बुधबार, भाद्र ३ गते २०८३

दासत्वजन्य श्रमिक व्यापार, श्रमिक अत्याचार र श्रमिकहत्या

मंसिर १६, २०७९ शुक्रबार
दासत्वजन्य श्रमिक व्यापार, श्रमिक अत्याचार र श्रमिकहत्या

Slavery.jpg

ज्याेतिलाल बन

सोह्रौदेखि उन्नाइसौ शताब्दीसम्म खासगरी संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागर तटीय क्षेत्र अन्तर्गतका मुलुकहरुमा दास व्यापार अत्यधिक मौलाउन पुगेको थियो । दासहरुको ठूलो स्रोत अफ्रिकी मुलुकहरु थिए, त्यहाँबाट जाहाजका जाहाज अफ्रिकीहरुलाई साँङ्लाले बाँधेर ल्याइन्थ्यो र उल्लेखित मुलुकहरुमा बेचिन्थ्यो । त्यसै गरी कतिपय एसियायी देशका मानिसहरु र पश्चिमी द्वीपसमूहका मूलवासिहरुलाई पनि त्यसरी नै दास बनाएर बेचिन्थ्यो । त्यतिबेलाका दासहरु मानिसको स्वरुपका जीवीत वस्तुहरु थिए । तिनलाई मालिकहरुले पशु जस्तै बाँधेर राख्थे, बीसौं घंटासम्म काममा जोताउथे, थोरै चित्त नबुझे पनि पिटिपिटी मार्थे, मरणासन्न अवस्थामा पु¥याउथे र बेचबिखन गर्थे । 

ठ्याक्कै त्यही प्रकारको दास व्यापार त अहिले छैन । तर दासत्वजन्य श्रमिक व्यापार, श्रमिक हत्या र श्रमिकमाथिको पाशविक अत्याचारले भने अहिले पनि व्यापकता पाई रहेकै छ । यसलाई नयाँ खाले दासतामा परिभाषित गर्न सकिन्छ । 

Slavery.jpg

नेपालकै सन्दर्भमा कुरा गर्दा ‘वैदेशिक रोजगारी’ को नामबाट खाडीका मुलुकहरु, मलेसिया, इजरायल, ईजीप्ट, कोरिया आदि देशमा काम गर्न गएका श्रमिकहरु लगभग ५० प्रतिशत नवदासत्वको अवस्थामा श्रम गर्न विवस छन् । यस्ता श्रमिकहरुमा पुरुषहरुभन्दा घरेलुश्रममा संलग्न महिलाहरु बढी बँधुवा अवस्थामा रहेर निकै प्रताडित हुनु परेका धेरै घटनाहरु सुन्न पाइन्छ । 

माथि उल्लेखित मुलुकहरुमा पनि जाने हैसियत नभएका नेपाली श्रमिकहरु भारतका विभिन्न ठाउँहरुमा काम गर्न जान्छन्, जस्मा १६ वर्ष मुनीका बालश्रमिकहरु पनि उल्लेख्य संख्यामा रहेको जानकारी पाइन्छ । यस्ताहरुमध्ये लगभग ७५ प्रतिशत निकै कम पारिश्रमिकमा १२ देखि १६ घंटासम्म अत्यन्त कडा श्रम गर्न विवस छन् । 

अहिले पनि भारतमा देहव्यापारका लागि नेपाली महिलाहरु उल्लेख्य संख्यामा बिक्री भैरहेको जानकारी पाइन्छ, यो अत्यन्त निकृष्ठतम दासत्वको अवस्था हो । 

भारतीय श्रमबजारमा गएर दासत्वजन्य श्रममा संलग्नहरुमध्ये पहिलोमा मध्ये र पूर्वी तराईका अधिकांश दलित समुदाय (जो ९६% भूमिहीन छन्) का श्रमिकहरुको संख्या निकै ठूलो रहेको छ । दोस्रो कर्णाली र सुदूर पश्चिम पहाडाका अधिकांश दलित र केही कम गैह्रदलित समुदा रहेको पाइन्छ । तेस्रोमा दाङदेखि कञ्चनपुरसम्मका गरिव (अधिकांश मुक्तकमैया परिवारका) थारु समुदाय तथा दलित समुदाय रहेका छन् । त्यसपछि चौथोमा नेपालका अन्य सवै क्षेत्रका धेरै जसो भूमिहीन र गरिव किसान परिवारका सदस्यहरु रहेका छन् ।

(मेरो स्थलगत अध्ययनमा आधारित : ज्यातिलाल बन)