शुभप्रवा सेभिङ एण्ड क्रेडिट को अपरेटिभले गत आर्थिक वर्ष २०७८।७९ मा शेयर पुँजी १९.२५ प्रतिशतले वृद्धि गरी ८ करोड ८७ लाख पुर्याएको छ ।
संस्थाको सोमबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले बचत संकलनमा १४.६३ प्रतिशतले वृद्धि गरी ६८ करोड ५१ लाख १७ हजार, ऋण लगानीमा २५.७० प्रतिशतले वृद्धि गरी ७० करोड ३० लाख ६९ हजार गरी कुल कारोबार ८६ करोड २७ लाख पुर्याएको छ ।
वित्तीय क्षेत्रमा चुनौति रहँदा रहँदै पनि संस्थाले आफ्ना सदस्यलाइ गुणस्तरीय सेवा प्रदान गरेका कारण विगत आ।व। मा वित्तीय सुचकांक मजबुत बनाउन सफल भएको जनाएको छ ।
संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा आयोजित समारोहमा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८.७९ को वार्षिक प्रतिवेदन तथा चालु आ।व।को भावी कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।
गत आ।व।को कारोबारबाट संस्थाले करको व्यवस्था गर्नुअघि ७२ लाख २७ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको सभालाइ खड्काले जानकारी गराए ।
संस्थाको भावी योजना प्रस्तुत गर्दै प्रमुख कार्यकारी निर्देशक खड्काले चालु आ।व।मा कुल निक्षेप ९० करोड रुपैयाँ र कुल कर्जा लगानी ८५ करोड रुपैयाँ गरी १ करोड ४४ लाख ५० हजार रुपैयाँ संचालन मुनामा आर्जन गर्ने लक्ष्य रहेको जनाए ।
सदस्यलाई प्रविधिमैत्री सेवा दिनका लागि संस्थाले शुभप्रवा स्मार्ट एपमार्फत मोबाईल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । मोबाईल एप प्रयोग गरेर सदस्यले आफ्नो मोबाईलमा मिनी स्टेटमेन्ट हेर्ने, खातामा भएको रकम मौज्दात बुझ्ने, अन्य बैंक खातामा रकम स्थानान्तरण गर्ने, युटिलिटी बिल भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका सेवा लिन सक्छन् । यसैगरी संस्थाले एटीएम सेवा संचालन गरेर सदस्यलाई नेपालका जुनसुकै स्थान र छिमेकी देश भारतबाट समेत रकम निकाल्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
सहकारीको सामाजिक उत्तर दायित्व अन्तरगत संस्थाले विभिन्न सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, सरसफाई, वृक्षारोपण लगायतका कार्य गर्दै आईरहेको जनाएको छ ।
नेपाल सरकारका पूर्व सचिव तथा संस्थाका सल्लाहकार खगेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको सभा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुङ, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सभामा उत्कृष्ट शेयरसदस्य पुष्कर भक्त खरेल, उत्कृष्ट बचतकर्ता बिलकिशोर मेयान्ङ्बाे, उत्कृष्ट मुद्दती बचतकर्ता तृप्ति सिंह, असल ऋणी सदस्य ज्ञान प्रसाद पोखरेल र उत्कृष्ट कर्मचारी विमला घिमिरेलाइ सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका शेयर सदस्य तथा संचार उद्यमी ऋषिराज धमलालाइ पनि सभामा सम्मान गरिएकाे थियाे ।
सभामा अध्यक्ष बस्नेतले सदस्यहरूको विश्वास र सहयोगले संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगित गर्न सकेको बताउँदै संस्थालाइ दिगो र सक्षम बनाइ अगाडि बढ्ने बताए ।
