शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकका गभर्नरको राजिनामा माग्दै उद्योगीव्यवसायी सडकमा

कार्तिक २३, २०७९ बुधबार
राष्ट्र बैंकका गभर्नरको राजिनामा माग्दै उद्योगीव्यवसायी सडकमा

 

व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। मुलुकको आर्थिक तथा वित्तीय अवस्था विगार्न भूमिका खेलेको भन्दै बिराटनगर उद्योगीव्यवसायीले गभर्नरको राजनिमा मागेका हुन् । 

बैंकहरुले बढाएको चर्को ब्याजका विरूद्ध सडकमा उत्रिएका व्यवसायीले आज विराटनगरमा मौन–जुलुसपछि राष्ट्र बैंक प्रदेश १ कार्यालयको गेटमा आयोजित कोणसभामा गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा भएको कार्यक्रममा गभर्नरको राजीनामा माग गरिएको हो।

व्यापार संघका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र प्रकाश मुन्दडासहित परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले गभर्नर अधिकारीले मार्ग प्रशस्त गरेर योग्य तथा सक्षम व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व सुम्पनुपर्ने माग गरेका थिए।

उद्यमी शारडाले राष्ट्र बैंकले सच्चिएर बढ्दो ब्याजको समस्यालाई समाधान नगरे गभर्नरको राजीनामाको एकसूत्रीय माग राखेर देशभरिका व्यवसायी सडकमा ओर्लने चेतावनी दिए। उनले नेतृत्वमा रहेको व्यक्तिको भिजनले नै संस्था चलेको हुन्छ भन्ने चर्चा गर्दै भिजन र इच्छाशक्ति नभएको नेतृत्वले पद ओगटेर बस्नु नहुने धारणा प्रकट गरे।

परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले नेपालका बैंकले पहिलेका साहुमहाजन र अहिलेका मिटरब्याजीले भन्दा ४ गुना बढेर ब्याज असुलिरहेको आरोप लगाए।
अध्यक्ष घिमिरेले बैंकको यो शोषणलाई सरकार र राष्ट्र बैंकले संरक्षण दिएको जनाए।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले देशका नेता र शासकलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, बहुमत, दुई तिहाइ सबै दिए पनि उनीहरुले केही नदिएको धारणा राखे।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायी मंसिर १५ सम्म पर्खिएर बसिरहेको जानकारी दिँदै मंसिर राष्ट्र बैंकले गर्ने रिभ्यूमा पनि समस्या समाधान नगरिए विकराल परिस्थिति उत्पन्न हुने बताए। उनले आगामी मंसिर १५ भित्र चुनाव भएर नयाँ सरकार पनि बनिसक्ने चर्चा गर्दै त्यसपछि पनि यही अवस्था रहिरहेमा मुलुकको अवस्था श्रीलंकाको जस्तो हुने विचार व्यक्त गरे।