शनिबार, आश्विन १७ गते २०८३

तरलता संकट समाधानका निम्ति अर्थपूर्ण सहजिकरणका लागि सहकारीकर्मीकाे आग्रह

कार्तिक २१, २०७९ सोमबार
तरलता संकट समाधानका निम्ति अर्थपूर्ण सहजिकरणका लागि सहकारीकर्मीकाे आग्रह

पछिल्लो समय सहकारीहरुमा तरलता संकट गहिरिएको भन्दै ललितपुरका सहकारीकर्मीहरुले त्यसको अर्थपूर्ण सहजिकरण गर्न माग गरेका छन् । उनीहरुले तरलताको संकट गहिरिँदै जाँदा संस्थाको कारोबार नै बन्द गर्नुपर्ने अवस्था देखिन लागेकाले सहजिकरणका लागि सहकारी विभागलाई गुहारेका हुन् । एक ध्यानाकर्षण पत्र लेख्दै उनीहरुले हाल देखिएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

सन्दर्भ व्याजदरका कारण सहकारी संस्थाहरुले बचतको ब्याजदर समयानुकूल बढाउन नसक्दा सहकारीको बचत बैंक तथा वित्तीय संस्थामा रकमान्तर भइरहेकोले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि माग गरेका छन् । ब्याजदरलाई छिटोभन्दा छिटो बजार अनुकूल निर्धारण गर्न नसके यसको अवज्ञालाई रोक्न नसक्ने समेत उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी सहकारी संघसंस्थाको भाका नाघेको कर्जा असुली गर्नका लागि विशेष संयन्त्र गठन गरी असुलउपरका लागि पहल गर्न, सहकारी संस्था भ्रमात्मक समाचार आएकाले त्यस्ता समाचारहरुको खण्डनसहित राज्यका तर्फबाट सकारात्मक सन्देश जारी गर्न र राज्यको तर्फबाट अहिले सहकारीमा देखिएको तरलतासम्बन्धी समस्या समाधान हुने किसिमको ठोस भूमिका खेल्न उनीहरुको माग छ । 

ध्यानाकर्षण पत्रमा जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईं र ललितपुर बहुउद्देश्यीय संघका अध्यक्ष शरद महर्जनले हस्ताक्षर गरेका छन् । 

ललितपुरमा रहेका सहकारी संस्थाहरुको समस्या समाधानका लागि सहकारी सहजिकरण संयन्त्र गठन गरिएको र जिल्ला भित्रका सहकारी संस्थामा देखिएको समस्या र चुनौतिका बारेमा राज्य र महासंघलाई जानकारी गराइएको उनीहरुले जनाएका छन् । 

मुलुकको अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारी क्षेत्र स्थापित भएर समग्र आर्थिक विकास महिला सशक्तिकरण, रोजगारी सिर्जना एवं गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले राज्यको तर्फबाट सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि अपेक्षित भूमिका निर्वाह नभएकाले त्यसतर्फ राज्यको ध्यानाकर्षण उनीहरुले गराएका छन् ।