बुधबार, भाद्र ३ गते २०८३

चीनको अर्को आर्थिक हथियार – दुर्लभ भू–तत्व : एक चर्चा

कार्तिक १२, २०७९ शनिबार
चीनको अर्को आर्थिक हथियार – दुर्लभ भू–तत्व : एक चर्चा

Climate-change.jpg
लोकनारायण सुबेदी
 भूगर्भ बैज्ञानिहरुका अनुसार यो पृथ्वीको भित्री सतहमा पाइने अनेक अनेक ‘दुर्लभ भू–तत्व’–‘रेयर अर्थ इलिमेण्ट्स’(आरईई) ती नामैले दुर्लभ मानिए पनि पाइदै नपाईने असुलभ भने होइन, तर बहुमूल्य भने अबश्य मानिन्छन् । तिनको खननमा आउने अनेक कठिनाई तथा पहुँचको कमीका कारणले तिनको दोहन भने निकै सीमित नै हुने गरेको छ । अनि प्राकृतिकरुपले अन्य खनिज पदार्थहरुसँग घुलमिल अर्थात मिसिएर रहने गरेको कारण तिनको प्रशोधन कार्य पनि त्यति सहज हुने गर्दैन भन्ने बिज्ञहरुको अनुभव रहेको छ ।
 हुन पनि ती ‘रेयर अर्थ–इलिमेण्ट्स’ अर्थात ‘दुर्लभ धरती– तत्व’ १७ दुर्लभ धातु तत्वहरुको एउटा समूह हो भनेर उत्खनन कर्ता बैज्ञानिकहरु बताउने गर्दछन् । तिनको उपयोग सबै उन्नत प्रबिधि भएका निर्माण जस्तै स्मार्ट फोन,लडाकु बिमान र तिनका महत्वपूर्ण घटकहरु लगायत प्राय: सबै उन्नत ‘इलेक्ट्रोनिक्स’मा पर्दछन् । यति मात्र होइन, तिनमा अधिकांश स्वच्छ ऊर्जा प्रौद्योगिकीको आवश्यकता पर्दछ जसको कार्य प्रणाली आउदो एक दशकमा अनलाइन हुने सम्भावना बढ्दो छ भन्ने बताइन्छ । ‘आरईई’लाई सबैभन्दा पहिला अमेरिकामा खोजी गरिएको थियो र त्यहीं उपयोगमा ल्याइएको थियो । यद्यपि पछि गएर बिस्तारै बिस्तारै चीनमा पनि यसको उत्पादन स्थानान्तरित  हुँदै गयो । किनकि चीनमा यसका निमित्त श्रम लागत एकदमै कम थियो भने पर्याबरणको चिन्ता पनि नभएकै बराबर रहेको थियो । यति बेला आरईईको बिश्व उत्पादनमा चीनको हिस्सेदारी ९७ प्रतिशत रहेको बताइन्छ । चीनले यसको खनन–प्रशोधनको बलमा आपूर्ति श्रृंखलाका हरेक स्तरमा आक्रामक किसिमले एकाधिकार जमाएको छ । भनिन्छ जस्तो किसिमले रुसले यूरोप र यूक्रेनमा प्राकृतिक ग्यासको माध्यमले राजनीतिक फाइदा उठाएको छ त्यसरी नै चीनले पनि आरईईलाई एउटा आर्थिक हतियारकोरुपमा उपयोग गर्ने इच्छा परिलक्षित गरिसकेको औंल्याइन्छ ।
 यस सम्वन्धमा के उदाहरण दिइन्छ भने सेप्टेम्बर २०१० मा चीनको माछा मार्ने उउटा नाउले पूर्बी चीन सागरको सेनकाकू द्विप समूह नजिक जापानका दुइटा तटरक्षक जहाजहरुलाई टक्कर दियो । जापानले पनि चीनका नाउका कप्तानमाथि मुद्दा चलाउने कुराको घोषणा गर्यो । चीनको प्रतिबादी कार्यबाहीमा जापानलाई ‘रेयर अर्थ’को बिक्रीमा प्रतिबन्ध लगाउने उपाय पनि रहेको थियो । यस कदमले जापानको अटो उद्योगमाथि बिनाशकारी प्रभाव पार्न सक्तथ्यो । त्यतिबेला चीनको धम्कीलाई यत्तिको गम्भीररुपमा लिइएको बताइन्छ कि अमेरिका, यूरोपेली संघ, जापान समेत अन्य कतिपय देशहरुले बिश्व ब्यापार संगठनमा मुद्दा दायर गरिदिए । त्यसमा बिश्व ब्यापार संगठनले के फैसला दियो भने चीनलाई ‘आरईई’को निर्यातका सीमामा बाध्न सकिदैन । यस प्रकृयामा चार बर्षको कार्य काल सकियो । पछिबाट चीनीयाँ बिदेश मन्त्रालयले के भनिदियो भने चीन स्वयंलाई आफ्ना बिकासशील उद्योगहरुका लागि धेरै ‘आरईई’को आवश्यकता रहेको थियो ।
 अमेरिकाको क्यालिफोर्नियामा स्थिति ‘माउण्टेन पास रेयर अर्थ’ खानी उत्तरी अमेरिकामा एउटा मात्रा खानी हो, जहाँ उच्चतम गुणस्तरयुक्त रेयर अर्थको खनन तथा प्रशोधनको सुबिधा बिद्यमान रहेको बताइन्छ । यद्यपि संघीय तथा कर्पोरेटको बढ्दो हितलाई ध्यानमा राखेर त्यस्ता खानीहरुको संख्या बढाउने कुरा पनि चलेको छ । यता अस्ट्रेलियाको लिनास कार्प, आरईईको अर्को सबैभन्दा ठूलो बिश्व उत्पादक मानिएको छ । अमेरिकी रक्षा बिभागले टेक्ससको रियो होंडो प्रशोधन सुबिधा निर्माणका लागि लिनास रेयर अर्थ लिमिटेडलाई ३०.४ मिलियन डलरको रकम राशी स्वीकृति दिइसकेको छ । अमेरिकी बाइडेन प्रशासनको योजना आरईईका लागि चीनमाथिको निर्भरता कम गर्ने प्रकारको छ । आरईईको निर्यातको सीमा तोक्ने चीनको संकेतले अन्य देशहरुलाई निकै प्रभावित तुल्याएको औंल्याइदैछ । बिशेष गरेर फ्रान्स, इटली र जापानलाई जोसँग रेयर अर्थका सामाग्रीहरु रहेका छैनन्,त्यस्ता देशहरुलाई समस्या रहेको औंल्याइदैछ । 

earthelements2.jfif
 एघार बर्ष अघि २०११मा क्यालिफोर्निया रहेको माउण्टेन पास खानीबाट पुन: उत्पादनको आरम्भ र २०१० मा अष्ट्रेलि याको लिनास कार्पको पश्चिमी अष्ट्रेलिया स्थित माउण्ट बेल्ड खानीको निर्माण कार्य पूरा भए पछि आउँदा बर्षहरुमा दुबै खानीबाछट लगभग ३०,००० टन रेयर अर्थ्सको आपूर्ति हुनेछ जसबाट चीनमा उत्पादित ‘रेयर अर्थ’को आपूर्तिमा कमी आउने बताइएको छ । तर कुरा के छ भने माउण्टेन पास र माउण्टेन बेल्ड मूख्यरुपले हल्का(लाइट) रेयर अर्थ्स भएका खानीहरु हुन् जब कि इलेक्ट्रोनिक्स उत्पादनहरुलाई अधिक गुणस्तरीय तुल्याउनका लागि ह्याभी(गरुङ्गा) रेयर अर्थ्सको आवश्यकता हुने बताइन्छ । बिश्वमा अहिले चीन नै एउटा त्यस्तो देश निस्केको छ जहाँ हल्का तथा गरुङ्गा दुबै किसिमका रेयर अर्थ्स तत्वहरुको आपूर्तिकर्ता देश बनिरहेको छ ।
 केही समययतादेखि के कुरा पनि चलिरहेको छ भने बितेका केही बर्षदेखि बिबादित चिन–भारत सीमा क्षेत्रमा चीनले आफ्नो क्षेत्रमा ब्यापक खननमा रुची लिइदै आएको छ । ती क्षेत्रहरुमा सुन, चाँदी समेतका अनेक बहुमूल्य खनिज तत्वहरुको ठूलो भण्डार बिद्यमान रहेको अडकल अनुमान गरिदै आएको छ । खाशगरी अक्साई चिन र पूर्बी लद्दाख क्षेत्रमा बोरियम, यूरेनियम आदि जस्ता खनिज सम्पदाहरु भरपूर रहेको र पारो, फलाम तथा निक्कलको पनि भण्डार हुनसक्ने सम्भावना रहेको बताइदैछ । तर भारतले अहिलेसम्म ती क्षेत्रमा कुनै पनि खनन कार्य शुरु भने नगरेको बताइन्छ ।
 महत्वपूर्ण कुरा के छ भने नेपालमा पनि यस्ता दुर्लभ र मूल्यबान खनिज तत्व र धातुहरुको ठूलो भण्डार रहेको औंल्याइन्छ । भनिन्छ, नेपालमा ८५ प्रकृतिका यस्ता बहुमूल्य दुर्लभ तत्व र धातुहरु रहेको बिज्ञ ज्ञाताहरु उल्लेख गर्दछन् । तर नेपालले यस बारेमा कुनै गम्भीर खोज अनुसन्धानको प्रारम्भिक शुरुवात पनि गर्न सकेको कुरा जानकारीमा छैन । जे होस, बर्तमानमा चीनमा ब्यापक यस्ता दुर्लभ धातु र तत्वहरुको खननका गतिबिधिहरु चलिरहेका र खाशगरी अरुणाचल प्रदेशसँग जोडिएका लुजे काउण्टीमा चलिरहेको बताइन्छ   । यो क्षेत्र चीनको स्वशाशित प्रदेश तिब्बतको दक्षिण पश्चिममा पर्दछ । बैज्ञानिक ज्ञाताहरुका अनुसार लुञ्ज र त्यसको वरिपरीका क्षेत्रहरुमा खोजिएका त्यस्ता तत्वहरुको मूल्य ५८ बिलियन डलरसम्म पुग्नसक्ने अनुमान छ ।  केही बर्षयतादेखि त्यो क्षेत्रमा खानी खनन र प्रशोधनका लागि चीन जोडतोडले लाािग परेको छ र भारत पनि त्यसतर्फ आँखा लगाउँदैछ । हिमालयको यो क्षेत्रमा दुर्लभ खनिज पदार्थहरुको भण्डार रहेको तथ्यमा भने कसैको दुइ मत छैन । तर तिनको खनन र प्रशोधनको कार्य भने निकै कठिन कार्य रहेको बताइन्छ ।राजनीतिक अन्यौल, अस्थिरता र अराजकताको स्थितिबाट गुज्रिरहेको बिचलित राजनीतिलेग्रस्त नेपालमा यस्ता अमूल्य खनिजहरुको खोजी र सदुपयोग हुने कहिले हो ठूलो प्रश्न छ ।