शुक्रबार, कार्तिक ७ गते २०८३

बैंकको साँवा व्याज बुझाउन नसक्ने भन्दै व्यवसायीले मागे समय थप

आश्विन ३१, २०७९ सोमबार
बैंकको साँवा व्याज बुझाउन नसक्ने भन्दै  व्यवसायीले मागे समय थप


कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको  होटल संघ नेपालले जनाएको छ । दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको छ । सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो बर्ष ५ लाख पु¥याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको संघले जनाएको  छ। 

कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पु¥याएको उसले जनाएको  छ । यसमाथि पर्यटक बढी आउने यससमयमा आसन्न निर्वाचनले समेत परोक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने निश्चित  रहेको संघको भनाइ छ । 

चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए तापनि राज्यबाट कुनै सुनुवाई नभएकोले   व्यवसायी स्वयम् सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझावहरु प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत  रहेको संघले जनाएको छ । 

आजको सबैभन्दा जटिल समस्या भनेकै बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै  रहेकाले  अहिलेको परिस्थितिमा  लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज  तिर्ने  नसक्ने संघले जनाएको छ ।हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गराउनसंघले जोडदार माग  गरेको छ ।

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने  माग संघको रहेको छ । 

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको र यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरुले पनि भोग्नुपरेको हुँदा माथिका विषयहरु राज्यबाट अविलम्ब सम्बोधन नहुने हो भने होटल उद्योेगहरु बैंकको साँवा र व्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आएको हुँदा बैंकको साँवा व्याज भुक्तानीको समयसीमा बढाउन माग  गरेको छ ।