शनिबार, आश्विन १७ गते २०८३

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापन गर्ने

भाद्र २१, २०७९ मंगलबार
कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रै फोहोर व्यवस्थापन गर्ने

 

कागेश्वरी मनोहरा नगरपालिकाले श्रोत देखि नै फोहोरको वर्गिकरण गरी आफ्नो नगरको फोहोर आफ्नै नगरमा व्यवस्थापन गर्ने भएको छ । 

फोहोरमैला व्यवस्थापन सबैको साझा समस्या बनेको र यसको दीर्घकालिन व्यवस्थापन सबैतिर चुनौति बनिरहेको बेला कागेश्वरी मनोहरा नपाले भने आफैले फोहोर व्यवस्थापनका लागि योजना बनाउन लागेको जनाएको छ । 

निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको १०० दिन भित्र शुरुवात गरेका कार्यहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले आफ्नो नगरको फोहोर आफ्नै नगरमा व्यवस्थापन गर्ने कार्ययोजना बनाएर अगाडि बढेको बताए । 

कुहिने फोहोरलाई मोहोरको रुपमा विकास गर्ने र अन्य फोहोर डम्पिङ गर्न बञ्चरे डाँडा, सिसडोलमा नलगी कागेश्वरी नपाभित्रै सुरक्षित क्षेत्रमा व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको उनले जनाए । 

फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गरी त्यसबाट आम्दानी समेत गर्न सकिने भएकाले त्यसतर्फ अध्ययन थालिएको उनले सो अवसरमा जानकारी दिए । 

त्यसैगरी आगामी ५ वर्षभित्र स्वच्छ खानेपानीको व्यवस्था समेत गर्ने उनले जानकारी दिए । नगरपालिकाले नगरबासीको घरमा पानी पु¥याउने कार्ययोजना समेत अगाडि बढाइसकेको छ । नगरसभाबाट खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरिसकेको र एउटा बोर्ड गठन गरेर खानेपानीको समस्या समाधानका लागि कार्ययोजना बनाई उपभोक्ता समितिमार्फत अगाडि बढाउने नगरपालिकाले जनाएको छ । 

८२ करोडको लागतमा डाँछी भद्रवास खानेपानी आयोजना अगाडि बढेको र त्यसबाट करिब बाट ३५०० घरधुरी लाभान्वित हुने भएका छन् भने गोठाटार खानेपानी आयोजना पनि तयारीको अन्तिम चरणमा पुगेको र त्यसबाट ४५०० घरधुरी लाभान्वित हुनेछन् । घट्टेखोला शिवपुरी जलाधार श्रोतबाट बग्ने पानीलाई प्रयोगमा ल्याउन अध्ययन थालिएको र उक्त आयोजना बनाउन सके ३५ हजार घरधुरी लाभान्वित हुनसक्नेछ् । 

नगरभित्र १६ सामुदायिक सहित कुल ९८ विद्यालय रहेको र शिक्षाक्षेत्र सुधारका लागि कार्ययोजना ल्याइने प्रमुख कार्कीले जानकारी दिए । नगरपालिकाको नगर शिक्षा ऐन लाई समयानुकूल बनाउन २०७५ को ऐन हालै नगरसभाबा संशोधन गरिएको उनले जनाए । विद्यालय क्षेत्र सुधारका लागि विगतको भन्दा ६ करोड ५० लाख बढी रकम आन्तरिक श्रोतबाट व्यवस्थापन गरेको र इसीडी कार्यक्रम सुधार गर्न रातो बंगला स्कुलसँग सम्झौता गरी पब्लिक प्राइवेट पार्टनरसीपबाट इसीडी र कार्यरत शिक्षकको क्षमता वृद्धि एवं कक्षाकोठाको व्यवस्थापन गर्न ३ वर्षे योजना बनाइएको उनले सुनाए । 

मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत वडा नं ९ बाट विशेषज्ञसहितको स्वास्थ्य जाँच थालनी गरिएको र नियमित रुपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्यपरिक्षण, इसिजि र ल्याब लगायतको सुविधा वडामा नै दिइने भएको छ । 

मनहरा क्षेत्रमा धार्मिक र पर्यावरणीय पर्यटन अधिक संभावना रहेकाले ठाउँठाउँमा होमस्टे विस्तार गर्ने र विभिन्न धार्मिक धामहरुको व्यवस्थापन गरी आन्तरिक र धार्मिक पर्यटन वृद्धि गर्ने उल्लेख गरे । 

मनहरा र बागमती खोलाले वर्षेनि ठूलो मात्रामा धनजनको क्षति पु¥याउँदै आएकाले बागमती र मनहरा करिडोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको कार्कीले बताए । शंखरापुर, चाँगुनारायण, मध्यपुर र गोकर्णेश्वर नगरपालिकासँगको साझा प्रतिवद्धता जारी गरी करिडोर निर्माण र तटबन्ध निर्माणको कामलाई चाँडो सम्पन्न गर्न संघीय सरकार, बागमती सभ्यता विकास आयोजना र उपत्यका विकास प्राधिकरणसँग मिलेर काम गर्ने समेत उनले सुनाए । 

त्यसैगरी कागेश्वरीमा साहसिक खेलकूदको सम्भावना रहेकाले त्यसको विकास तथा प्रवद्र्धनमा ध्यान दिइनेछ । नगरभित्र रहेको करिब ५–६ सय रोपनी सार्वजनिक जग्गा पहिचान गरी खेलकूद नगरी विकास गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको विकास गर्ने योजना रहेको छ ।