भक्तपुर बचत संघले सहकारीको वर्तमान अवस्थाबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघले भाद्र महिनामा अनुगमन तथा निरिक्षण गरेका ६ वटा संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुलाई सहकारी ऐन, नियम, निर्देशन बमोजिम सहकारीको व्यवस्थापकीय र नीतिगत सुधारका लागि सुझावहरु कार्यान्वनका लागि सल्लाह दिएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बर्तमान अवस्थामा सदस्य सदस्य संस्थाहरुको हेरचाह गर्न अनुगमन बढाएको जनाए । तरलतामा परेको चापको कारण अहिले ठूलो ऋण लगानी नगर्न, अभियानकोबारेमा जानकारी दिन शिक्षा शिविर गर्न र साधारण सभा यथासक्य चाँडै गरी समुदायमा आधारित सहकारीमा संकट नआएको बताउने तथा सहकारीको पैसा सहकारीमा भन्ने अभियानलाई टेवा पु¥याउने जस्ता १० बुँदे निर्देशन गरिएको जनाए ।
संघका उपाध्यक्ष हरि बल्लले संस्थामा मिलेसम्म मेला नमिलेमा झमेला भनेजस्तो वातावरण सिर्जना गर्न नहुने विचार राख्दै संस्थागत विकासमा जोड दिनुपर्ने बताए । हालको अवस्थामा सहकारी संस्थाले आफ्नो शाख जोगाउनु प्रमुख रहेको जनाए ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले अनुगमनमा संस्थाहरुमा देखिएको कैफियतबारे जानकारी दिँदै ती कैफियतहरु यथासीघ्र सुधार गर्नुपर्ने विचार राखे । वहाँले संस्थाका समस्या समाधानका लागि संघले नीतिगत तथा वित्तीय सेवामार्फत सम्बोधन गर्दै आएको उल्लेख गरे ।
सघंका व्यवस्थापक बालकृष्ण धोजुले संघको अवस्था जानकारी गराउँदै हालको अवस्थामा संस्थाहरु संयमित भई नाफा तथा लाभांशमा भन्दा संस्थाको शाख जोगाउन एकबद्ध भई सदस्यहरुलाई सुसूचित गर्नुपर्ने विचार राखे ।
संघले हरेक शुक्रबार दिउँसो ३ बजे देखि ५ बजेसम्म कोपोमिस र गोएएमएलको तालिम दिइरहेको जानकारी धोजुले जानकारी दिए ।