शनिबार, आश्विन १७ गते २०८३

सहकारीमा वित्तीय संकट आउनुमा सञ्चालकहरुको महत्वाकांक्षा बन्यो कारक

कार्तिक २७, २०७९ आइतबार
सहकारीमा वित्तीय संकट आउनुमा सञ्चालकहरुको महत्वाकांक्षा बन्यो कारक

 

पछिल्लो केहि महिनायता सहकारी क्षेत्रलाई वित्तीय संकटले गहिरोसँग घेरेको छ । शहरकेन्द्रित वित्तीय कारोबार गर्दै आएका देउराली, गौतमश्री, बराह लगायत केहि ठूला सहकारीले सदस्यको बचत फिर्ता गर्न नसकेपछि त्यसको नकारात्मक प्रभाव सबै सहकारीमा पर्न गएको छ । एकातिर विश्वव्यापी रुपमा अर्थतन्त्रमा आएको मन्दीले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको छ । अर्कोतफ बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजीको कमी एवं बढ्दो व्यापारघाटा र रेमिट्यान्समा आएको गिरावटले वित्तीय बजार कसिलो बन्दै गएपछि ती संस्थाले सदस्यको नियमित बचत समेत फिर्ता गर्न नसक्दा सहकारी क्षेत्रप्रति विश्वासको संकट पैदा भएको छ । जसका कारण अहिले धेरै सहकारी संस्थाहरुलाई वित्तीय व्यवस्थापन गर्न कठिन बनेको छ । 

बजारकेन्द्रित केहि सहकारीबाट शुरु भएको वित्तीय संकटले क्रमशः समुदाय र सदस्यकेन्द्रित सहकारीलाई समेत गाँज्न थालेको छ । एकाध सहकारीले विश्वसनीयता गुमाउँदा त्यसको नकारात्मक प्रभाव सिंगो सहकारी क्षेत्रमा देखिन थालेको छ । त्यसैगरी कतिपय सहकारी संस्थाका सञ्चालकमा रहेको अधिक महत्वाकांक्षाले गर्दा पनि संस्थाहरु वित्तीय संकटमा फसेका छन् । सदस्यहरुको दैनिक कारोबारलाई चलायमान गराउन नसक्दा त्यसको असर सहकारी क्षेत्रले व्यहोर्नु परेको छ । लामो समयदेखि सञ्चालनमा रहेका, ठूलो परिमाणमा कारोबार गर्दै आएका र धेरै सेवा केन्द्र भएका सहकारी संस्था नै समस्यामा परेपछि सदस्यहरुमा सहकारीमा पैसा राख्दा त डुब्ने रहेछ भन्ने मनोविज्ञान बनेको छ । यसले गर्दा सदस्यहरुलाई आवश्यक नभएपनि बचत फिर्ता लिने, मुद्दती बचत नवीकरण नगर्ने, दैनिक, साप्ताहिक र मासिक रुपमा गर्दै आएका बचत गर्न हिचकिचाउन थालेका छन् । नयाँ बचत नआउने, पुरानो बचत फिर्ता हुँदै जाने र लगानीमा भएको रकम समेत मन्दीका कारण निर्धारित समयमा  साँवाब्याज नउठ्ने समस्याले संस्थाहरुलाई पिरोलेको छ । 

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय सहकारीमा अहिले समस्या कुनै एक कारणले मात्रै नआएको बताउँछन् । विगत तीन वर्षदेखि विश्वभर फैलिएको कोभिड १९ र त्यसले आयश्रृंखलामा पारेको असर, व्यापार घाटा, सञ्चालकहरुको महत्वाकांक्षाले गर्दा घरजग्गामा भएको अधिक लगानी आदि समस्याका कारक रहेको उनको बुझाइ छ । यो एकाध महिनामा सिर्जित समस्या नभएको भन्दै उनले थपे ‘संस्थाको शुरुवातदेखि नै सहकारी मुल्यमान्यता र सिद्धान्तलाई अँगालेको भए यो समस्या आउँदैन थियो । शुरुवात देखि नै गलत परिपाटीले संस्था चलाउँदा यो समस्या आएको हो ।’ 

पछिल्लो समय बढ्दो आर्थिक मन्दी र जग्गाको वर्गीकरण गर्न भन्दै कित्ताकाट रोकिएपछि सहकारीहरुको ठूलो लगानी त्यहाँ गएर अड्किएको छ । त्यसले गर्दा सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । उपरजिष्ट्रार उपाध्याय कतिपय संस्थाको प्रशस्त सम्पत्ति रहेको र विगतमा झैं घरजग्गाको कारोबार चलायमान भएमा सदस्यहरुले बचत फिर्ता पाउने सम्भावना रहेको बताउँछन् । सहकारीको कारोबार वित्त प्रणालीसँग जोडएको विषय भएकाले विभागले मात्रै यसको समाधान वा विकल्प दिन नसक्ने उनले प्रष्ट पारे । सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक समेतले सहकारीको विषयलाई अध्ययन गरेर समाधानको बाटो पहिल्याउनु पर्ने उनको भनाइ छ । 

अहिलेको अवस्था भनेको संस्थाहरुले आफ्ना सदस्यहरुलाई विश्वस्त तुल्याइ वित्तीय कारोबार गर्नुपर्ने र विभागले त्यसका लागि सहजिकरण गर्न सक्ने उनले जनाए । अभियानको तर्फबाट सहकारीमा समस्या आउनुको कारण र समाधान सहितको खाका लिएर आए त्यसमा आफुहरु गहन छलफल गर्न तयार रहेको उनले प्रष्ट । सदस्य र आम जनसमुदायमा सहकारीप्रतिको अविश्वास हटाइ विश्वासको वातावरण बनाउन अभियानको नै मूल भूमिका हुने उनले औंल्याए । 

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ समुदाय र सदस्यकेन्द्रित संस्थामा भन्दा पनि मुल्यमान्यता र सिद्धान्त बाहिर रहेर बजारकेन्द्रित भइ सञ्चालित सहकारीमा मूख्यरुपमा समस्या देखिएको बताउँछिन् । सहकारीको बचतलाई जथाभावी अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको समस्या आएको उनको भनाई छ । सदस्यलाई विश्वासमा लिएर उद्देश्यअनुरुप संस्था सञ्चालन भए यस्ता समस्या नआउने उनले औंल्याइन् । 

अर्कोतर्फ समयानुकूल सन्दर्भ व्याजदर परिमार्जन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या परेको सहकारीकर्मीको गुनासो रहेको छ । बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा व्याजदर बढाएको तर सन्दर्भ ब्याजदरको नाममा सहकारी क्षेत्रले दिने ब्याजदरमा क्याप लगाईंदा आफुहरु समस्यामा परेको उनीहरुको भनाई छ । केहि समयका लागि सन्दर्भ व्याजदर हटाए अथवा बजारको अवस्थाअनुरुप नियमित रुपमा  सन्दर्भ ब्याजदर हेरफेर भए अहिलेको वित्तीय संकट व्यवस्थापन गर्न केहि राहत पुग्ने उनीहरुको भनाई छ ।