ओरेण्टल सहकारीका बचतकर्तालाइ रकम मागदावी अद्यावधिक गर्न भन्दै सरकारले सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र मागदाबी अद्यावधिक गर्न दोस्रोपटक आह्वान गरेको हो । समितिको अनलाइन पोर्टलमा विवरण भरी उक्त माग दावी गर्न सकिने सूचनामा उल्लेख छ ।
सहकारीका बचतकर्ताको साँवा, ब्याज, सेयर र अपार्टमेन्टको समेत गरी १० अर्बभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको दाबी समितिको छ । २०७४ सालमा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेपछि सात हजार ६ सय ४६ जनाले पैसा डुबेको भन्दै माग दाबी गरेका थिए । २०७४ चैत्र मसान्तसम्म ओरेण्टलले साँवाब्याजसहित निक्षेपकर्तालाई करीब १६ अर्ब १ करोड दायित्व भुक्तानी गर्नुपर्ने देखिन्छ ।