
लोकनारायण सुबेदी
सबै प्रकारका सामाजिक तथा आर्थिक दबाबमा परेर माता–पिता र बालबच्चाका बीचको दूरी अचेल निरन्तर बढ्दै गएको छ । सही अर्थमा भन्ने हो भने बाल बच्चाको बचपन अब पूर्णरुपले उपभोक्ताबादको पकडमा पर्न गएको देखिन्छ ।यस सम्वन्धमा भएका बिभिन्न खोज, अध्ययन र अनुसन्धानले जुन तथ्यांक प्रकाशमा ल्याएका छन् त्यसबाट स्पष्ट हुन्छ कि बिश्वको प्रतिस्पद्र्धात्मक जीन्दगीले आजका बाल बच्चाको आँखाको निन्द्रा नै उडाइदिएको छ । जसका कारण आजका बालबच्चाहरु प्हिलाको तुलनामा अझ बढी निर्मम, आक्रामक र एकल हुँदै गएका छन् । केही महिना पहिला भारतको एउटा ‘इण्डियन पेडिएट्रिक जर्नल’ मा जस्तो रिपोर्ट छापिएको थियो त्यसमा ४२ प्रतिशत बाल बच्चाहरु अनिन्द्राको शिकार भइरहेको दर्शाएको थियो । त्यसको परिणाम के थियो भने बालबच्चाहरु निन्द्रामा डराउने, हिड्ने, सुतेकै बेलामा कुराकानी गर्ने, रुने र डरलाग्दा सपनाहरु देख्ने जस्ता समस्याले तिनलाई हैरान पारिरहेको यथार्थको खुलासा गरेको थियो ।
केही समय पहिला अमेरिकाको फिलाडेल्फियामा स्थित सेण्ट जोसेफ बिश्वबिद्यालयद्वारा भारतका झण्डै ४००० बाल बच्चाको अध्ययन पछि जुन निचोड प्रकाशमा ल्याइएको थियो त्यसबाट पनि एकदमै प्रष्ट भएको थियो कि भारतका बाल बच्चा यूरोपेली बालबच्चाको तुलनामा कम निन्द्रा मात्र निदाउने गर्दछन् । फलत: बालबच्चाहरुको स्वभाविक शारीरिक र मानसिक बिकास हुन पाएको छैन । उनीहरुको खेल्ने खाने उमेरमा नै तिनको बचपनमा नै बिसंगति बढिरहेको छ । घरबाट बच्चाहरु भाग्नु, आक्रामक हुनु, एकान्तमा रहन बस्न खोज्नु तथा आत्मघाततर्फ अग्रसर हुनु जस्ता सामाजिक बिसंगतिहरुको परिप्रेक्षमा कतै न कतै पारिबारिक तथा बिद्यालयको समेत पृष्ठभूमिलाई टटोल्नु आज समयको माग हुन आएको छ ।
बाल बच्चाहरुको बिसंगत ब्यवहारका लागि केवल उनीहरुलाई मात्र दोषी ठहराउन सकिदैन र हुँदैन । यसका लागि बाल बच्चाहरुको बचपनलाई सामाजिक परिस्थितिहरुको अनुकूल ढाल्ने, निश्चित दिशा दिने तथा सामाजिकरुपले उनीहरुलाई प्रतिस्थापित गर्ने महत्वपूर्ण उत्तरदायित्व बहन गर्नु परिवार तथा बिद्यालयको पनि काम हो । अध्येताहरुले आफ्नो अबलोकनबाट प्रष्ट बताएका छन् कि नगर महानागरहरुमा भौतिक जीवनको बद्लिदो प्राथमिकताहरुका कारण माता–पिता र बालबच्चाहरुका बीच निरन्तर सघन सम्बादको ढाँचा नै आज चर्मराइरहेको छ । नि:सन्देह संयुक्त परिबार आज टुटिरहेका छन् । बिद्यालयहरु पनि किताबी ज्ञानसम्ममा मात्र सीमित भएर रहन गएका छन् । यस्तो स्थितिमा बिद्यालयहरुमा बाल बच्चाहरुको शैक्षिक सामाजिकीकरण र घर परिबारमा राम्रो देखभाल अर्थात् अभिभाबत्व आज ठूलो चूनौति बन्दै गएको छ । कामकाजी माता–पिताहरुको सम्वन्धमा गरिएका अध्ययनहरुले पनि बाल बच्चाकासाथ उनीहरुले बिताउने समय एकदमै कम भएर गएको देखाएको छ । बच्चाहरुले मनाउने अभिभावक दिवसमा समेत उनीहरु उपस्थित हुने समय छैन । यस्तो स्थिति उत्पन्न हुनु बालबच्चाहरुको स्वस्थ बिकासको लागि राम्रो खबर होइन । अनि अधिकांश माता–पिताहरुलाई बच्चाको गृह कार्यमा सहयोग दिने, उनीहरुको खेलकूदमा सामेल हुने र मनोञ्जनका गतिबिधिमा संलग्न हुने समयसम्म पनि हुँदैन । यसरी माता–पिता र बालबच्चाका बीच स्वस्थ सम्वाद हुन नपाउँदा सामाजिक संसारको परिचय बाल बच्चाको जीवनबाट निरन्तर टाढा भइरहेको छ ।

आज त बिद्यूतीय सञ्चार माध्यमहरु, कम्प्यूटर, इण्टरनेट इत्यादि साधनहरुले बाल बचहरुको संसारमा यदि कुनै खास स्थान बनाएको छ भने पनि बच्चाहरुका जीवनमा वास्तविक संबादको अभाव नै जिम्म्ेवार छ भन्ने निष्कर्श अध्येताहरुले निकालेका छन् । उनीहरुका अनुसार यो स्थिति माता–पिता, बिद्यालय र बच्चाहरुका बीच सम्बादको शून्यताकै परिणाम हो । आजभोली त बिद्यूतीय चलचित्र र टेलिभिजन तथा स्याटलाइट च्यानलहरु घुसेर तिनले एकल पारिबारिक र स्कूली जीवनलाई स्थानापन्न तुल्याइरहेका छन् । अझ गम्भीर सत्य तथ्य त के हो भने बाल बच्चाहरुको बचपनमा माता–पिता र बिद्यालयहरुको अनुपस्थित रहने स्थितिको फाइदा बहुराष्ट्रिय कम्पनीहरुले मजाले उठाइरहेका छन् । यो बजारबादको बिज्ञापन सँस्कृतिको नै असर हो । ती कम्पनीहरुलाई आजका समाजका बाल बच्चाहरु आउदो समयका नब उपभोक्ताकोरुपमा देखापरिरहेका छन् ।
यो आजको कटु सत्य हो कि एकल परिबारमा पनि बाल बच्चाहरुको भावनात्मक सम्वन्ध समाप्त हुँदै गइरहेको छ । माता–पितालाई आफ्ना कारोबार तथा भोगबादी भोज–पार्टीहरुबाट फुर्सदनै मिल्न छाडेको छ । बाबच्चाहरुलाई सम्पूर्ण भौतिकबादी सुबिधाहरु उपलब्ध गराएर उनीहरुले बालबच्चाप्रतिको आफ्नो सामाजिक भूमिकाको इतिश्री भएको मानिरहेका छन् । फलत: बाल बच्चाहरु या त घरको चौघेराभित्र बन्द रहेर सञ्चार र एनिमेशन चलचित्रहरुका बीच वास्तबिक संसारबाट हटेर काल्पनिक अर्थात् आभासी दुनियाँतिर लम्किरहेका छन् । तर यस्तो स्थितिमा पनि यो कुरा थाहा पाउँदैनन् या बुझ्दैनन् कि जतिबेला ती बाल बालिकाहरुले वास्तबिक जीवनको कठोरताको सामना गर्नु पर्ने हुन्छ त्यतिबेल उनीहरुले या त पलायन हुनु पर्ने समस्या आउदछ या तनाब र अबशादको शिकार हुने स्थिति सिर्जना हुन्छ । आधुनिक कालखण्डका बाल बच्चाहरु यस प्रकार जुन अदृष्य हिंसाको शिकार भएर निन्द्राको चक्रबाट हैरान छन् त्यो बच्चाको कमजोर सहनशक्ति तथा तिनको बिसंगतिपूर्ण ब्यक्तित्वको नै परिचायक हो । परिबारको बिधिबत सामाजिकीकरण जसले बच्चाहरुको ब्यक्तित्व निर्माण र संरक्षण प्रदान गर्ने गर्दछ त्यसको शिक्षा पनि आज कमजोर भएर गइरहेको छ । सञ्चार माध्यमहरुले बाल बच्चाहरुलाई कल्पनाको संसार र उनीहरुको यथार्थ संसारलाई परस्पर मिसाएर आक्रोश, अश्लिलता र हिंसालाई केन्द्रमा ल्याएर खडा गरिदिएको छ । आक्रामकता, रीस र हिंसा जस्ता तत्वहरु आजका बच्चाहरुको ब्यक्तित्वको सामान्य अनुभव बनिरहेका छन् । बिद्यालय र घरको ब्यवस्थमा बिस्तारै बिस्तारै आक्रोशले आफ्नो खुट्टा पसार्न थालेको छ । यस कटु यथार्थलाई न त आजको शिक्षा ब्यवस्थाका संरक्षणकर्ताहरुले नै बुझिरहेका छन् न त अभिभावहरुले नै ।

हुन पनि आज सहनशीलता,सहानुभूति, संयम, सदाचार तथा अहिंसा जस्ता मूल्यहरु बाल बच्चाहरुको जीवनबाट निरन्तर ऋणात्मक हुँदै गइरहेका छन् । यो सही र सत्य हो कि समाजमा बाल बच्चाहरुको सामाजिक लगानी पूँजीकारुपमा मानबीय संसाधनको लगानी हो । बिभिन्न देशहरुबाट के खबर आइरहने गरेका छन् भने भबिष्यको मानबीय बिकास बाल बच्चाहरुको बिकासमा अन्तरनिहीत र समाहित हुन्छ । तर ती बच्चाहरुमा परिबारहरुको पूर्ण संरक्षण प्राप्त भएको हुनु पर्दछ । यसका लागि बच्चाहरुसँग निरन्तर सम्बाद स्थापित गरिनु पर्दछ । साथै बिद्यालयहरुको पनि ठूलो दायित्व के हुनु पर्दछ भने त्यहाँ बिद्यालयहरु र परिबारका बीचमा एउटा शैक्षिक सम्बाद निरन्तर बिकसित भएको हुनु पर्दछ । यी दुबै संस्था(परिबार र बिद्यालय)हरुको साझा प्रयासबाट नै बाल बच्चाहरुको मनोबिज्ञानलाई ठीक किसिमले बुझ्न सकिन्छ । एउटा सभ्य, सुसँस्कृत र समानतामा आधारित समाज निर्माणको निम्ति बाल बच्चाको सही ब्यक्तित्व निर्माण चानेचुने र साधारण कुरा होइन, साच्चै नै असाधारण कुरा हो ।