बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि मिरा ईआरपी सफ्टवेयरको सफ्ट लञ्च गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले उक्त सफ्टवेयरको सफ्ट लञ्च गरेका हुन् ।
प्रमुख अतिथि कडेलले सहकारी क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बचत तथा ऋण सहकारी अभियानलाई मर्यादित, सुव्यवस्थित र सुशासित बनाउनका लागि प्रविधिगत एकरुपता अनिवार्य रहेको र त्यसका लागि मिरा सफ्टवेयर सहकारी क्षेत्रमै एक महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास आफूले लिएको सो अवसरमा उल्लेख गरे । मिरा को सफ्ट लञ्चसँगै सफ्टवेयरको प्रमोशनल पेज र लोगो समेत सार्वजनिक गरिएको छ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारीले छुने अन्तिम विश्वव्यापी मुद्दा भनेको डिजिटल क्रान्ति रहेको र यसका लागि डिजिटाइजेशन, डिजिटलाईजेशन, डिजिटल ट्रान्फरमेशन र डिजिटल एनालाईसिस वरिपरि नियामक ढाँचालाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून), रारा डिजिटल ल्याब्स प्रालि तथा नियोसिस टेक्नोलोजी प्रालिको सहकार्यमा सफ्टवेयर बनाइएको हो । उद्घाटनका क्रममा मिरा ईआरपी सफ्टवेयरमा २६ वटा साकोसहरुको तथ्यांक माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको छ भने आगामी दिनमा क्रमशः अरु सहकारीहरुमा पनि सेवा विस्तार गर्दै लगिने जनाएको छ । सफ्टवेयरको न्यूनतम बार्षिक मूल्य रु। १६ हजार तय गरेको छ ।