शनिबार, कार्तिक ८ गते २०८३

नयाँपाटी साकोसको लोभलाग्दो प्रगति, २८ सयबाट शुरु भएको संस्थाको १२ करोड माथि शेयरपुँजी

कार्तिक १, २०७९ मंगलबार
नयाँपाटी साकोसको लोभलाग्दो प्रगति, २८ सयबाट शुरु भएको संस्थाको १२ करोड माथि शेयरपुँजी

 

२०५४ सालको चैत्र महिनामा २८ जना युवाहरुले प्रतिव्यक्ति रु. १०० रुपैया शेयरपुँजी संकलन गरेर शुरु गरेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले हालसम्म आइपुग्दा उल्लेख्य प्रगति गर्न सफल भएको छ । नयाँपाटीको एउटा पिपलको बोटमुनि पहिलो साधारणसभा गरी २८ जनाको २८०० रुपैयाँ शेयरपुँजीबाट कारोबार शुरु गरेको संस्थाको गत आ.व. २०७८।७९ को असार मसान्तसम्म १२ करोड ८२ लाख शेयरपुँजी पुगेको छ । 

संस्थाको हालै सम्पन्न २५औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार त्यस अवधिमा ८ करोड ७९ लाख संस्थागत पुँजी पुगेको छ । संस्थामा ४९८९ जना शेयर सदस्य पुगेका छन् भने संस्थाको कुल वासलात १ अर्ब १३ करोड ४८ लाख पुगेको छ । संस्थाले त्यस अवधिमा ८० करोड १२ लाख बचत संकलन गरी ९१ करोड ७३ लाख ऋण लगानी गरेको छ । 

सभामा संस्थाका अध्यक्ष गौतम खनालले “सम्पूर्ण वित्तीय समाधानको पहिलो छनौट” नयाँपाटी साकोस भन्ने परिकल्पना बोकेर स्थापना भएको संस्थाले २५औं वर्षसम्म आइपुग्दा उल्लेख्य प्रगति गर्न सकेको बताए । एउटा कोठा र टिनको ट्याङ्काबाट शुरु भएको संस्थाले यस अवधिसम्म आइपुग्दा आफ्नै भवनबाट आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गरिरहेको उनले जनाए । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन एटिएम मेशिन, स्मार्ट मोबाइल बैंकिङ्ग, युटिलिटी पेमेन्ट, ३६५ दिने सेवा र रेमिट्यान्स जस्ता सेवासुविधा प्रदान गर्दै आएको उनले जनाए । सदस्यको सन्तुष्टि नै संस्थाको सफलता हो भन्ने उद्देश्यका साथ संस्था अगाडि बढाइएकाले संस्थाले यो उपलब्धी हासिल गर्न सकेको उनको भनाई छ । 

सभामा सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गरेको र १५६ समुहमा गरी ३ हजार ३३७ महिलाहरु समुहमा आवद्ध भएर आय आर्जनका क्षेत्रमा लागेको उनले बताए । 

सभामा कोषाध्यक्ष बसन्तकुमार पण्डितले आ.व. २०७८।७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले त्यस अवधिमा बचत संकलन तथा ऋण परिचालन गरी ३ करोड ५१ लाख कुल मुनाफा आर्जन गरेको छ । संस्थाले महिला, कृषि तथा सहकारी, शिक्षा, ऋण निरीक्षण, युवा तथा खेलकूद, लघुवित्त, सूचना तथा सञ्चार, स्वास्थ्य र ऋण उपसमिति बनाइ उनीहरुमार्फत तालिम तथा गोष्ठी गर्न बजेट विनियोजन गरेको उनले बताए । संस्थाले व्यवसायिक कृषि र पशुपालनका लागि कम व्याजदरमा ३० लाख सम्म ऋण लगानी गर्ने व्यवस्था गरेको उनले जानकारी दिए । 

संस्थाले जोरपाटी र गागलफेदीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय लगायत सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । 

सभाको प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले पूर्वी काठमाण्डौको एक अब्बल संस्था रहेको त्यस क्षेत्रका अधिकांश जनतालाई समेटेर नयाँ पाटीले सेवा दिनुपर्ने सुझाव दिए । सहकारीमा एकिकरणको लहर शुरु भएकोले नयाँपाटी जस्तो समुदायमा आधारित संस्थाले एकिकरणको नेतृत्वदायी भूमिका खेल्न सक्ने उनले बताए । अर्थतन्त्रको तीनमध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइएको भन्दै उनले गरिबी न्यूनिकरण गर्न र मुलुकलाई समाजवादमा पुर्‍याउन सहकारीको भूमिका अपरिहार्य रहेको उनले औंल्याए ।