पोखरामा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अशोज महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागले केहि समय अघि एक निर्देशन जारी गर्दै हरेक महिनाको पहिलो साताभित्र अघिल्लो महिनाको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेसँगै संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको हो ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अशोज मसान्तसम्म शेयरपुँजी १८ करोड ५५ लाख ८८ हजार, जगेडा कोष १४ करोड ८ लाख ६५ हजार र कुल बचत १ अर्ब ५९ करोड ९४ लाख रहेको छ । संस्थाको कुल संस्थागत पुँजी १४ करोड ३२ लाख, विभिन्न कोषहरुमा गरेर ३ करोड ११ लाख र ऋण लगानी १ अर्ब ५३ करोड ३८ लाख रहेको छ । संस्थामा ४ हजार ८१ सदस्य रहेका छन् भने ४५५ जनाले संस्थाबाट ऋण लिएका छन् । २ अर्ब ६ करोड ९५ लाख कुल सम्पत्ति रहेको संस्थाले २५.०४ प्रतिशत तरलता व्यवस्था कायम गरेको छ ।
मुलुकभर ३० हजार सहकारी भएपनि केहि संस्थाले मात्रै सामाजिक सञ्जाल र संस्थाको वेबसाइटमार्फत मासिक रुपमा वित्तीय विवरण प्रकाशित गर्दै आएका छन् । अधिकांश संस्थाले वित्तीय विवरण प्रकाशन गरेको पाईंदैन । विभागले वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएपनि त्यसको कार्यान्वयन भएनभएको बारे कुनै सोधखोज गरेको पाईंदैन ।