काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाण्डौ महानगरपालिकाले अघि बढाएको पछिल्लो गतविधिबारे खुलेकी छिन् । मेयर बालेन शाहले महानगरपालिका भित्र अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउने र जुन प्रयोजनका लागि भएको संरचना अन्य प्रयोजनमा लगाउन नदिने भन्दै कारवाहीमा उत्रिएका बेला उपमेयर डंगोलले आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । आफू महानगरको पछिल्लो कदमको विरुद्धमा रहेको भन्ने विभिन्न भ्रमपूर्ण खबर केहि अनलाइन मिडियामा आएकाले उनले स्पष्ट पार्न चाहेको बताएकि छिन् ।
डंगोलले महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी हुन् । सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै डंगोलले यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको जनाएकी हुन् ।
‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै रहेको भन्दै उनले अपिलमा भनेकी छिन्,’ ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’
उनले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छिन् । विभिन्न सामाजिक सञ्जालमा महानगरले चलाएको अभियानमा उपमेयर कहिँ कतै देखा नपरेको भन्ने टिकाटिप्पणी भइरहेको थियो ।