बुधबार, भाद्र ३ गते २०८३

चाडपर्बहरूकाे शुभकामना दिदै गर्दा….. !

आश्विन १३, २०७९ बिहीबार
चाडपर्बहरूकाे शुभकामना दिदै गर्दा….. !

      साँस्कृतिक र कर्मकाण्डीयरुपमा जे जस्तो किसिमले मनाइने गरेको भए पनि बिजय दशमीलाई असत्यमाथि सत्यको बिजयको पर्वकोरुपमा लिइने गरेको पाइन्छ । त्यसैले सत्य, न्याय, बिबेक जस्ता सात्विक गुणहरुको बिजयको रुपमा यस चाडलाई मनाइनुपर्ने कुरा बर्षौपिच्छे दशै आउँदा दोहोर्‍याउने गरिन्छ । आसुरी शक्तिमाथि दैबी शक्तिको बिजय भन्नु नै नकारात्मक प्रबृत्ति  र परम्परालाई परिवर्तन गरेर सकारात्मक परिवेश निर्माण गर्न अग्रसर हुनुपर्ने कुरा यसले दर्शाउँदछ । तर यो कुरा केवल भन्नका लागि मात्रै भनिदै आएको र  वास्तविक ब्यवहार भने अनेक आसुरी प्रबृत्ति अर्थात् बिकृति, बिसंगति, कुरीतिले भरिएको छ । यसरी हामीले यस्ता  साँस्कृतिक चाड पर्वलाई पनि एउटा पाखण्ड प्रदर्शन गर्ने माध्यमकोरुपमा मात्र प्रयुक्त गर्दै आएका छौं ।

वास्तवमा हिजो जुन परिवेशमा यस्ता चाड पर्वहरु आरम्भ भए अनि समयको अन्तराल र अनुभवका आधारमा  परिवर्तन  वा परिमार्जन हुदै आएका भए पनि तिनलाई  आजको हाम्रो पारिवारिक, सामाजिक तथा राष्ट्रिय आवश्यकता अनुरुप बिकसित गरिनु उपयुक्त हुन्छ । तिनलाई युग सुहाँदो तुल्याइनु र सबल पक्षलाई अझ अघि बढाउदै सुदृढ तुल्याउनु र तिनका दुर्बल पक्षलाई घटाउदै   र हटाउदै लैजानु आजको आवश्यकता हो । अन्यथा हामी निरन्तर एउटा अन्ध परम्पराका अनुयायी मात्र ठहरिन पुग्नेछौं । अनि  कालान्तरमा गएर परिवार, समाज र राष्ट्रकै लागि यो असान्दर्भिक र  एउटा बोझ बन्ने स्थिति खडा हुनसक्छ ।

दशैको महत्वपूर्ण साँस्कृतिक पक्ष भनेको शक्ति र शस्त्रको पूजा मानिन्छ । समाजलाई दुःख दिने महिषासुर, मधु कैटभ, शुम्भ निशुम्भ आदि अनेक राक्षसहरु बिजय प्राप्त गर्दै तिनलाई समुल नष्ट पारी समाजको रक्षा गर्ने दुर्गा देवी-शक्तिको पूजा आराधना नै दशैको मूख्य अन्तर्य देखिन्छ । यसका लागि सबै देबताहरुले देबीलाई आफ्ना आफ्ना शस्त्रास्त्र दिएर शक्तिशाली बनाए पछि देबीले बिभिन्न जुक्ति, बुद्धि र बलको शक्तिले ती दुःखका कारण बनेका राक्षसहरुलाई पराजय गरेको कथा दुर्गा सप्तसती या देवी भागवत आदि पुराना साँस्कृतिक-धार्मिक ग्रन्थहरुमा पाइन्छ । यी कथोपकथनले एकातिर तत्कालीन समाजको परिवेश र सामाजिक शक्तिको स्थिति बताउदछन् भने         अर्कोतिर दशैको परम्परा लामो समयदेखि चल्दै आएको कुरा खुलासा गर्दछन् ।

मातृ पूजाको यो परम्पराले एकातिर समाजमा त्यतिबेला 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' अर्थात् 'जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरु सबै खुशी हुन्छन्, रमाउँदछन्' भन्ने मान्यता फलेफुलेको पाइन्छ भने अर्कोतिर त्यतिबेलाको समाजमा मातृ बर्चश्व अर्थात समाज मातृ सत्तात्मक स्थितिको चरणबाट गुज्रदै आएको रहेछ भन्ने कुरा पनि प्रमाणित हुन्छ । आजको परिप्रेक्षमा त्यो पुरानो मान्यतालाई हेर्दा र केलाउँदा आज महिलाहरुमाथि जसरी घरेलु, सामाजिक हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन्, जसरी महिलाहरुमाथि दोश्रो दर्जाको नागरिक सरह दैनन्दिन ब्यबहार भइरहेको छ, त्यसले पुरानो  समाजमा स्थापित महिला बर्चश्व कालक्रममा गुमेको प्रतीत हुन्छ । यस्ता कुकृत्यका बिरुद्ध महिला समुदाय र समग्र समाज नै जागृत र सशक्त बन्नु बनाउनु पर्ने अत्यन्तै टड्कारो आवश्यकता छ ।

        वास्तवमा आज समाजमा जुन अन्याय, अत्याचार, अभाव, असुरक्षा, असमानता ब्याप्त छ, जुन उत्पीडन र शोषण छ बस्तुतः त्यही नै आजको 'असत्य' र समाप्त पारिनु पर्ने कुरा हो । त्यही नै आज समूल नष्ट पारिनुपर्ने 'राक्षस' हो । यो यथार्थलाई आत्मसात गरेर अघि बढ्न सकिएन भने दशै मनाउने कुरा र यसलाई 'आसुरी शक्तिमाथि दैबी शक्तिको बिजय'को रुपमा लिने कुरा एउटा परम्परा धान्ने र 'श्राद्धमा बिरोलो बाध्ने' कथा दोहोर्‍याइराख्ने औपचारिक कुरामा मात्र यो सीमित भएर रहन्छ । अहिलेसम्मको अनुभवले प्रष्ट पारेको यथार्थ पनि यही नै हो ।

         प्रष्ट छ, यो यथार्थलाई बदल्नतिर उद्यत हुनु त्यसका लागि आवश्यक चेतना-शक्ति जगाउनु र गतल प्रबृत्तिहरुलाई भगाउनु नै यस बिजय दशमी लगायतका नेपाली जन समुदायका  चाड पर्बहरूमा अन्तरनिहीत मूल तत्व हो भनेर बुझनु आवश्यक छ । निश्चय नै यस्ता  चाडबाडहरू 'राम्रो लाउने मिठो खाने'जस्तो मानबीय भौतिक कुरासँग पनि जोडिएका हुन्छन् । ती  सबै चाड पर्बहरूलाई समाजका हरेक समुदायले राम्रो लाउने र मिठो खाने स्थिति सिर्जना गरेर मत्र पूरा गर्न सकिन्छ । अन्यथा गच्छे अनुसार चाड पर्ब  मनाउने भन्ने  कुरा गरेर समाजलाई सँधै असामानता र बिभेदको सामाजिक यथास्थितिमै अल्झाइराख्ने कुरा मात्र भइरहन्छ । बस्तुत मानिसहरुको 'गच्छे'लाई समान र समुन्नत बनाउने दिशामा रहेका बाधा ब्यवधानहरु, अमिल्दा कुराहरु-राक्षसी प्रबृत्तिहरु-लाई बदल्न सकेमा मात्र यथार्थतः 'असत्यमाथि सत्यको बिजय' मुखरित हुन र मौलाउन पाउँदछ । यस दिशातर्फ प्रबृत्त हुन नेपाली जन समुदायका यस्ता सबै चाड पर्बहरूले प्रेरणा देउन् । दशैं,तिहार, नेपाल सम्बत, छठ लगायत नेपाली जनताका बिबिध चाडपर्बहरू मंगलमय हुन् । सबै नेपालीमा शुभकामना !