भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकहरुलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन भन्दै भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
गृह मन्त्रालयलाई भदौ १२ गते एक पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको भन्दै सम्बन्धित सहकारी संस्थाले माग गर्दा सुरक्षा व्यवस्था मिलाउने आग्रह गरिएको छ ।
‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखि आएकोले सम्बन्धित सहकारी संघसंस्थाले माग गरेको बखत तदअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन आदेशाअनुसार अनुरोध छ,’ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयललाई लेखेको पत्रमा भनिएको छ ।
पछिल्लो समय केही सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताले सहकारी संस्था घेराउ गर्ने, धर्ना दिने र सञ्चालकहरुलाई ताकेता गर्ने गरेका छन् ।