शनिबार, कार्तिक ८ गते २०८३

सहकारीमार्फत ‘एक संस्था एक उद्यमी कार्यक्रम’ सञ्चालन गर्ने कागेश्वरी नगरपालिकाको योजना

भाद्र २१, २०७९ मंगलबार
सहकारीमार्फत ‘एक संस्था एक उद्यमी कार्यक्रम’ सञ्चालन गर्ने कागेश्वरी नगरपालिकाको योजना

 

कागेश्वरी मनोहरा नगरपालिकाले एक सहकारी एक उद्यमशीलता कार्यक्रम अगाडि बढाउने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ७६ वटा सहकारी संस्थामार्फत् उक्त कार्यक्रम अगाडि बढाउन लागेको हो । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो कार्यक्रम अघि बढाउन लागेको जानकारी दिएको हो । जागिर खानेभन्दा उद्यमशीला विकास पालिकाको योजना भएको भन्दै नगरप्रमुख उपेन्द्र कार्कीले त्यसका लागि सहकारीमार्फत् अगाडि बढ्ने बताए । कृषि, सहकारी र महिला सशक्तिकरणको कार्यक्रमलाई उत्पादनसँग जोड्ने योजना रहेको उनले बताए । सहकारीलाई त्यसतर्फ लाग्न उत्प्रेरित गर्ने र ठूलो परिमाणमा कृषि र उत्पादन वृद्धि गर्न कार्यक्रम अगाडि बढाइने उनको भनाई छ । 

नगरपालिकाले नगर सभाबाट सहकारी ऐन र नियमावली समेत जारी गरिसकेको छ । प्रदेश कार्यक्षेत्र भएका बाहेक कागेश्वरीमा ७६ वटा संस्था क्रियाशील रहेका छन् । सहकारीको उद्देश्य नै सदस्यहरुमा उद्यमशीलता विकास गरी उनीहरुलाई आयआर्जनमा लगाउनु भएको कार्कीले बताए । तर सहकारी त्यो भन्दा बाहेकको क्रियाकलापमा लागेको पाइन्छ । उनले थपे ‘सदस्यलाई उत्पादनमा लाग्न दिइने ऋण जमानी नगरपालिका बसिदिन्छ । सदस्यले ऋण नतिरेमा उठाउन हामी सघाउँछौं ।’  

सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम समेत सञ्चालन गरिसकेको छ भने सबै संस्थालाई कोपामिसमा आवद्ध गराउने पहल नगरपालिकाले लिएको छ । अनुगमनमार्फत संस्थाहरुलाई सुदृढ बनाउने नगरपालिकाको योजना रहेको छ । सानो क्षेत्रफलमा धेरै सहकारी हुँदा सेवा प्रवाहमा गुणस्तर नदेखिने भएकाले नगरपालिकाले सहकारीहरुबीच अभियान चलाउने समेत जनाएको छ । 

गागलफेदीमा कृषि, पशुपालन, अदुवा, बेसार, अम्लिसो, अलैंची जस्ता वस्तुको प्रचुर सम्भावना भएकाले कृषि शाखामार्फत् त्यसको अध्ययन गरी कार्यक्रम अगाडि बढाउने मेयर कार्कीले जानकारी दिए । स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर जाने योजना समेत रहेको उनको भनाई छ । व्यवसायिक रुपमा खेती र पशुपालन गर्ने किसानका लागि बीमा कार्यक्रम लागु गरिएको र गतवर्ष १२ लाख रुपैया बीमामार्फत् वितरण गरिएको थियो । किसानका जोखिम न्युनिकरण गर्न यो कार्यक्रमलाई थप अघि बढाइ व्यवयसायिक खेतीमा लाग्न अभिप्रेरित गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले यस वर्षदेखि किसान कार्ड दिने भएको छ । त्यसकै आधारमा प्रदान गरिएका विभिन्न सेवासुविधाको रेकर्ड अध्यावधिक गरिने उनले जनाए । 

kageswori patrakar.jpg