शनिबार, कार्तिक ८ गते २०८३

जनमुखी साकोसको २५औं साधारणासभा क्षेत्रगत रूपमा आयोजना गरी सम्पन्न

आश्विन ६, २०७९ बिहीबार
जनमुखी साकोसको २५औं साधारणासभा क्षेत्रगत रूपमा आयोजना गरी सम्पन्न

वैतेश्वर नगरपालिका–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरूको सहजताका लागि इकाइगत रूपमा आश्विन १ गतेदेखि ५ गतेसम्म साधारण सभा गरेको हो । २५ औँ बार्षिक साधारण सभा तथा रजत महोत्सव संस्थाका अध्यक्ष माधवप्रसाद दहालको सभापतित्व र नेफ्स्कुनका सञ्चालक तथा बाग्मती प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ ।

सभामा अध्यक्ष माधव प्रसाद दाहालले ससानो पुँजीलाइ संकलन गरी सदस्यहरूको आय आर्जन, रोजगारी सिर्जना तथा उनीहरूको आवश्यकता परिपूर्तिमा संस्थाले सहज रूपमा लगानी गर्दै आएको जनाएको छ । विश्व बजारमा देखिएको आर्थिक संकटले मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पारेको भन्दै उनले जोखिम र संक्रमणकालिन अवस्थामा समेत सदस्यको विश्वासले संस्था उन्नतिको बाटोमा बढिरहेको उनले जनाए । 

सभामा संस्थाका सचिव लक्ष्मण चौलागाइले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले कृषि, व्यापारव्यवसाय, उद्योग, लघुवित्त, वैदेशिक रोजगार जस्ता क्षेत्रमा ऋृण लगानी गरी सदस्यहरूलाइ आर्थिक रूपमा सबल बनाउन लागिपरेको उनले बताए । 

308101858_3230483680498492_8915841851458629511_n.jpg

सभामा कोषाध्यक्ष राजन केसीले आ व २०७८।७९ को वित्तीय विवरण पेश गर्दै २० हजार ३९१ शेयरसदस्य, १० करोड ९१ लाख ६७ हजार शेयरपुँजी, ७ करोड ६६ लाख जगेडा कोष, ८६ करोड ५ लाख बचत संकलन र १ अर्ब ४ करोड ५० लाख ऋण लगानी गरी २ करोड १५ लाख २१ हजार खुद बचत गरेको जानकारी दिए । 

संस्थाले सदस्यहरूलाइ ३६५ दिने सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले सदस्यमुखी कार्यक्रम अन्तर्गत साना कृषि तथा व्यापार गर्नेलाइ ८ प्रतिशत ब्याजदरमा २ लाखसम्म ऋण दिने भएको छ । यसैगरी व्यवसायिक तरकारी तथा फलफुल खेती गर्ने सदस्यलाइ अन्य ऋणभन्दा २ प्रतिशत कम ब्याजदरमा ऋण दिने, कृषकहरूलाइ कृषि औजार वितरण गर्ने समेत जनाएको छ । 

संस्थाले सदस्यहरूलाइ जटिल रोग लागेमा १० हजार रूपैया आर्थिक सहायता गर्ने, ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाइ मासिक ५०० भत्ता उपलब्ध गराउने, अपांगता भएर रातो कार्ड प्राप्त गरेका सदस्यलाइ ५०० रूपैया र सुत्केरी भत्ता २००० दिने कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । संस्थाले कार्यक्षेत्र भित्रका आधारभूत तह, मा वि र क्याम्पस तहमा पढ्रने विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । संस्थाले सदस्यका लागि सहकारी तथा वित्तीय साक्षरता र कृषि तथा व्यवसायिक तालिम दिने योजना बनाएको छ । 

संस्थाका प्रमुख व्यवस्थापक भेष बहादुर मिजारले  डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाइ छिटोछरितो सेवा प्रदान गर्दै आएको जनाए । संस्थाले मोबाइल, मिस्ड कल, एसएमएस र इन्टरनेट बैंकिङका साथै कनेक्ट आइपीएस र क्यु आर पेमेन्ट जस्ता प्रविधिमैत्री सेवा दिँदै आएको छ । 

संस्थाले मुख्य कार्यालय सहित ६ वटा सेवा केन्द्रबाट सदस्यलाइ वित्तीय सेवा प्रदान गर्दै आएको छ ।