं बार्षिक साधारण सभा सम्पन भएको छ ।  सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सभाको उद्घाट्न गर्दै समुदायमा आधारित सहकारी संस्थामा तरलता संकट नभएको बताए ।  

गैर समुदाय र व्यवसायिक रुपमा चलेका संस्थामा तरलता संकट रहेको  उनको भनाई छ । उनले संजालमा सदस्य नरहेको भनी सहकारी अभियान पन्छिन नहुने बताउदैं एउटा संस्थामा समस्या आउने वित्तिकै समग्र सहकारीलाई असर पर्ने भएकोले सबै सहकारीलाई संघहरुमा आबद्ध गराउने यदि आबद्ध नभएमा नियमनकारी निकायलाई कार्वाहीको लागि शिफारिस गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघका उपाध्यक्ष एवं सभाको अतिथी शान्ति अधिकारीले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशभरीकै उत्कृष्ट संघ रहेको कुरा बताउदै अरु संघहरुको सबलीकरणको लागि संघहरुको संस्थागत शुद्धिकरण आवश्यक रहेको बताईन ।  उनले  बचत तथा ऋण सहकारीमा देखिएको समस्याहरुको समाधानको लागि सहकारीमा साकोस ऐनको आवश्यकता रहेको  उनको भनाई छ  ।

सभाका अतिथि एवं  नेपाल बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले सहकारीमा जस्तो ठुलो संगठन नेपालमा अरु संगठन  नरहेको बताउँदै  राजनीतिक विभाजनले गर्दा सहकारी अभियान कमजोर रहेको बताए । बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक केशव डंगालले सहकारीमा वित्तीय सुशासन कायम गर्नुपर्नेमा कुरा जोड दिए ।  सहकारीमा कमजोर वित्तीय सुशासन र सन्दर्भ व्याजदरका कारणले हाल सहकारीले तरलता संकटको सामना गर्नु परेको उनको भनाई छ ।

bkt1.jpg

जिल्ला सहकारी संघका भक्तपुरका अध्यक्ष केदार खड्काले सहकारी प्रवद्र्धन कोष संचालनमा ल्याउन शिर्ष संघहरुले पहल गर्नुपर्ने विचार  राखे । साथै उनले हालको समस्यासँग जुध्न संघहरु बिचको एकताको खाँचो रहेको कुरामा जोड दिए । संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले संघले विषम परिस्थितिमा पनि सन्तोषजन आर्थिक कारोबार गर्न सकेकोमा खुशी व्यक्त गर्दै हालको तरलता संकटको स्थायी समाधानको लागि सदस्य संस्थाहरुको सहभागितामा तरलता व्यवस्थापन कोष खडा गर्नुपर्ने विचार राखे ।

सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले हालको सहकारीको विकृतीमा राज्यले ध्यान नदिएको अवस्थामा प्रारम्भिक संस्थाहरुले सहकारी अभियानको भुमिका खोजेको  बतए ।  सहकारी ऐन कानुन अन्तर्गत मात्र सहकारी संचालन भएको भए हालको समस्या नै नआउने प्रष्ट पार्दै सहकारी ऐन कानुनको परिपालना गर्न र गराउन सम्बद्ध पक्षहरु लाग्नुपर्ने विचार उनको छ । संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं सहकारी अभियान र सरकार मिलेर मात्र सहकारीका समस्याहरु समाधान गर्न सक्ने बताए ।

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७८।७९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गरे । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७८।७९ को वित्तीय प्रगति प्रतिवेदन पेश गरेका थिए । सभाबाट आ.व.२०७८।७९ मा १ अर्व ६९ करोड ४९ लाख ३६ हजारको वासलात र २ करोड ७० लाख ६९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०७९।८० मा संघको वासलात १ अर्व ८६ करोड ६१ लाख ५४ हजारको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७८।७९ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश  गरेका थिए ।