सहकारी विभागले सहकारी संस्थाहरुले एकिकरण गर्दा निश्चित प्रक्रिया अपनाएर मात्र गर्न सूचना जारी गरहेको छ । एकपछि अर्को गरी सहकारी संस्थाहरुबीच एकिकरणको लहर चलेकोमा ध्यानाकृष्ट भएको भन्दै कानुनप्रदत्त प्रक्रिया अपनाएर जान भन्दै विभागले भाद्र १९ गते एक परिपत्र जारी गरेको हो ।
हाल सातदश दिनयता विशेषत उपत्यका भित्र सहकारीसंस्थाहरुबीच बृहत् एकिकरणको लहर चलेको छ । एक पछि अर्को एकिकरण घोषणा भइरहेका छन् । तर कतिपय विषयमा सहकारी क्षेत्रको केन्द्रिय नियामक सहकारी विभागसम्म नै विधिवत जानकारी नआइपुगेको गुनासो अधिकारीहरु गरिरहेका छन् ।
सहकारी ऐनको २०७४ को दफा ८७, सहकारी नियमावली, २०७५ को नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विनभाजन निदेर्शिका, २०७७ लाई परिपालना गरेर मात्र एकिकरण सम्बन्धी प्रक्रिया अघि बढाउन विभागले भनेको छ ।
त्यसैगरी एकिकरणपश्चात् बन्ने सञ्चालक समितिमा समोवशिता कायम हुनुपर्ने, २०४९ जेठ २ गते अगाडि खुलेका सहकारी भएमा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने र तदर्थ समिति गठन भएको मितिले ३ दिनभित्र सम्बन्धित नियामकीय निकायमा जानकारी पठाउनुपर्ने सूचनामा जनाइएको छ ।
सूचनामा एकिकरणका लागि न्यूनतम आवश्यकताका बुँदा, एकिकरणका सन्दर्भमा अवलम्बन गर्नुपर्ने स्वीकृति लिने प्रक्रिया, अन्तिम स्वीकृति र त्यसपछिका कार्यको सूचि नै समेटेर यस्तो सूचना जारी गरेको हो ।
एकिकरण प्रक्रियामा जाँदा त्यस सम्बन्धी गुनासो या उजुरी माग गरी १५ दिने सूचना प्रकाशन गर्नुपर्ने, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भए राष्ट्रि र स्थानीय स्तरको पत्रिकामा एक पटक सूचना गर्नुपर्ने, निर्धारित ढाँचामा नियामकीय निकायमा आवेदन दिनुपर्ने विषय उल्लेख गरिएको छ ।


