बिश्वका आम शोषित पीडित मजदुर बर्ग तथा आम जन साधारणको स्थिति आज कर्पोरेट पूँजीको शोषणको शिकार भएर अझ खराब हुँदै गइरहेको छ । बिश्वका अनेक देशहरुमा दक्षिणपन्थी प्रबृत्तिको झुकाव भएका शक्तिहरुको उदय, उभार पकड बलियो हुँदै गएको देखिदैछ । यो बित्तीय पूँजीले आफ्नो पकड अझ बलियो बनाउने, आधिपत्य जमाउने अन्तिम प्रयास गरिरहेको स्थितिको द्योतक हो । उसले आफ्नो यो योजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय बित्तीय पूजीको सेवामा अन्तराष्ट्रिय मुद्राकोष(आईएमएफ), बिश्व ब्यांक, तथा बिश्व ब्यापार संगठन(डब्लुटीओ) लागि परेका छन् । अनि आर्थिक रणनीति मूलमा प्राकृतिक संसाधनहरुलाई कब्जा गर्ने, बजार खडा र कब्जा गर्र्ने, मुनाफालाई अधिकतम बनाउनु तथा पूरा बिश्वमै ऋण आधारित अर्थब्यवस्थालाई अघि बढाउनु रहेको देखिएको छ । यस ब्यवस्थाले कुनै पनि बिरोध या असहमतिलाई सहन गर्न चाँहदैन र तिनलाई बिभाजित तुल्याउने, बिघटित गर्ने र दबाउने इच्छा राख्दछ र त्यस अनुरुप नै चल्छ र चल्ने गर्दै आएको छ ।
अर्कोतिर औद्योगिक उत्पादनमा बढ्दो ठहरावले सर्बत्र नकारात्मक रोजगारी बृद्धि अर्थात बेरोजगारी देखापरिरहेको छ । पूँजीवादी बिश्व डर देखाउने, धम्क्याउने, युद्ध र संघर्षहरुको माध्यमबाट बिकासशील र कमजोर देशफ्नहरुमाथि आफ्नो आर्थिक बोझ थोपर्ने काम गर्न उद्यत र उत्सुक छ । यतिबेला अमेरिकी–नाटोद्वारा उत्पन्न गरिएको संकटले यूरोपमा युद्धका लागि प्रेरित गर्दै गरेको देखिन्छ । अनि जीवन यापनको बढ्दो लागतकासाथ यूरोप र बिश्वभरीकै श्रमजीवी जनतामाथि अनेक प्रतिबन्धको राजनीति बोझ बढिरहेको छ । यसको परिणामस्वरुप बेरोजगारी दरमा पनि तीब्रतमरुपले बृद्धि भइरहेको छ । मीतब्यताको उपायको नाममा पेन्सन, जन स्वास्थ्य, शिक्षा, नागरिक सेवहरुमाथि हमला भइरहेको छ । आम जन साधारणहरुबाट सरकारले यस्ता सेवाहरु फिर्ता लिदै गरेको या कटौति गरिरहेको स्थिति छ । यसका अतिरिक्त आज किसानहरुलाई अल्पबिकसित देशहरुमा भूमिबाट बेदखल गर्ने अनेक योजना परियोजना चलाइदैछ र उनीहरुलाई अझ पराश्रयी तुल्याइदैछ । सैन्य बजेट बढाइदैछ । हतियार उद्योग ठूलो नाफाकासाथ फलिफुलिरहेका छन् तर जनताको जीवन स्तरमा ठूलो असमानता देखापरिरहेको छ ।
अनि बिभिन्न देशमा साशक बर्गको मौन तथा खुलस्त समर्थनबाट बिश्वका बिभिन्न भागमाहरुमा आज फाँसीबादी प्रबृत्ति अझ बढिरहेको छ । सबै स्तरमा यस्तो स्थितिलाई बढावा दिइदैछ । जसले गर्दा देश देशका सँस्कृतिहरु, भाषाहरु, धर्महरु, बिबिध रीति रिवाज र रहनसहन रहेका एकता र भिन्नताका पहिचानहरुको एकता र भिन्नतामा सहमति या असहमति जनाउने मूलभूत लोकतान्त्रिक अधिकारहरुले खतरा र चूनौतिको सामना गर्नु परिरहेको छ। दमन र दबाबको सामना गर्नु परिरहेको छ । जसले गर्दा आज सर्बत्र बिद्यार्थी, लेखक, कलाकार, पत्रकार, कानुन ब्यवसायी, सामाजिक कार्यकर्ता जो पनि कमजोर बर्ग र समुदायको न्यायको पक्षमा खडा छन्, स्वतन्त्र र स्पष्ट बिचार राख्दछन् ती सबैमाथि हमला भइरहेको छ । यो जनताको मुख बन्द गराउने दमनकारी र आक्रामक फँसीबादी प्रबृत्ति नै हो ।
यस प्रकार स्थिति नराम्रोसँग बिग्रदै गएको छ । सबै कुरा कर्पोरेट पूँजीवादको हितमा सुम्पिने र यसरी जन अधिकार र जीवीकोपार्जनलाई नै खतरामा पार्ने कसरत निरन्तर भइरहेको छ । अर्कोतिर साम्प्रदायिक बीष फैलाएर जनतालाई बिभाजित तुल्याउने र यी मूल मुद्दाहरुबाट ध्यान अन्यत्र मोड्ने काम पनि सँगसँगै चलाइएको छ । जसले गर्दा जनतालाई रोजीरोटी,शिक्षा, स्वास्थ्य, समाजिक सुरक्षा जस्ता ज्वलन्त अर्थ–समाजिक समस्याहरुबाट बिपरीत भडकाउने स्थिति बिकसित भइरहेको या गरिदैछ । यसरी राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक आदि जन जीवनका प्राय: सबै क्षेत्रमा प्राय: सबै देशका सरकारहरुको दृष्टिकोण र हर्कत प्रतिकृयाबादी प्रकृतिको बनदै गएको छ । तिनीहरु सबै रहे सहेको ‘कल्याणकारी राज्य’को अबधारणलाई नै समाप्त पार्न उद्यत रहेको र कस्सिएको देखिदैछ । यस प्रकार आईएफ–बिश्वब्यांकहरुसाथ लिएर तिनीहरुले जनताका प्राय: सबै मौलिक आबश्यकताहरु प्ूर्ति गर्ने जिम्मेवारीबाट मुख मोडिरहेका छन् र पछाडि फर्किरहेका छन् । श्रमजीवी बर्ग यस स्थितिबाट सबैभन्दा बढी आहत छ
त्यसैले आजको यो सर्बत्र बढ्दो फाँसीवादी प्रबृत्तिका बिरुद्ध, जनताका सामान्य मौलिक हक अधिकारहरु पनि कटौति गर्ने कुटील हर्कतहरुका बिरुद्ध जनता पहिला कहिल्यैभन्दा बढी जागरुप, सचेत, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प नै छैन । श्रमजीवी जनताका लागि यो जीवन–मरणको सबाल बनेको छ । अत: रोजगारी, यसको सुरक्षा, कार्यस्थलका अधिकार, सामाजिक सुरक्षाका लागि सबै जाति, समुदाय, र धर्म सम्प्रदायक मजदुर, किसान तथा राष्ट्रिय पूँजीपतिहरु एकजुट हुनु अनिबार्य र बाध्यकारी स्थिति बनिरहेको छ । किनकि उनीहरुको जीवन चौतर्फीरुपमा खतराको संघारतर्फ धकेलिदै गएको छ । यस्तो शासन र शोषणबाट मुक्ति नै आजको मूलभूत आवश्यकता हो ।