काठमाडौं । नेपाली जन आन्दोलनका एक अग्रतम हस्ती निर्भिक र सहासी नेता, नेपाली कांग्रेसका संस्थापक श्री गणेशमान सिंहको १०८ औं जन्मजयन्ती नेपाली कांग्रेस र त्यसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
यस सन्दर्भमा काठमाडौं क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा आज बिहान काठमाडौं-१० स्थित सुवर्ण पार्क जोगीकुटीमा माल्यार्पण कार्यक्रम गरिएको थियाे ।
कार्यक्रममा गणेशमान पुत्र एवम् नेपाली कांग्रेसकाे गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता थियो ।
गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । राणा शासन र शाह शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको अतुलनीय योगदानलाई देशले सदा स्मरण गर्ने छ।