काठमाण्डौ महानगरभित्र सञ्चालिन कतिपय सहकारी संस्थामा समस्या देखिएपछि महानगरले सहकारी हेर्ने एक छुट्टै समिति बनाउने भएको छ । महानगर कार्यसमितिको मंगलबार बसेको बैठकले यस्तो समिति बनाउने निर्णय गरेको हो ।
पछिल्लो केहि समययता काठमाण्डौ महानगरपालिकाभित्र सञ्चालित सहकारीमा धेरै समस्या देखिएको, कतिपय संस्थाले सदस्यको बचत समेत फिर्ता गर्न नसकेको, उद्देश्यमूलक काम नगरी अन्य क्रियाकलाप गरेको गुनासो बढेपछि महानगरका मेयर बालेन्द्र शाहले यसप्रति चासो देखाएका हुन् ।
पछिल्लो समय महानगर कार्य क्षेत्र रहेका धेरै सहकारीले सदस्यको बचत फिर्ता नगरेको भन्दै दैनिक उजुरी समेत पर्ने गरेका छन् । सहकारी संस्थाले बचत रकम फिर्ता नगरेको गुनासो बढेसँगै काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको हो ।
सहकारीको अनुगमन प्रभावकारी बनाउनका लागि छुट्टै समिति बनाउन लागिएको मेयर बालेन्द्र शाहले जानकारी दिए । उक्त प्रस्ताव पारित भएसँगै अब महानगर पालिकाले विज्ञ सहितको अनुगमन समिति गठन गर्नेछ । सहकारीको ब्यालेन्ससिट समेत हेर्नुपर्ने भएकाले समितिमा चाटर्ड एकाउन्टेन्ट लगायतलाई विज्ञका रुपमा राख्न सकिने उनले बताए । समितिले महानगरपालिका मातहतका करिब १९ सय सहकारीको अनुगमन गर्नेछ ।