शनिबार, कार्तिक ८ गते २०८३

संचित साकोसको १३औं साधारणसभा सम्पन्न, ६७ करोडको कुल वासलात

आश्विन ३१, २०७९ सोमबार
संचित साकोसको १३औं साधारणसभा सम्पन्न, ६७ करोडको कुल वासलात

 

संचित बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाको विशिष्ट अतिथिमा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ रहेका थिए । 

सभामा बोल्दै प्रमुख अतिथि लाखाजुले सदस्यहरुको भविष्य सुनिश्चितताका लागि बचत गर्न सिकाउने माध्यम सहकारी भएको बताए । परापूर्वकालका धार्मिक ग्रन्थहरुमा पनि भविष्यमा आइपर्न सक्ने विपत्तिका लागि संचित गर्नुपर्ने कुरा उल्लेख भएको भन्दै उनले सहकारिता मानव सभ्यताको आधार भएको जनाए । पछिल्लो समय धेरै सहकारीहरु वित्तीय संकटमा पर्दा, सहकारी भनेको खराब हो कि भन्ने आभाष आम जनमानसमा परेको उनले उल्लेख गरे । सहकारीका मुल्यमान्यता र सात सिद्धान्त सञ्चालकले नै नबुझ्दा सहकारीमा समस्या आएको उनको भनाई छ । अर्कोतर्फ सहकारी सदस्यद्वारा नियन्त्रित हुनुपर्ने भएपनि त्यस किसिमको वातावारण सहकारी क्षेत्रमा नबनेको उनले औंल्याए । 

सभामा अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाले संस्था आसपासमा गैर समुदायमा आधारित धेरै सहकारी रहेपनि संचित भने पूर्णरुपमा समुदायमा आधारित भएर सदस्यहरुको हितमा काम गर्दै आएको बताए । संस्थाले नियामक निकायबाट दिएका सल्लाहसुझाव र निर्देशनहरुलाई पालना गर्दै आधुनिक प्रविधियुक्त र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न लागिपरेको सो अवसरमा उनले जनाए । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान, आँखा शिविर सञ्चालन गर्नुका साथै सदस्यहरुमा उद्यमशीलता विकास गर्न विभिन्न सीपमूलक तालिमको आयोजना गर्दै आएको समेत उनले जानकारी दिए ।  

संस्थाका सचिव न्यूटनप्रसाद सुवालले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । ‘मेरो संचित मेरो भविष्य’ भन्ने मूल नारा लिएर स्थापना भएको संस्थामा आवद्ध सदस्यहरुको हितका लागि वर्षभरि गरेको गतिविधि र अन्य क्रियाकलापका बारेमा उनले सभालाई जानकारी गराए । 

संस्थाकी कोषाध्यक्ष सरस्वती हाकुदवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा २९१८ जना सदस्यहरु आवद्ध रहेको बताइन् । संस्थाले गत असार मसान्तसम्म २ करोड ६० लाख शेयरपुँजी, ४६ करोड ७१ लाख बचत संकलन र ५३ करोड ३६ लाख ऋण लगानी गरी ६७ करोड २३ लाख कुल सम्पत्ति पुर्‍याएको उनले जानकारी दिइन् । 

सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै समितिका सदस्य रामशरण श्रेष्ठले ऋण लगानी तथा असुलीको प्रकृया र सहकारी विभागबाट जारी गरिएका मापदण्डहरुको पालना सन्तोषजनक भएपनि संस्थालाई सुदृढ गराउन सदस्यहरुमा नियमित बचतको बानी विकास गर्नुपर्ने सुझाव दिएका छन् । त्यसैगरी निष्क्रिय सदस्यलाई सक्रिय बनाउन सदस्य र सञ्चालकलाई सहकारी शिक्षा तथा तालिमको आयोजना गर्नुपर्ने औंल्याए । 

सभामा संस्थाका सल्लाहकार विनोदचरण राय र गजेन्द्रशंकर तिमिला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले मन्तब्य राखेका थिए ।