सहकारी संस्थाहरुहरुले ज्येष्ठ सदस्यको जीवनयापनलाई सहज बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । उमेर पाको हुँदै जाँदा काम गर्न र हिँडडुल गर्न नसक्ने अवस्थामा सहकारीहरुले विभिन्न योजना ल्याएर उनीहरुको दैनिकीलाई सहज बनाउन लागिपरेका छन् । कतिपय सहकारीले ज्येष्ठ नागरिक भवन निर्माण गरी उनीहरुको दिनचर्यालाई सहज बनाउने गरेका छन् भने कतिपय संस्थाले अवलोकन भ्रमण, तीर्थाटन र भजनकीर्तन जस्ता गतिविधि गरी उनीहरुको दैनिकीलाई सहज बनाउन प्रयास गरेको देखिन्छ । वृद्धवस्था आफैंमा सकसपूर्ण हुनेहुँदा यस्ता गतिविधिले उनीहरुलाई केहि मात्रामा भएपनि मनोरञ्जन प्रदान गर्नुका साथै जीवनयापनमा सहजता दिलाउँछ । घरको एक्लो बसाइभन्दा समुहमाझ गएर आफ्ना अनुभव साटासाट गर्ने र एकअर्काको दुःखसुख साट्न पाउँदा उनीहरुलाई पनि समय गएको पत्तो हुँदैन । त्यति मात्र होइन, कतिपय सहकारीले ज्येष्ठ सदस्यहरुलाई आर्थिक रुपमा समेत सहयोग पु¥याउँदै आएका छन् ।
दशैं तिहारजस्ता ठूला पर्वका बेलामा दशैं भत्ता दिएर होस् या उनीहरुले गरेको बचतमा अन्य सदस्यलाई भन्दा केहि प्रतिशत थप व्याज दिएर आर्थिक रुपमा समेत लाभाविन्त बनाउँदै आएका छन् । त्यसका अलावा संस्थाको स्थापना दिवस, वार्षिकोत्सव एवं साधारणसभाका अवसरमा ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेर उनीहरुलाई हौसला थप्ने काम गरेका छन् । प्रायःजसो सहकारीले यस्ता अवसरमा ज्येष्ठ सदस्यलाई दोसल्ला, टोपी, ब्लाङकेट, थर्मस र खानेकुरा दिएर उनीहरुलाई सम्मान गर्ने गरेका छन् ।
कतिपय सहकारीले सदस्यहरुको वृद्धावस्थामा सुरक्षाको प्रतिभूति दिने उद्देश्यका साथ मासिक भत्ताको समेत व्यवस्था गरेका छन् । दोलखामा सञ्चालित केहि सहकारीले आफ्ना सदस्यहरुको जीवनयापन सहज बनाउन मासिक भत्ताको व्यवस्था गरेका हुन् । दोलखाको बैतेश्वर गाउँपालिका काब्रेमा रहेको जनसचेतन सहकारी संस्थाले ७५ वर्ष माथिका ज्येष्ठ सदस्यका लागि जनसचेतन आजीवन सहारा कार्यक्रम लागु गरेको छ । सदस्य सुरक्षा कोष कार्यक्रममा भाग लिएका वृद्ध सदस्यहरुलाई उक्त कार्यक्रम अन्तर्गत मासिक ५०० का दरले रकम उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ । संस्थाका सदस्यहरुले बृद्धावस्थामा आर्थिक एवं सामाजिक रुपमा पिछडिनु नपरोस् र उनीहरु आत्मसम्मानका साथ बाँच्न पाउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । गत आर्थिक वर्षमामा संस्थाले ८७ जना सदस्यलाई ४ लाख ८७ हजार ५०० रुपैया त्यस वापत प्रदान गरेको छ । त्यसका साथै संस्थाले ६५ वर्ष उमेर पुगि ७० वर्ष ननाघेका सदस्यहरुलाई विभिन्न धार्मिक स्थलहरुको अवलोकन भ्रमण गराउने कार्य गर्दै आएको छ ।
त्यसैगरी दोलखाकै वैतेश्वर गाउँपालिकामा रहेको जनमुखी साकोसले पनि यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरेको छ । जनमुखीले पनि ७५ वर्ष उमेर पूरा भएका सदस्यहरुको जीवनवृत्तिमा सहयोग पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । जनमुखी जीवनवृत्ति कार्यक्रम अन्तर्गत संस्थाले मासिक रु. ५०० का दरले उनीहरुहरुलाई रकम उपलब्ध गराउने गरेको छ । संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले ७५ वर्ष माथिका सदस्यहरुलाई यस्तो सुविधा उपलब्ध गराउँदै आएको बताए । संस्थाले गरेको आम्दानीबाट नै सदस्यहरुलाई यस्तो सुविधा उपलब्ध गराएको उनको भनाई छ । यसका लागि संस्थाका सदस्यहरुले कुनैप्रकारको योगदान गर्नु नपर्ने र उक्त उमेरसमुहमा प्रवेश गरेका सदस्यले स्वतः उक्त सुविधा पाउने उनको भनाई छ । यो संस्थाको नियमित कार्यक्रम भएको समेत उनले बताए । त्यसका अलावा संस्थाले पारिवारिक सुरक्षा कार्यक्रम समेत सञ्चालनमा ल्याएको र सदस्यहरुको मृत्युपश्चात् आश्रित परिवारलाई निश्चित रकम उपलब्ध गराउँदै आएका छन् ।
सहकारी संस्थाहरुले सदस्य र समुदायप्रति सामाजिक उत्तरादायित्व बोध गर्दै यस प्रकारका कार्यक्रम सञ्चालन गरेका हुन् । सहकारी भनेकै सदस्यका लागि भएकाले उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने उदेश्यले यस्ता कार्यक्रम ल्याएको सहकारीकर्मी बताउँछन् ।
काठमाडौंको पाँचतारा साकोसले पनि ७० वर्ष उमेर पार गरेका सदस्यहरु विशेष सुविधा उपलब्ध गराउने गरेको छ । संस्थाकी व्यवस्थापक राधा कडरियाका अनुसार हाललाई संस्थाले वार्षिक एकमुष्ट रुपमा ७० वर्ष माथिका सदस्यलाई दशैंभत्ता वापत रु. २००० उपलब्ध गराउने गरेको छ ।
मुलुकभरका विभिन्न भेगमा रहेका सहकारीहरुले ज्येष्ठ सदस्यहरुका लागि आफ्नो क्षमता र सुविधा अनुरुपका विशेष कार्यक्रम ल्याएर उनीहरुको जीवनयापनलाई सहज र सार्थक बनाउने गतिविधि गर्दै आएका छन् ।